युद्ध, कला र अक्षरका सारथिः विक्रमवीर थापा
युद्ध, कला र अक्षरका सारथि हुन् विक्रमवीर थापा।
युद्धको मैदानमा देशका लागि बन्दुक समातेका हातहरू जब क्यानभासमा कूची चलाउन थाल्छन् र रङ्गमार्फत भावनाहरू उकेल्छन्, तब एउटा जीवन्त कलाको जन्म हुन्छ। सन् १९७१ को ऐतिहासिक बङ्गलादेश युद्ध लडेका भूतपूर्व गोर्खे सिपाही विक्रमवीर थापा त्यस्तै विरलै भेटिने नाम हो, जसले जीवनलाई युद्धको मोर्चामा मात्र होइन, कला र साहित्यको भावनात्मक गहिराइमा पनि उत्तिकै कुशलताका साथ आफूलाई अभिव्यक्त गरेर बाँचेका छन्। शिलाङ (मेघालय) को माटोमा जन्मिएर नेपाली वाङ्मय र कला जगत्लाई समृद्ध बनाउन उनले पुर्याएको योगदान स्मरणीय छ।
उनका प्रकाशित कृतिहरूमा कम्युनिस्ट, उपहार, विगतको परिवेशभित्र, टिस्टादेखि सतलजसम्म, हत्या रातो डायरीको, माटो बोल्दो हो, मानसिंह गुरुङ, कार्गिल युद्ध (आत्मकथा) तथा बङ्गलादेशको युद्धदेखि गोर्खाल्यान्डको आन्दोलनसम्म छन्।
उनको साहित्यिक उचाइ र पहिचान पहिल्याउन वा पर्गेल्नका निम्ति दैलो खोलेर भित्र पस्दा त्यहाँ उनका सिर्जनाकर्मका भलिभाँती उपलब्धिहरू कोठाचोटा, मझेरीभरि देख्न सकिन्छ। पुराना किताब र पत्रपत्रिकाहरूका चाङ एकातिर, अर्कोतिर उनका चित्रकला क्यानभासका थाक। कलम, कापी, रङ, ब्रस, प्यालेट आदिको थुप्रोमा आफैँ हराउँदै भविष्यको नवीन सिर्जनात्मक बिहानको निर्माणमा उनी अद्यापि दत्तचित्त छन्। लगभग शारीरिक अशक्तताले घरकै सीमित परिवेशमा रमाउन बाध्य उनको मन भने दशदिशा दौडिरहन्छ। केही न केही लेखिरहन, पढिरहन रुचाउने स्वभावका उनलाई यही काम प्यारो लाग्छ।
विक्रमवीर थापा भारतीय पूर्व सिपाही मात्र होइनन्, उनी नेपाली कथा साहित्यको आकाशमा चम्किलो नक्षत्र हुन्। उनको प्रखर चेत र विशिष्ट लेखन शैलीको जीवन्त प्रमाण हो- कथा सङ्ग्रह ‘बीसौँ शताब्दीकी मोनालिसा’। यसै कृतिका लागि उनले सन् १९९९ मा भारतको सर्वोच्च साहित्यिक सम्मान ‘साहित्य अकादेमी पुरस्कार’ प्राप्त गरे। उनको साहित्यिक ओज यतिमा मात्र सीमित रहेन, नेपालको प्रतिष्ठित ‘रत्नश्री स्वर्ण पदक’ बाट समेत उनी पुरस्कृत भएका छन्। अकाट्य रूपमा उनका कथाहरूले मानव जीवनका जटिलता, भोगाइ र युगीन चेतनालाई मिहिन ढङ्गले प्रस्तुत गर्छन्।
यद्यपि उनलाई एउटा नमीठो चिन्ता छ, जसले घरिघरि उनलाई घोचिरहन्छ। त्यसलाई उनी कहिलेकाहीँ लेखरचनामार्फत पनि व्यक्त गरिरहन्छन्। त्यो हो- पढ्ने पुस्ता घटिरहेको, किताब पढ्ने पाठक नबढेको र साहित्यप्रति मान्छेको मन टाढिँदै गइरहेको। “गोर्खेहरूले पढ्न, लेख्न किन उतिसारो मन नगरेको हो?” भन्दै उनी जिज्ञासाको झटारो हान्छन्। अनि आफ्ना पुराना रचनाहरू जस्तै कहिले कथा र संस्मरणका टुक्रा त कहिले आफूले सिर्जना गरेका चित्र पोस्ट गरेर व्यङ्ग्य पस्किरहन्छन्।
