नक्कली भुटानी शरणार्थी प्रकरण: उच्च नेताहरूलाई बयानमा बोलाउन माग

काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्च राजनीतिक नेतृत्व र कर्मचारीहरूलाई अदालतमा बयानका लागि बोलाउनु पर्ने माग गर्दै बिहीबार जिल्ला अदालत काठमाडौँमा निवेदन दर्ता भएको छ।

अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत) का अनुसार पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रामबहादुर थापा (बादल), अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवा, मञ्जु खाण र राजेश बज्राचार्यलाई बयानका लागि बोलाउन माग गर्दै निवेदन दर्ता गरिएको हो।

भुटानी शरणार्थी प्रकरणमा यी व्यक्तिहरूले रकम बुझेको दाबी गरिएका अडियो र भिडियो प्रमाणसहितका विवरण मिसिलमा संलग्न गरी पेस गरिएको अधिवक्ता नेपालले जानकारी दिए। उक्त निवेदनमा केन्द्रित भएर शुक्रबार अदालतमा बहस हुने बताइएको छ।

बुधबारदेखि जिल्ला न्यायाधीश तेजबहादुर खड्काको इजलासमा भुटानी शरणार्थी प्रकरण सम्बन्धी मुद्दाको अन्तिम चरणको सुनुवाइ सुरु भएको छ। नेपाली नागरिकलाई नक्कली कागजात तयार पारी सङ्गठित गिरोहको योजनामा भुटानी शरणार्थी बनाएको दाबी अभियोगपत्रमा गरिएको छ।

सङ्गठित अपराधसहित पाँचवटा अभियोगमा मुद्दा दायर भएको झण्डै तीन वर्षपछि जिल्ला अदालतमा पेसी चढेर अन्तिम सुनुवाइ सुरु भएको हो।

यसअघि २०८० जेठ १० गते पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जना विरुद्ध मुद्दा दायर भएको थियो।

उनीहरू विरुद्ध सरकारी कागजात किर्ते, ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको अपराध लगायतका कसुरमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *