विश्वकप फुटबल: खेलाडीलाई भिसा नदिएको भन्दै इरानद्वारा अमेरिकाको आलोचना
काठमाडौँ। विश्वकप फुटबल प्रतियोगिता सुरु हुन करिब एक हप्ता बाँकी रहँदा खेलका लागि चयन भएका सहभागी राष्ट्रहरूबाट आयोजक देशको भिसा लिने र व्यवस्थापन गर्ने क्रम तीव्र बनेको छ। यस पटकको विश्वकप फुटबल प्रतियोगिता संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन्, जसको उद्घाटन यही जेठ २९ गते हुनेछ।
आयोजक राष्ट्रमध्येको एक अमेरिका र इरानबीच जारी द्वन्द्वका कारण आयोजक राष्ट्र अमेरिकाले विश्वकप प्रतियोगितामा सहभागी हुन लागेको इरानी फुटबल टोलीका केही सदस्यहरूलाई भिसा नदिएर ‘विभेदपूर्ण व्यवहार’ गरेको आरोप इरानले अमेरिकामाथि लगाएको छ।
टर्कीस्थित इरानी दूतावासले अमेरिकी राजदूत टम कराकले खेलाडीहरूलाई भिसा प्रदान गरिएको घोषणा गरेको उल्लेख गर्दै व्यवस्थापकीय र कार्यकारी कर्मचारी, प्राविधिक सल्लाहकारहरू र अन्य जो कुनै पनि राष्ट्रिय फुटबल टोलीको अभिन्न अङ्ग हुन्, उनीहरूलाई भिसा दिन अस्वीकार गरिएको कुरा किन नलुकाएको भनी प्रश्न गरे। दूतावासले इरानको राष्ट्रिय फुटबल टोलीविरुद्ध जानाजानी र भेदभावपूर्ण व्यवहारलाई उच्च स्तरमा पुर्याइएको दाबी गरे।
इरानको राष्ट्रिय फुटबल टोलीका प्रमुख मेहदी ताजले सोही दिन इरानी प्रतिनिधिमण्डलले भिसाका लागि राहदानी बुझाएको बताएपछि बराकले शुक्रबार कूटनीतिक पहलका लागि अंकारास्थित अमेरिकी दूतावासको प्रशंसा गरेका थिए।
तर शनिबार इरानी सञ्चारमाध्यम र भर्जेश–३ नामक इरानी स्पोर्ट्स अनलाइनले ताजसहित प्रतिनिधिमण्डलका सदस्यहरू, कार्यकारी सदस्यहरू र विश्लेषकहरूलाई भिसा नदिइएको कुरा सार्वजनिक गरे। यसअघि शुक्रबार ताजले सरकारी टेलिभिजनसँग कुरा गर्दै टोलीका सबैजनालाई भिसा जारी गरिने आफ्नो मूल्याङ्कन रहेको र यस सम्बन्धमा कुनै समस्या नहुने आशा व्यक्त गरे।
भिसा विवादकै बीच इरानीहरूले आफ्नो विश्वकप खेलका क्रममा टोली रहने स्थानलाई स्थानान्तरण गरेका छन्। सुरुमा टक्सन, एरिजोनामा हुने भनिएको उक्त बसाइलाई उत्तरपश्चिमी मेक्सिकन सीमावर्ती सहर तिजुआनामा सारिएको छ। टोलीका सबै तीन समूह चरणका खेलहरू संयुक्त राज्य अमेरिकामा हुने कार्यतालिका सार्वजनिक भइसकेको छ। जसअनुसार टोलीले जुन १५ मा न्युजिल्यान्डसँग, जुन २१ मा बेल्जियमसँग (दुई खेल लस एन्जलसमा) र जुन २७ मा इजिप्टसँग सियाटलमा खेल्नेछ।
