प्रधानमन्त्रीको अभिव्यक्ति अति असामान्य र गम्भीर

काठमाडौँ। संवैधानिक कानुनविद् डा. भिमार्जुन आचार्यले नेपालले पनि भारतको सीमा मिचेको भन्दै प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्ति अति नै असामान्य र गम्भीर भएको टिप्पणी गरेका छन्।

प्रधानमन्त्री शाहले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा नेपालले पनि भारतको सीमा मिचेको र आफू प्रधानमन्त्री भएपछि त्यसबारे जानकारी पाएको बताएका थिए।

प्रधानमन्त्रीको सो अभिव्यक्तिमाथि चौतर्फी चर्को आलोचना भइरहेका बेला संवैधानिक कानुनविद् डा. आचार्यले सरकार प्रमुखबाट यस्तो कुरा अपेक्षित नभएको बताए। उनले नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने प्रधानमन्त्रीको सदनमा दिएको अभिव्यक्ति अति नै असामान्य र गम्भीर रहेको उल्लेख गरे। दुई देशबीचमा तेस्रो देशको उपस्थितिको आह्वान झनै चिन्ताजनक रहेको उनको भनाइ छ।

आजसम्मका कुनै पनि प्रधानमन्त्रीहरूले यस्तो अभिव्यक्ति संसद् र संसद् बाहिर दिएको रेकर्ड नभएको भन्दै डा. आचार्यले यस्तो अभिव्यक्ति कहिल्यै अपेक्षित पनि नहुने स्पष्ट पारे।

सरकार प्रमुखबाटै आएको यस्तो अभिव्यक्तिले नेपालको भौगोलिक अखण्डता रक्षा गर्न सरकारले चाहँदैन वा सक्दैन भन्ने कुरा दर्शाएको उनले उल्लेख गरे। यसको सबैभन्दा ठूलो असर नेपाली भूमि जसरी जुन स्तरमा अतिक्रमण भइरहेको छ, त्यसलाई कुनै न कुनै रूपमा फाइदा र वैधता दिलाउनु हुने उनले बताए।

सीमा मिच्ने काम दुई देशबीच पारस्परिक छ भन्ने सरकार प्रमुखको भनाइले नेपालको भूमि रक्षामा सरकारको अक्षमता देखाउने भन्दै उनले सामाजिक सञ्जालमा लेखेर सिंगो देश र देशवासी झनै सचेत हुनुपर्ने समय आएको बताएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *