विश्वकप : यस्तो बन्यो ‘राउन्ड अफ ३२’ को रोमाञ्चक समीकरण
काठमाडौं । अमेरिका, क्यानाडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६ को समूह चरणका सबै खेल सकिएका छन् । इतिहासमै पहिलो पटक ४८ टोलीले प्रतिस्पर्धा गरेको यो महाकुम्भबाट उत्कृष्ट ३२ टोलीले नकआउट चरण अर्थात् ‘राउन्ड अफ ३२’ को यात्रा तय गरे ।
प्रतियोगिताबाट १६ टोली बाहिरिँदा साविक विजेता अर्जेन्टिना, फ्रान्स, ब्राजिल, इंग्ल्यान्ड र पोर्चुगल जस्ता दाबेदार राष्ट्रले भने उपाधि यात्रा सुरक्षित राखे । अब सुरु हुने ‘गर या मर’ को भिडन्तमा टोलीहरूको एउटै गल्ती पनि विश्वकप यात्रा टुङ्ग्याउन काफी हुनेछ ।
यस पटक समूह चरणका प्रतिस्पर्धा निकै रोचक रहे । समूह ‘ए’ बाट मेक्सिको र दक्षिण अफ्रिका तथा समूह ‘बी’ बाट सह-आयोजक क्यानडा र कतार नकआउटमा पुगे । यही समूहबाट बोस्निया र हेर्जेगोभिनाले पनि तेस्रो स्थानमा रहँदै अघिल्लो यात्रा तय गर्यो ।
समूह ‘सी’ मा ब्राजिल विजेता र मोरक्को उपविजेता बन्दा समूह ‘डी’ बाट अमेरिका, अस्ट्रेलिया र तेस्रो स्थानको पाराग्वे अन्तिम ३२ मा छानिए । यस्तै समूह ‘इ’ बाट जर्मनी, आइभरी कोस्ट र इक्वेडर तथा समूह ‘एफ’ बाट नेदरल्यान्ड्स, जापान र स्विडेनले नकआउटको टिकट काटे ।
समूह ‘जी’ बाट बेल्जियम र दक्षिण कोरियाले अघिल्लो चरणमा स्थान बनाउँदा समूह ‘एच’ मा स्पेनसँगै पहिलो पटक विश्वकप खेलेको केप भर्डेले ऐतिहासिक सफलता पायो । समूह ‘आइ’ मा फ्रान्स शतप्रतिशत जित निकाल्दै विजेता बन्यो भने नर्वे र सेनेगल पनि छनोट भए ।
समूह ‘जे’ बाट अर्जेन्टिना, अस्ट्रिया र अल्जेरिया तथा समूह ‘के’ बाट कोलम्बिया, पोर्चुगल र कङ्गो नकआउटमा पुग्न सफल रहे । समूह ‘एल’ बाट इंग्ल्यान्ड र क्रोएसियासँगै तेस्रो स्थानको घानाले अन्तिम ३२ को समीकरण पूरा गर्यो ।
अब सुरु हुने नकआउट चरणको पहिलो खेलमा सोमबार बिहान १२:४५ बजे दक्षिण अफ्रिका र क्यानाडा भिड्ने छन् । ‘राउन्ड अफ ३२’ मै ब्राजिल र जापानबीचको महाभिडन्त तय भएको छ भने साविक विजेता अर्जेन्टिनाले सरप्राइज टोली केप भर्डेको सामना गर्नेछ ।
अन्य खेलमा जर्मनीले पाराग्वेको, नेदरल्यान्ड्सले मोरक्कोको, आइभरी कोस्टले नर्वेको र फ्रान्सले स्विडेनको चुनौती पन्छाउने दाउमा हुने छन् । यसैगरी मेक्सिको र इक्वेडर, इंग्ल्यान्ड र कङ्गो, बेल्जियम र सेनेगल तथा अमेरिका र बोस्निया एन्ड हर्जगोभिनाबीच पनि रोचक प्रतिस्पर्धा हुनेछ ।
पोर्चुगलले क्रोएसियाको, स्पेनले अस्ट्रियाको, कोलम्बियाले घानाको, स्विट्जरल्यान्डले अल्जेरियाको र अस्ट्रेलियाले इजिप्टको सामना गर्ने छन् ।