विक्रमवीर थापाको जीवन साहित्यमै मात्र सीमित थिएन। उनले १६ मे १९६८ मा भारतीय सेनामा प्रवेश गरे र पाँचौँ गोर्खा राइफल्स (फ्रन्टियर फोर्स) मा सेवा गरे। उनले बङ्गलादेश मुक्ति युद्धमा पनि सक्रिय रूपमा भाग लिए। राष्ट्रसेवाको यो अध्यायले उनीमा अनुशासन, सङ्घर्ष र त्यागको भावना रोप्यो। यिनै कुरा पछि उनको साहित्यमा गहिरो रूपमा अभिव्यक्त भए। सैनिक जीवनले उनलाई देश, समाज र समुदायको वास्तविकता नजिकबाट देख्ने अवसर दियो।
अक्षरका कुशल शिल्पी रङ्ग र रेखाका पनि उस्तै जादुगर हुन्। कलाको कुनै औपचारिक वा विधिवत् शिक्षा नलिई, आफ्नै साधना र एकल प्रयासबाट उनले चित्रकलामा आत्मज्ञान प्राप्त गरे। आफूलाई सदैव “भुइँफुट्टे चित्रकार” भन्न रुचाउने उनको यो आत्मस्वीकृति र विनम्रताले उनको कलाकारिताको उचाइलाई अझ प्रस्ट पार्छ। उनले बनाएका चित्रहरू सिर्जनात्मक कलाका दृष्टिले सुन्दर छन्। तर, उनले आफूलाई सामान्य ठाने पनि उनको सामीप्य र मार्गदर्शनमा हुर्किएका थुप्रै शिष्यहरू आज भारतका विभिन्न स्थानमा रहेर कला जगत्मा स्थापित र कुशल कलाकारका रूपमा चिनिन्छन्।
उनकै सामीप्यमा रहेर कलाको कखरा सिकेका मिरिकका स्थापित कलाकार विरही कान्छा ‘मिरिक’ थापा सरकै प्रेरणाले चित्रकलामा लागेको बताउँछन्। उनलाई आफ्नो परम गुरु मान्दै कृतज्ञताका साथ भन्छन्- शिलाङमा उनपछिको पुस्ताका मूर्तिकार तथा कलाकारहरू गोपाल विश्व र प्रेम पुन जस्ता साधकहरू आज मूर्त शैलीमा कलाकर्म गर्दै उनकै विरासतलाई अघि बढाइरहेका छन्।
उनको उदाहरणीय व्यक्तित्वका प्रशंसक र शुभचिन्तकहरू भूगोलका विभिन्न कुनाबाट उनप्रति उत्तिकै अगाध श्रद्धा व्यक्त गर्छन्। लेखक पेशल पोखरेल दुई दशकअघि विक्रम दाइकै घरमा पुगेर भेटेको क्षण सम्झँदै उनको साधना र व्यक्तित्वलाई “अनुकरणीय र उदाहरणीय” मान्छन्। उनका बारेमा अथाह जानकारी र संस्मरणहरू सँगालेर बस्नुभएका मुम्बई निवासी जीवन सम्राट र सिलिगुडीका मुक्ति बराल जस्ता सुहृदयीहरू उनको जीवनका महत्त्वपूर्ण साक्षी हुन्।
त्यसैगरी, उनका पुराना शुभचिन्तक जयप्रकाश लामा तीन दशक पुरानो सम्झना स्मरण गर्दै भन्छन्- “उनको सरल, सहज र शुद्ध लेखन कलालाई हामीले तीस वर्षअघि नै सराहना गरेका हौँ, जब उनका ‘विगतको परिवेश…’ र ‘टिस्टादेखि सतलज…’ जस्ता कृतिहरूको रसस्वादन गर्ने सौभाग्य मिलेको थियो। अहिले त हामी उनका फ्यान (प्रशंसक) हौँ।”
त्यसैगरी साहित्यिक मासिक पत्रिका मधुपर्कका तत्कालीन सम्पादक कपिल घिमिरे भन्छन्- “विक्रमवीर थापाले लेख्नुभएको कथा मधुपर्कमा छापिएको थियो। युद्धसम्बन्धी ‘आमा’ शीर्षकको कथा मधुपर्कको नेपाल बाहिरको नेपाली साहित्य अङ्क २०४२ मा प्रकाशित थियो। त्यो कथा मलाई साह्रै राम्रो लागेको थियो।”
जीवनको उत्तरार्धमा उनले भोगेको स्वास्थ्य सङ्कट र पीडाको क्षण अत्यन्तै मर्मस्पर्शी छ। कोभिड-१९ को प्रथम चरणको लकडाउनका बेला उनी गम्भीर रूपमा रोगाक्रान्त भए। महामारीको त्यो चरम विन्दुमा अस्पतालसम्म पुग्न नपाउँदाको अत्यधिक पीडालाई उनले ओछ्यानमै छटपटाउँदै सहनुपर्यो। दुई महिनाको कठोर छटपटी र लकडाउन खुकुलो भएपछिको अस्पतालको बसाइपछि जब उनी निको भएर फर्किए, उनको पाइला सिधै आफ्नै साधना कक्षतिर मोडियो। रोगाक्रान्त क्षण र कलाप्रतिको अगाध प्रेमलाई उनी जीवनको अर्को अविस्मरणीय क्षण मान्छन्।
दुई महिनाको लामो अन्तरालपछि आफ्नै कोठामा आफैँले कोरेको ‘पशुपति मन्दिरको तैलचित्र’ अगाडि उभिन पाउँदा उनले पाएको आत्मिक सुख र ऊर्जा केवल एउटा सच्चा साधकले मात्र बुझ्न सक्छ। त्यो तैलचित्र रङ्गहरूको संयोजन मात्र होइन कि त्यो उनको पुनर्जन्म र आस्थाको जीवन्त प्रतिविम्ब पनि हो।
वास्तवमा विक्रमवीर थापा एउटा यस्तो नाम हो, जसमा सिपाहीको दृढता, कथाकारको संवेदनशीलता र चित्रकारको सुन्दर कल्पनाशीलता एकाकार भएको छ। काठमाडौँमा आयोजना हुने अन्तर्राष्ट्रिय भानुजयन्ती जस्ता गरिमामय मञ्चहरूमा उनको उपस्थिति जति आदरणीय छ, कला र साहित्यप्रतिको उनको समर्पण नयाँ पुस्ताका लागि उति नै प्रेरणादायी छ। उनी नेपाली कला र साहित्यका अमूल्य सम्पदा हुन्।
उनको जन्म सन् १९४८ फेब्रुअरी २२ मा, तत्कालीन असम राज्यअन्तर्गत पर्ने शिलाङ (हाल मेघालय) मा भएको थियो। उनी गोर्खाली थापा मगर परिवारमा जन्मिएका हुन्। पिता रघुवीर थापा मगर भारतीय सेनाका गोर्खा सुबेदार थिए भने आमाको नाम कौशल्या देवी थापा मगर थियो। दुर्भाग्यवश, उनका पिता उनी ४ वर्ष पुग्दानपुग्दै बिते। पिताको निधनले बालक विक्रमलाई जीवनको कडा यथार्थसँग समयमै परिचित गरायो। आमाले उनलाई साहस, मेहनत र संस्कारसहित हुर्काइन्। यिनै जीवनानुभवहरूले पछि उनको साहित्यमा गहिरो संवेदनशीलता र मानवीयता भर्न सहयोग गर्यो।
यसरी युद्धको मोर्चादेखि कला र अक्षरको मैदानसम्म अटुट रूपमा क्रियाशील विक्रमवीर थापा आजको पुस्ताका लागि एउटा अजस्र प्रेरणाको स्रोत हुन्। उनको यही निष्कलङ्क र उच्च साधक व्यक्तित्वलाई शब्दमार्फत उजागर गर्ने यो प्रयास आफैँमा एउटा कृतज्ञताको सुन्दर र ऐतिहासिक दस्तावेज हो।
