पानी, जीवन र युद्ध
खानेपानी नभेटेर तपाईं तिर्खाले प्याकप्याक पर्नुभएको छ कुनै बेला? पहिलेपहिले पहाडतिर यात्रा गर्नेहरूले यस्तो अनुभव गरेको हुनुपर्छ। पहाडतिरको यात्रामा अधिकतर उकालीओराली नै गर्नुपर्छ र यसरी उकालो चढ्दा कतै कतै पानी भेट्न निकै गाह्रो हुन्छ। अचेलजस्तो पानी बोकेर हिँड्ने चलन थिएन उहिले। यस्तो समस्या भोगेकाले भनेको सुनिन्छ, ‘मेरो त सासै निस्कन लागेको थियो, धन्न एउटा घरमा पुगेर पानी मागिखान पाइयो।’
उहिले सबै पहाडतिर पानी खाने भनेको पँधेराबाट बोकिल्याएर हो। त्यसैले जहाँजहाँ पँधेरो टाढा पर्छ त्यहाँ पानीको हाहाकार हुने नै भयो। यस्ता ठाउँमा पानी जतन गरेर फारु गरी चलाउनुपर्ने। ससानै हुँदा सुनेको थियो– नेपालकै कुनै पहाडतिर बटुवाले पानी माग्यो भने जवाफ पाउँथे रे– त्यो त छोरीको पेवा हो, उसैलाई सोध्नुपर्छ। यो कथनमा कति सत्यता छ थाहा भएन।
त्यसैले होला तिर्खाएकालाई पानी खुवाउनु पुण्यको काम मानिन्थ्यो। यसरी मानिस हिँड्ने मूलबाटोमा पर्ने घरमा कोही आउला र पानी दिऊँला भनेर घरमै बसिरहने कुरा भएन। त्यसकारण घरअगाडि पेटीमा माटोको गाग्रीमा पानी राखिदिने चलन थियो। तिर्खाएर आउनेहरूले आफैँ पानी सारेर खान पाउँथे। पछि पाइपको चलन आएपछि कतिले अलिक परबाट पाइपमा पानी ल्याएर बाटोको किनारमा पानीको धारो खसालिदिन थाले। सहरतिर कोही दानी वा सङ्घसंस्थाले यात्रुहरूका लागि धारो जोडेको, खानेपानीका ट्याङ्की आदिको व्यवस्था गरेको पनि देखिन्छ। यसो भएकाले हाम्रो देशमा कोही कसैले तिर्खाकै कारण ज्यान गुमाउनु परेको छैन। उहिले पखाला लागेका बेला पानी खायो भने झन् पातलो दिसा जान्छ भनेर पानी नदिनाले जलवियोजन भएर बालबालिका मर्थे, यो बेग्लै कुरा भयो। हिजोआज खानेपानीका स्रोत सुक्दै गएका कारण थातथलो छाडेर अन्यत्र बसाइँ जानेका कथा चाहिँ बेलाबखत सुनिन्छ।
सबै डाँडापाखामा प्रशस्त नभए पनि समग्रमा हाम्रो देश पानीमा धनी छ। भन्नेले त जलस्रोतमा नेपाल ब्राजिलपछि संसारकै धनी देश समेत भन्छन् तर त्यो भने सत्य होइन। सन् २०११ मा गरिएको एक अध्ययनअनुसार जलस्रोतका हिसाबमा ब्राजिल पहिलो स्थानमा छ भने दोस्रो भनिँदै आएको नेपाल ४३ औँ स्थानमा छ। दोस्रोमा रुस छ भने तेस्रोमा अमेरिका, चौथोमा क्यानाडा र पाँचौँमा चीन हुँदै दसौँ स्थानमा भारत आउँछ।
संसारका केही ठाउँहरू खासगरी अफ्रिकी मुलुकहरूमा, मरुभूमि भएर यात्रा गर्नेहरू पानीको अभावमा जलवियोजनका सिकार भएका समाचारहरू आउने गर्दछन्। हालै पनि त्यस्तो एउटा हृदयविदारक समाचार आयो जसअनुसार अफ्रिकी महादेशको उत्तरपश्चिममा पर्ने छिमेकी मुलुक मालीमा आफ्ना परिवारजन तथा आफन्तसँग हर्षोल्लासका साथ इद–उल–अजहा मनाएर आफ्नो देश फर्कँदै गरेका मुस्लिम समुदायका नाइजर नागरिकहरू सवार ट्रक नाइजरको निर्जन सहारा मरुभूमि क्षेत्रमा पुगेपछि अचानक बिग्रिन पुग्यो। चालक, उनका सहयोगी र केही यात्रु समेतले ट्रक मर्मत गरेर चलाउने भगीरथ प्रयत्न गरे तर सकेनन्।
