मलेसियामा नेपथ्यको भव्य प्रस्तुति

काठमाडौँ। नेपाली लोकरक ब्यान्ड नेपथ्यले मलेसियाको राजधानी क्वालालम्पुरमा भव्य साङ्गीतिक प्रस्तुति दिएको छ। साढे तीन दशक लामो साङ्गीतिक यात्रामा नेपथ्य पहिलोपटक मलेसिया पुगेको हो। पर्यटकीय स्थल बुकित बिन्ताङस्थित ‘जेप हल’ मा आइतबार बेलुकी ठीक ७ बजे नेपथ्यले ‘कोशीको पानी’ गीतबाट कन्सर्ट सुरु गरेको थियो।

एकपछि अर्को गीत प्रस्तुत गर्ने क्रममा नेपथ्यका गायक अमृत गुरुङले दर्शकसँग संवाद गर्दै देशप्रेमको सन्देश बाँडे। गीत सङ्कलनका क्रममा अनेक स्थान पुग्दा नेपाललाई नजिकबाट चिन्ने अवसर पाएको उनले सुनाए। उनले स्वदेश पुगेका बेला ती स्थान घुम्न दर्शकलाई आह्वानसमेत गरे।

दर्शक दीर्घामा सिङ्गापुरदेखि आइपुगेका रेस्टुरेन्ट व्यवसायी पदम थापा पनि थिए। नेपथ्यको स्वाद लिनकै निम्ति टाढाको यात्रा गरेर आएको बताउने उनले नेपालका सबै भेगको संस्कृति समेटिने गीत–सङ्गीतसँग झुम्न पाएको र फरक–फरक पुस्ताको रुचि एकै ठाउँमा अटाएको महसुस गरेको प्रतिक्रिया दिए। उनले राम्रो तयारी र उत्कृष्ट व्यवस्थापनका कारण कन्सर्ट उच्च स्तरको बनेको बताए।

केही वर्षयता वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य बन्दै आएको मलेसियामा नेपाली कामदारको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ। नेपथ्यका लागि साङ्गीतिक प्रस्तुतिका हिसाबले मलेसिया २० औँ मुलुक र क्वालालम्पुर ५८ औँ विदेशी सहर हो।

कन्सर्टमा मलेसियास्थित नेपाली दूतावासकी उपप्रमुख मुदिता बज्राचार्य पनि पुगेकी थिइन्। क्वालालम्पुरमा नेपथ्य अनुभव गर्न पाउँदा असाध्यै खुसी लागेको बताउँदै उनले आफ्नै पाराका शब्द र धुनहरूको शक्तिले बारम्बार पुराना दिन सम्झाएको र विविधताको आनन्द महसुस गर्न पाएको सुनाइन्। विदेशी भूमिमा रहेर कूटनीतिक सेवा गरिरहँदा नेपथ्यजस्तो ब्यान्डको स्तरीय प्रस्तुति र गायक अमृतको देशप्रेमको सन्देशले गौरव र आत्मसम्मान बढाएको उनले उल्लेख गरिन्।

दर्शक घेरामा क्वालालम्पुरस्थित लिङ्कन विश्वविद्यालयमा दुई वर्षदेखि अध्ययनरत सिमरन सेढाईं पनि थिइन्। अमृत गुरुङको नजिकै रहेर नेपथ्य कन्सर्ट हेरेको यो अनुभव सपनाजस्तो लागेको उनले सुनाइन्। स्कुले विद्यार्थी छँदा साथीहरूमाझ ‘यो जिन्दगानी गीतकी गायिका’ भनेर चिनिएकी सिमरनले त्यही गीत आज नजिकैबाट सुन्दा आँसु थाम्न नसकेको बताइन्। नेपथ्यको पुरानो टिसर्ट अझैसम्म साँचेर राखेका पिताको प्रेरणाले नै बाल्यकालमा आफूले सङ्गीतको तालिम लिने मौका पाएको उनले सुनाइन्।

दुई घण्टा लामो कन्सर्टको अन्त्य ‘रातो र चन्द्रसुर्जे’ गीतबाट गरिएको थियो।

कन्सर्ट आयोजनास्थल ‘जेप क्वालालम्पुर’ अन्तर्राष्ट्रिय स्तरको रङ्गमञ्च तयार पार्ने जापानस्थित ‘जेप समूह’ कै विस्तार थियो। त्यसका निर्देशक सिनिचिरो होन्डाका निम्ति पनि यो पहिलो नेपाली कार्यक्रमको अनुभव बन्यो। यस ब्यान्डले नेपाली मौलिकतालाई समातेर वैश्विक स्वादमा गीत पस्कने गरेको र सङ्गीतदेखि व्यवस्थापनसम्म सिङ्गो प्रस्तुति स्तरीय महसुस गरेको उनले बताए।

मलेसियाको फरक दर्शक घेरालाई नेपथ्यसँग नजिक्याउन जिम्मेवारी सम्हालेका स्थानीय आयोजकले पनि कार्यक्रमबाट सन्तुष्टि मिलेको प्रतिक्रिया दिए। स्थानीय आयोजक ‘आर्बिटरी इभेन्ट्स’ का विपिन नकर्मीले ब्यान्डको प्रस्तुति सोचेभन्दा गहकिलो महसुस गरेको र दर्शकहरू मिठो सम्झना बोकेर फर्किएको देख्दा आनन्द लागेको बताए।

मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए। मलेसियामा आयोजित यो एक मात्र कन्सर्ट सकिएपछि ब्यान्ड स्वदेश फर्किएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *