यात्राको एक अनन्त मोडः आषाढ १२

झिसमिसेको हल्का उज्यालोले दैलो र झ्याल ढकढक्याउनुअघि नै मेरा आँखा खुल्छन्। बिहानीको यो शान्त प्रहरमा प्रकृतिको एउटा आफ्नै सङ्गीत हुन्छ, जसलाई म शब्दविहीन धुन- एउटा मौन धुन भन्न रुचाउँछु। हिजो आषाढ १२ गते। क्यालेन्डरको एउटा साधारण पाना, तर मेरो जीवन–यात्राको एउटा विशिष्ट घुम्ती! यसै दिन म यस धर्तीको आँगनमा आफ्नो पहिलो पदचाप छोड्दै दुःख र सुखको एउटा अनौठो दोभानमा उभिन आइपुगेको थिएँ।

यो धर्तीमा आउनु एउटा जन्मको अङ्क थपिनु मात्र होइन रहेछ। यो त दुःखको पहाड उक्लँदै, सुखको छहारी खोज्दै, र सन्तुष्टिको एउटा मधुरो प्रकाश पछ्याउँदै हिँड्ने अनन्त यात्राको थालनी रहेछ।

निबन्ध लेख्नु र जीवन जिउनुमा एउटा गहिरो समानता छ– दुवैमा सन्तुलन चाहिन्छ। जसरी एउटा उत्कृष्ट निबन्ध भावनाको उद्वेलन र विचारको परिपक्वताको जगमा उभिन्छ, त्यसरी नै यो जीवन पनि दुःख र सुखको सन्तुलनमा अगाडि बढ्छ। म सम्झिन्छु ती बाटाहरू, ती पहाडी गोरेटाहरू र ती हिमाली क्षेत्रका कठिन चढाइहरू, जहाँ मेरा पाइलाहरूले सङ्घर्षका कथा कोरेका थिए।

हो, मैले दुःख झेलेको छु, तर त्यो दुःखमा कहिल्यै गुनासो रहेन। दुःख त त्यो कसी हो, जसले चेतनालाई झन् तिखार्छ, सिर्जनालाई झन् उजिल्याउँछ। निराशाका लामा, काला र पट्यारलाग्दा अर्धनिद्रित रातहरूलाई उछिनेर नै आशाको एउटा मिर्मिरे बिहानी किरण भेटिँदोरहेछ। निष्क्रिय भएर पग्लिनुभन्दा सक्रिय भएर बगिरहनु नै जीवनको असली धर्म रहेछ। त्यसैले त म हरपल, हर प्रतिपल आफ्ना पाइलाहरूलाई रोकिन दिन्नँ। मेरा पदचापहरू निरन्तर हिँडिरहेका छन्– कतै शान्तिको खोजीमा, कतै आत्मिक सन्तुष्टिको अभिलाषामा, कतै भोका आँखाहरूलाई तृप्ति प्रदान गर्ने अभिप्रायमा।

मेरो लेखन र मेरो यात्रा अलग–अलग नदी होइनन्, यी त एउटै महासागरमा मिसिने दुई धार हुन्। झिसमिसेदेखि नै मेरो मनको दैलो उघारिन्छ। एउटा लेखकका लागि हरेक बिहानी नयाँ जन्म जस्तै हो। केही देख्ने कौतूहल, केही भेट्ने आतुरता, केही पाउने आशा र केही सोच्ने गम्भीरता– यही त हो मेरो सिर्जनात्मक अभियानको इन्धन, खोज र खजानाहरू!

जब म प्रकृतिको विशाल वैभवलाई नियाल्छु, इन्द्रेणीका रङ्गहरूमा जीवनको विविधता भेटाउँछु। त्यसमा सौन्दर्य मात्र हुँदैन, एउटा गहिरो आन्तरिक रहस्य लुकेको हुन्छ। मेरा आँखाहरूले जहिले पनि ती अनकन्टार बाटाहरू र हिमालका फेदी तथा टाकुराहरूमा एउटा नलेखिएको निबन्ध देख्छन्। यात्रामा भेटिएका दुःखहरू र जीवनले अनुभूति वरण गरेका पलहरूलाई पगालेर नै अक्षरका पानाहरूमा ती सजिँदा तिनले मेरो पछिल्लो निबन्ध सङ्गालो ‘इन्द्रेणी सौन्दर्य’ धारण गरेका हुन्।

“जीवन एउटा यस्तो यात्रा हो, जहाँ गन्तव्य भन्दा पनि हिँडाइको गहिराइ र भोगाइको माधुर्यले अर्थ राख्छ” भन्ने कुरामा म विश्वास राख्छु।

आज जन्मदिनको यो विशेष प्रहरमा उभिएर पछाडि फर्किएर हेर्दा लाग्छ– मैले जे गुमाएँ, त्यो समयको माग थियो, तर मैले जे पाएँ, त्यो शब्द र भावनाको अगाध सम्पत्ति हो। पाठकहरूको स्नेह, शब्दसँगको यो अटुट नाता, र हिँडिरहने मेरो यो शाश्वत स्वभाव नै मेरो जीवनको सबैभन्दा ठूलो सुख हो।

आषाढको यो झरी र हरियालीको बीचमा, म आफूलाई अझै परिष्कृत गर्ने सङ्कल्प गर्छु। उमेरका अङ्कहरू जतिसुकै कमजोर वा बलिया भएर आए पनि मेरो मभित्रको यात्री र मेरो भित्रको लेखक सधैँ तन्नेरी रहनेछ। अझै धेरै बाटाहरू हिँड्नु छ, अझै धेरै नलेखिएका भूमिकाहरूलाई अक्षरमा उतार्नु छ। यो धर्तीको सिर्जनात्मक सौन्दर्यलाई आफ्नो लेखनको कञ्चन ऐनामा सजाइरहनु छ। जुन ऐना चर्किनु हुँदैन, फुट्नु हुँदैन। त्यहाँ सधैँ सग्लो स्वरूप सगरमाथा जस्तै स्वाभिमानका साथ गौरवले स्थिर भएर उभिइरहन सकोस्।

म कामना गर्छु– यो यात्रा जारी रहोस्, र जबसम्म हृदयमा शब्दको स्पन्दन बाँकी रहन्छ, यो अनवरत चलिरहनेछ। आजको यो शुभ दिनमा, म आफूले आफैँलाई र यो सुन्दर धर्तीलाई नमन गर्छु।

हिजो आषाढ १२ गते, मेरो जीवनको क्यालेन्डरमा एउटा नयाँ अङ्क थपियो। रात ढल्केर आजको नयाँ बिहानी पलाउँदा मेरो मनमा हिजोको त्यो आत्मीय उत्सवको सुवास अझै ताजा छ। उमेरको गणितले मलाई बिस्तारै उकालो चढाइरहेको छ, बैँसका सिँढीहरू पार गरेर म प्रौढताको क्षितिजतिर लम्किँदै छु। तर अचम्म लाग्छ, उमेर जति जति उकालो चढ्दै छ, मेरो मन उति उति नै ओरालो झरेर बाल्यकालको कञ्चन आँगनमा पुगेको महसुस गरिरहेछ।

हिजो दिनभरि आत्मीयजनहरू, इष्टमित्र र पाठकहरूबाट प्राप्त भएका शुभकामना र बधाईका ती न्यानो शब्दोपहारहरूले मेरो हृदय पुलकित बनेको छ। ती स्नेहिल शब्दहरूमा यस्तो ऊर्जा थियो, जसले मलाई प्रौढ होइन, बरु संसारलाई कौतूहलपूर्वक हेर्ने एउटा सानो बालक बनाइदिएको जस्तै भइरहेको छ। लागिरहेछ– सिर्जनाको फाँटमा म अझै अबोध बालक हुँ, जसले अझै धेरै सिक्नु छ, धेरै लेख्नु छ र धेरै हिँड्नु छ।

यो नयाँ उमेर, यो नयाँ वर्ष मेरो सामु सन्तुष्टि, खुसी र उल्लासका सुन्दर पलहरू मात्र बोकेर आएको छैन; यसको पछ्यौरीमा केही गम्भीर चुनौती र जिम्मेवारीहरू पनि बाँधिएर आएका छन्। वास्तवमा एउटा लेखकका लागि बढ्दो उमेर भनेको दायित्वको दायरा अझ फराकिलो हुनु हो।

जीवन र समयको यो अनवरत नदीले बगाएर ल्याएका चुनौतीहरूलाई मैले सहज रूपमा किनार लगाउनु छ। नदीको छालबाट झोरझाडी, लेउझेउ फालेर, ढुङ्गा पखालेर शिलामूर्तिको रूप दिएझैँ, मैले आफ्ना जिम्मेवारीहरूलाई निखारेर सबैका सामु एउटा बेग्लै सिर्जनाको स्वाद पेस गर्नु छ। यदि मैले आफ्ना भोगाइ र शब्दहरूलाई इमानदारितापूर्वक पाठकको मनसम्म पुर्‍याउन सकेँ भने, यो नै मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धि र प्राप्ति हुनेछ। म मेरो यो चुनौती र जिम्मेवारीको मार्गमा इमानदारीपूर्वक हिँड्ने दायित्वबोध गरिरहेको छु।

यतिबेला मेरो टेबलमा एउटा महत्त्वपूर्ण पाण्डुलिपि प्रसव पीडाले सास फेरिरहेको छ। म मेरो नयाँ नियात्रा कृति ‘कालापत्थरबाट सगरमाथा नियाल्दा’ को अन्तिम लेखन र सम्पादनको घडीमा छु। कालापत्थरको त्यो चिसो सिरेटो, सगरमाथाको त्यो अचम्मको गौरव, कैयौँ दुःख, कैयौँ कठिन पाइलाहरू हिँडेर लखतरान भएको त्यो शरीर– ती सबै क्षणहरू यतिबेला मेरा आँखैअगाडि नाचिरहेका छन्।

भौगोलिक रूपमा कठिन यात्रा गर्नु र ती अनेकौँ भावनाहरूलाई बटुलेर शब्दमा उतार्नु मात्र एउटा लेखकको क्षमता र धैर्यको पूर्णता होइन रहेछ। यात्रा सकिनु र लेखन सकिनु मात्रै एउटा स्रष्टाको काम सकिनु होइन रहेछ। त्यस कृतिलाई तिखारेर, सजाएर, प्रकाशनका लागि तयार पार्नु पनि उत्तिकै ठूलो र चुनौतीपूर्ण काम बाँकी रहँदोरहेछ। म यतिबेला तिनै प्राविधिक र सिर्जनात्मक कामहरू पूरा गर्ने दृढ अठोटमा प्रतिबद्ध छु, ताकि मेरा पाठकहरूले छिट्टै कालापत्थरको त्यो साहसिक र रोमाञ्चक पदयात्रासँगै सर्वोच्च शिखर सगरमाथाको सामीप्यलाई अक्षरमार्फत अनुभूत गर्न सकून्।

जन्मदिनपछिको यो नयाँ समयले मलाई अझ सक्रिय जीवनको यात्रामा अविरल हिँडाउनेछ भन्ने कुरामा म विश्वस्त छु। म मेरा व्यतीत दिनहरूबाट सकारात्मक पाठ सिकेर अबका पाइलाहरूलाई पछ्याउँदै, आफ्ना तृषित आँखा संसारका नयाँ र अनौठा दृश्यहरूमा डुलाउँदै अगाडि बढिरहनेछु। यात्रा र सिर्जना– यी दुई नै मेरा शाश्वत अभिरुचि हुन् र यिनैमा मेरो अस्तित्व बाँचेको छ।

अन्त्यमा, म ती सबैप्रति हृदयदेखि आभार प्रकट गर्छु, जो जसले मप्रति हार्दिक सद्भावका अमूल्य शब्दहरू खर्चनुभयो। र, सबैभन्दा ठूलो कुरा– जसले मलाई यो सुन्दर संसार देख्ने, बुझ्ने र यसरी शब्दको खेती गरेर बाँच्ने अवसर दिनुभयो, ती मेरा पूजनीय अभिभावक दिवङ्गत आमा–बुबा तथा आदरणीय दाजु र दिदीप्रति नतमस्तक हुँदै कृतज्ञता ज्ञापन गर्छु। उहाँहरूको स्मृति र उपस्थितिको छत्रछायाँमा म सदा आशीर्वचनको मीठो आशामा रहिरहनेछु। मेरो घरपरिवारको साथसहयोगको पनि यसमा उत्तिकै गहन भूमिका समेटिएको छ। मेरो विश्वास छ, मेरा पाइलाहरू सिर्जनाको बाटोमा यसरी नै अविरल अगाडि बढिरहनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *