अधिकारीको सांगीतिक ‘तल तल’
काठमाडौं । गीतकार दीपेन्द्र अधिकारीको नयाँ सांगीतिक प्रस्तुति ‘तल तल’ सार्वजनिक भएको छ। डिए क्रिएसन्सको अडियो तथा भिडियो निर्माणमा तयार भएको यस गीतलाई युट्युबमार्फत दर्शकमाझ ल्याइएको हो।
चर्चित गायिका अञ्जु चौधरीको सुमधुर स्वर रहेको यस गीतमा राजकुमार बगरले संगीत भरेका छन्। गीतको संगीत संयोजन राजु कार्कीले गरेका हुन् भने त्रिवेणी डिजिटल स्टुडियोमा गीतको रेकर्डिङ गरिएको हो। यसको मिक्सिङ र मास्टरिङको काम पनि संगीतकार बगर आफैँले गरेका हुन्।
गीतको आकर्षक भिडियोलाई सन्तोष राजबाहकले निर्देशन गरेका छन्। भिडियोमा दीपेन्द्र राज गिरी र सामिया कार्कीको उत्कृष्ट अभिनय र नृत्य देख्न सकिन्छ।
उत्तम हुमागाईंले छायांकन गरेको यस भिडियोको सम्पादन तथा कलर ग्रेडिङ प्रबिन भट्टले गरेका हुन्। भिडियोको पोस्ट प्रोडक्सन प्रशुभ स्टेसनले गरेको हो।
उत्कृष्ट अडियो र आकर्षक भिडियोका कारण गीतले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ।
कहिले प्राकृतिक सौन्दर्यको बयान, कहिले मामा-भान्जीको माया अनि कहिले पीडामा परेका चेलीबारे सन्देशमूलक सिर्जना गर्दै आएका सर्जक अधिकारीले यसअघि पनि सांगीतिक सिर्जना प्रस्तुत गरिसकेका छन्।
आफ्नो जन्मथलोको सौन्दर्य वर्णन गर्ने ‘मनमोहक पोखरा’, मामाभान्जीको मायामा केन्द्रित ‘चुलबुल चुलबुल’ गीत दर्शक, स्रोतामाझ आइसकेको छ।
यसैगरी, ‘तिमी नै छौ मनमा’, ‘जीवनको रेल’, ‘जिन्दगी हो खेल जस्तै’, ‘फर्किन्छु यसपालि’, ‘सपना सजाइ’ ‘नेपालकी छोरी’ जस्ता विभिन्न सन्दर्भ र मनोभावलाई प्रतिनिधित्व गर्ने गीतहरु पनि उनले ल्याइसकेका छन्।
उसो त, अधिकारी फुर्सदिला भएर गीत संगीत सिर्जनामा लागेका होइनन्। कामको धपेडीकै बीच सिर्जना गर्न मनपराउने उनी समसामयिक विषयमा, देशमा देखिएका विकृतिका विषयमा, राजनीतिक उतारचढावका बारेमा अनि विदेशमा नेपाली समुदायको दुःख सुखका बारेमा आलेखहरु पनि लेखिरहन्छन्।
यी सबै काम उनले आफ्नो व्यस्त व्यावसायिक जीवनकै क्रममा गरिरहेका छन्। अधिकारीले अढाइ दशकभन्दा बढी समयदेखि जापानलाई कर्मथलो बनाएका छन् तर सिर्जनाकै हुटहुटीले नेपाल बाक्लै आउजाउ गरिरहन्छन्। आएको बेला केही न केही नयाँ सिर्जना गरेकै हुन्छन्।
आफ्ना सिर्जनालाई संगीत, परिकल्पना, अभिनयको माध्यमले अझ सजीव बनाउने काममा उनलाई संगीतकार, कलाकारहरुले साथ दिन्छन्। ती सबैको संयोजनमा बनेको प्रस्तुतिलाई दर्शक, स्रोताले पनि उत्तिकै मन पराइदिन्छन्। यही कुराले पनि अधिकारीलाई सिर्जनामा निरन्तर लाग्न प्रेरित गरिरहेको छ।
‘सिर्जना भन्ने कुरा एउटा नशा जस्तै हुँदोरहेछ’ उनी भन्छन्, ‘मनमा फ्याट्ट के फुर्छ, त्यसलाई उतार्यो, परिमार्जन गर्यो अनि आफ्नो मायालु सन्तानजस्तै सिर्जनालाई मूर्त रुप दियो, यस्तै अनुभव छ मेरो।’