यसरी त्यहाँ अलपत्र परेकामध्ये दुई जना आँट गरेर अगाडि बढे, ५० किलोमिटर जति पैदल यात्रा गरेपछि पानी भेटे र प्यास मेटे। लगत्तै अरू ३० किलोमिटर जति अगाडि गएर माली, नाइजर र नाइजेरियाको सीमा क्षेत्रमा पर्ने आसामा भन्ने सहर पुगेर त्यहाँका स्थानीय पदाधिकारीलाई आफूहरूले भोगेको कथा सुनाए।
खबर पाउनेबित्तिकै हिँडेको उद्धार टोली घटनास्थल पुग्दा त्यो बिग्रिएको ट्रकको मुनि तथा वरिपरि ४९ जनाको लास मात्रै फेला पऱ्यो। ती सबैको ज्यान जलवियोजन (डिहाइड्रेसन) का कारणले गएको थियो। बिचराहरू, प्राण नजाउन्जेलसम्म कति तड्पिए होलान्! यो हृदयविदारक घटना यही जुन ६ तिरको हो।
हुन त यस क्षेत्रमा यस प्रकारको दुःखद घटना पहिलो होइन। यसपूर्व २०१३ मा ९२ जना र २०१६ मा ४४ जनाभन्दा बढीले यसरी नै उनीहरू सवार ट्रक मरुभूमिमा बिग्रिएका कारण तिर्खाले छटपटाउँदै ज्यान गुमाएको समाचार आएको थियो। भनिन्छ, जानकारीमा नआएका यस्ता घटना कति भइरहेका हुन सक्छन्। समाचारहरूमा आएअनुसार तस्करहरूको भर परेर असुरक्षित रूपमा मरुभूमि पार गरी अफ्रिकाबाट युरोप छिर्ने वा छिमेकी देशहरूमा आवतजावत गर्ने क्रममा धेरै मानिसहरूले यसरी ज्यान गुमाउन पुग्छन्।
यसपालि सहारा मरुभूमिमा यस्तो दुर्दान्त घटना हुनुभन्दा करिब दुई महिनाअघिसम्म मध्यपूर्वका सबैजसो मुलुकमा खानेपानीको सङ्कट हुन सक्ने सम्भावनालाई आकलन गरेर लाखौँ मानिस त्रसित बन्दै गइरहेका थे। गए फेब्रुअरी २८ मा अमेरिकाले इरानमाथि ठूलो सैन्य आक्रमण गरेपछि त्यस क्षेत्रमा गतिलै युद्ध चलेको थियो जसको अन्त्यको टुङ्गो अझै भइसकेको छैन। युद्धविराम गर्ने र त्यसलाई भङ्ग गर्ने होडमा देखिन्छन् युद्धरत पक्षहरू, कुनै रणनीतिक विन्दुको पर्खाइमा भएजस्तो। प्रत्यक्षतः अमेरिका र इजरायल एकातिर र इरान अर्कातिर भएर युद्ध चलेको भए पनि यस क्षेत्रका कतार, कुवेत, बहराइन, संयुक्त अरब इमिरेट्स (यूएई), र साउदी अरेबिया जस्ता प्रमुख देशहरूमा अमेरिकी सेना र सैन्य अखडाहरू रहेकाले इरानले तिनीहरूमध्ये केहीमाथि पनि वक्रदृष्टि राखेर मौका परेका बेला ड्रोनहरूले आक्रमण गरेको थियो।
खाडीमा युद्ध सुरु भएर चर्किँदै जान थालेपछि हामी यता चिन्तित हुन थाल्यौँ, खासगरी पेट्रोलियम पदार्थ पाइएला नपाइएला, पाइहाले पनि कति महँगो होला भनेर। तर खाडी क्षेत्रका जनतामा त आफ्नै अगाडि कति बेला बम वा ड्रोन खस्छ र ज्यान जाने हो भन्नेजस्तो पिर त थियो नै, अतिरिक्त चिन्ता थियो खानेपानीको के होला भन्ने।
फारसको खाडी क्षेत्रमा युद्धको तनाव बढ्दै जान थालेदेखि नै विज्ञहरूले त्यहाँको सबैभन्दा ठूलो जोखिम तेल नभई पानीको आपूर्ति हुन सक्ने चेतावनी दिएका थिए। ऊर्जा सम्पन्न तर अत्यन्तै सुक्खा मध्यपूर्वी क्षेत्रमा सहरहरूलाई जीवित राख्ने मुख्य स्रोत समुद्री पानी शुद्धीकरण (डिसेलिनेसन) प्रणाली रहेको र युद्धका कारण यी संरचनाहरू निसानामा पर्न सक्ने विश्लेषकहरूको भनाइ थियो।
खाडीका उपर्युक्त देशहरूमा हाम्रामा जस्तो नदी, ताल–पोखरी, जरुवा पानीका स्रोतहरू नहुनाले र वर्षा पनि ज्यादै कम हुने भएकाले हामी पेट्रोलियम पदार्थमा गरिब भएजस्तै उनीहरू पनि पानीका स्रोतमा गरिब छन्। उनीहरूकामा कतै कतै भूमिगत पानीका खानी छन् तर त्यहाँ पुनर्भरण हुँदैन र ती रित्तिँदै जान्छन्। त्यसैले त्यस क्षेत्रका मुलुकहरू पानीका लागि समुद्रमा भर पर्नुपर्छ। तर समुद्रको पानी ज्यादै नुनिलो हुने भएकाले त्यसलाई प्रशोधन वा अलवणीकरण (डिस्यालिनेसन) गरेर मात्र प्रयोगमा ल्याउन सकिन्छ।
यस्ता अलवणीकरण प्रणालीहरू धेरै ठूलाठूला हुन्छन्, कारण अलवणीकरण प्रक्रिया चरणचरण भएर गुजि्रन्छ। तिनीहरू विद्युत् उत्पादन प्रणालीसँग जोडिएका हुन्छन्। त्यसैले ऊर्जा संरचनामा पर्न जाने क्षतिको समेत नकारात्मक प्रभाव पानी शुद्धीकरण परियोजनामा पर्न जान्छ। यस पटकको इरान–अमेरिका युद्धमा पनि इरान र बहराइनका अलवणीकरण परियोजनाहरूमा क्षति पुगेका समाचारहरू आएका थिए।
अलवणीकरण परियोजनामा क्षति पुग्नु भनेको त्यहाँ हुने पानी प्रशोधन प्रक्रिया अवरुद्ध हुनु हो। यस्तो परियोजनामा अवरोध आउनु भनेको पानी आपूर्ति ठप्प हुनु हो। कुवेतमा करिब ९० प्रतिशत, ओमानमा ८६ प्रतिशत र साउदी अरेबियामा करिब ७० प्रतिशत पिउने पानी यिनै प्रणालीबाट आउने गरेको छ। समुद्री पानीबाट नुन हटाएर स्वच्छ पानी उत्पादन गर्ने यो प्रणाली ‘रिभर्स अस्मोसिस’ विधिबाट सञ्चालन हुन्छ, जसले सहरमा होटल, उद्योग र सरसफाइका साथै केही कृषि क्षेत्रलाई समेत पानी उपलब्ध गराउँछ। अत्याधुनिक र जटिल प्रविधियुक्त यी परियोजनामा यस्तो क्षति भइहाले तत्काल मर्मत गर्न समेत निकै स्रोत र समय आवश्यक हुन्छ।
धेरै अघि जापानले गरेको प्रगतिको चर्चाका क्रममा कसैले भनेको सुनेको थिएँ– जापानले पनि पेट्रोलियम पदार्थ खाडी मुलुकहरूबाट ल्याउँछ। यसरी पेट्रोलियम पदार्थ ओसार्न ठूलाठूला ट्याङ्कर पानीजहाजमा राखेर पठाइन्छ। तर ती रित्तै पठाइँदैन, तिनमा शुद्ध खानेपानी हालेर पठाइन्छ। त्यो पानी उता बिक्री हुन्छ। पेट्रोलियम पदार्थ भरेर ल्याएको ट्याङ्करलाई सफा गर्न जापानले यस्तो प्रविधि विकास गरेको छ जसले केही समयमै त्यसलाई पुनः शुद्ध खानेपानी भरेर पठाउन लायक बनाइदिन्छ।
जापानको यो कथामा कति सत्यता छ थाहा भएन तर समुद्रको पानी अलवणीकरणको प्रविधि आउनुपूर्वसम्म मध्यपूर्वतिर पानी पाइने इलाकाबाट उँटमा बोकाएर टाढाटाढा पानी आपूर्ति गरिने गरेको भने पढ्न पाइन्छ। त्यस्तै काठले बनेका ससाना जहाजमा पनि ओसार्ने गरिन्थ्यो। वर्षाको पानीलाई पनि बडो जतनसाथ सञ्चय गर्ने गरिन्थ्यो।
त्यसैगरी थोरथोरै भए पनि कुनै मुलुकका पहाडी भेगमा पाइने झरनाको पानीलाई भूमिगत जलमार्ग बनाएर मानिसको बसोबास भएका ठाउँमा पानी ल्याउने चलन थियो। भूमिगत जलभण्डार भएका क्षेत्रहरूको छनोट गरेर ती इलाकाहरूमा खेती लगाउने चलन थियो। कतै समुद्री किनारभन्दा अलिक पर ठूलाठूला कुवा खनेर पनि पानी निकालिन्थ्यो। यस्तो पानीमा लवणको मात्रा नगन्य हुन्थ्यो। त्यस्तै नुनिलो पानीलाई वाष्पीकरणको माध्यमले समेत प्रशोधन गरिन्थ्यो।
पन्ध्रौँ शताब्दीतिरबाटै विभिन्न तरिकाले अलवणीकरणको प्रयास हुँदै आएर सन् १९५० को दशकबाट अमेरिका तथा स्पेनले रिभर्स ओस्मोसिस विधि प्रयोगमा ल्याएपछि अलवणीकरण प्रविधिले आधुनिक स्वरूप पाएको हो। यस विधिमा धेरै बिजुली लाग्ने हुनाले यो प्रविधि निकै महँगो चाहिँ हुन्छ नै।
