डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
विराटनगर । डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठान विराटनगरले वर्ष २०८२ का विभिन्न विधाका पुरस्कारहरूको घोषणा गरेको छ । प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईंको अध्यक्षतामा आइतबार बसेको कार्यसमितिको बैठकले पुरस्कार घोषणा गर्ने निर्णय सर्वसम्मत रूपमा गरेको हो ।
प्रतिष्ठानको बैठकले पुरस्कारहरू आगामी २०८३ असार २१ गते डा. नरेन्द्र चापागाईंको जन्मजयन्तीको सन्दर्भ पारेर एक विशेष समारोहका बीच समर्पण गर्ने निर्णय गरेको छ । बैठकले नेपाली भाषा, साहित्य र कला क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।
जस अनुसार नेपाली भाषा र साहित्यमा लामो समयदेखि निरन्तर कलम चलाउँदै आएका साहित्यकार पोष (रमण) चापागाईंलाई ५१ हजार रुपैयाँ राशिको ‘डा. नरेन्द्र चापागाईं भाषा-साहित्य पुरस्कार (२०८२)’ प्रदान गरिनेछ । त्यसैगरी नेपाली भाषाका विभिन्न विधामा निरन्तर कलम चलाउने स्थानीय साहित्यकार भीम कोइरालालाई २५ हजार रुपैयाँ राशिको ‘डा. नरेन्द्र चापागाईं प्रतिभा पुरस्कार-२०८२’ प्रदान गरिनेछ ।
प्रतिष्ठानद्वारा संयोजन गरिएको ‘पद्मश्री देवका नेउपाने सेवा पुरस्कार’ कोषबाट स्थापित १० हजार ११५ रुपैयाँ राशिको ‘नेउपाने कला सम्मान पुरस्कार-२०८२’ गायिका अञ्जु गौतमलाई समर्पण गर्ने निर्णय गरिएको प्रतिष्ठानका महासचिव दिङ्लाली कान्छोले जानकारी दिए ।
