प्रधानमन्त्रीले नेपाललाई अतिक्रमणकारी प्रमाणित गर्न खोजेको आरोप

काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीले नेपाललाई ‘सीमा अतिक्रमणकारी’ प्रमाणित गर्न खोजेको भन्दै कडा आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको आज बसेको बैठकको आकस्मिक समयमा बोल्दै सचेतक राईले नेपालले छिमेकी देशको कुनै पनि भूभाग नमिचेको र नेपाल विश्वको नजरमा कहिल्यै पनि ‘अतिक्रमणकारी’ बन्न नसक्ने स्पष्ट पारे।

सचेतक राईले प्रधानमन्त्री र उनका शुभचिन्तकहरूले नभएका प्रमाणहरू कृत्रिम रूपमा सिर्जना गरेर नेपाल आफैँले भारतको जग्गा मिचेको प्रमाणित गर्न खोज्नु गम्भीर राष्ट्रघात भएको आरोप लगाए। काठमाडौँको मेयर हुँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने प्रधानमन्त्रीले आज कुन स्वार्थमा देशको स्वाभिमानमाथि धावा बोलिरहेका छन् भनी उनले संसद्मा प्रश्न गरे। प्रधानमन्त्रीको यस्तो गैरजिम्मेवार अभिव्यक्तिले सीमा रक्षाका लागि आफ्नो ज्यान आहुति दिने वीर सहिदहरूको अपमान भएको तर्क राईले गरे।

सचेतक राईले प्रधानमन्त्रीको उक्त विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन नदिएको भन्दै सभामुख देवराज घिमिरेप्रति पनि असन्तुष्टि व्यक्त गरे। संसद्मा प्रतिपक्षी दलले सभामुखको तटस्थ अभिभावकत्व चाहेको उल्लेख गर्दै उनले खुट्टा नकमाई रुलिङ गर्न माग गरे। साथै प्रधानमन्त्रीले तत्काल रोष्टममा उभिएर राष्ट्रहित विपरीतका आफ्ना भनाइप्रति देशवासीसँग आत्मालोचना गर्दै माफी माग्नुपर्ने माग समेत उनले राखे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *