आगामी तीन दिन वर्षा र हावाहुरी

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म मुलुकभर वर्षाको गतिविधि बढ्ने प्रक्षेपण गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। शनिबार राति एक विशेष बुलेटिन जारी गर्दै महाशाखाले आइतबार र सोमबार पानी पर्ने क्रम झनै बढ्दै जाने जनाएको छ।

महाशाखाले सोमबार राति कोशी प्रदेशका पहाडी तथा तराईका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको देखाएको छ। यस्तै, मधेस प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

वर्षासँगै देशका विभिन्न भागमा हावाहुरीको समेत जोखिम रहेको जनाइएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका साथै मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेकाले सचेत रहन विभागले आग्रह गरेको छ।

महाशाखाले मौसममा आउने यो परिवर्तनसँगै हुन सक्ने सम्भावित प्राकृतिक जोखिमबाट बच्न विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन सबैमा अनुरोध गरेको छ। वर्षा र हावाहुरीका कारण दैनिक जनजीवन, यातायात र कृषि क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाएर मात्र आफ्ना कामहरू अगाडि बढाउन भनिएको छ।

नेपालमा यस वर्षको मनसुन औसत समयभन्दा तीन दिन अगाडि नै प्रवेश गरेको थियो। जेठ २८ गते कोशी प्रदेश हुँदै नेपाल छिरेको मनसुन अहिले देशभर सक्रिय छ। सामान्यतया नेपालमा जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ मा बाहिरिने तालिका रहे पनि यस वर्ष केही अगाडि नै सुरु भएको मनसुनले देशभर वर्षाको प्रभाव देखाइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *