१० जिल्लामा बर्डफ्लु महामारी, काठमाडौँ उपत्यका बढी जोखिममा
काठमाडौँ। देशका विभिन्न स्थानमा दुई महिनायता बर्डफ्लु संक्रमण तीब्र रूपमा फैलिरहेको छ। गत चैत पहिलो साता कोशी प्रदेशबाट सुरु भएको संक्रमण हालसम्म १० जिल्लाका ५५ वटा व्यावसायिक फार्ममा पुगिसकेको छ।
पशु सेवा विभागका अनुसार हालसम्म सुनसरी, मोरङ, काठमाडौँ, झापा, चितवन, ललितपुर, बारा, भक्तपुर, नवलपरासी पश्चिम र महोत्तरीमा बर्डफ्लु पुष्टि भएको छ। चालु आर्थिक वर्षमा बर्डफ्लुको पहिलो संक्रमण गत चैत ४ गते मोरङको सुन्दरहरैँचा–४ र उर्लाबारी–८ मा देखिएको थियो।
विभागले सार्वजनिक गरेको जेठ १८ गतेसम्मको तथ्यांक अनुसार कोशी प्रदेशमा संक्रमण केही मत्थर देखिए पनि काठमाडौँ उपत्यकामा भने स्थिति अझै चुनौतीपूर्ण बनेको छ। उपत्यकाका कीर्तिपुर, चन्द्रागिरि, गोकर्णेश्वर, गोदावरी र सूर्यविनायक क्षेत्रका व्यावसायिक लेयर्स फार्म तथा स्थानीय ९लोकल० कुखुरामा समेत संक्रमण पुष्टि भएको छ।
जेठ २० गते बुधबार मात्र भक्तपुरको चाँगुनारायण नगरपालिका १ र ९ का केही घरमा पालिएका कुखुरा एक्कासि मर्न थालेपछि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा बर्डफ्लु प्रमाणित भएको थियो।
संक्रमण नियन्त्रणका लागि विभागले हालसम्म प्रभावित क्षेत्रका ४ लाख ७९ हजार १५६ कुखुरा नष्ट गरिसकेको छ। यसैगरी सोही अवधिमा ६ लाख ९४ हजार १९३ वटा अन्डा र १ लाख ८२ हजार ७७५ किलो दाना नष्ट गरिएको छ।
तथ्यांक अनुसार सबैभन्दा बढी क्षति सुनसरीमा भएको छ, जहाँ २ लाख ८५ हजार ५६४ कुखुरा र ४ लाख २७ हजार ५८० अन्डा नष्ट गरियो। मोरङमा १ लाख १ हजार ८६० र काठमाडौँमा ३९ हजार ४८१ कुखुरा नष्ट गरिएको छ।
झापाका ४ वटा फार्ममा २० हजार ९० कुखुरा, ९७ हजार ४५० अन्डा र १० हजार ४६५ किलो दाना नष्ट गरिएको छ भने पोल्ट्रीको हब मानिने चितवनमा एउटा फार्म प्रभावित हुँदा १८ हजार ८६३ कुखुरा नष्ट भइसकेका छन्।
ललितपुरका ३ फार्ममा ९ हजार ७३० कुखुरा, ३ हजार १५० अन्डा र ३ हजार ७०० किलो दाना नष्ट गरिएको छ। बारामा २ हजार ८६५ कुखुरा, ४ हजार १२७ अन्डा र ३ हजार १२५ किलो दाना नष्ट गरिएको छ।
संक्रमण कम देखिएका जिल्लामध्ये भक्तपुरका दुई फार्ममा ४१७ कुखुरा, नवलपरासी पश्चिममा २०८ कुखुरा र १०० किलो दाना तथा महोत्तरीमा ७८ कुखुरा नष्ट गरिएको विभागले जनाएको छ।
उपत्यका बाहिर संक्रमण केही नियन्त्रणमा आए पनि काठमाडौँका स्थानीय र व्यावसायिक फार्महरूमा अझै जोखिम रहेको विभागको भनाइ छ। कीर्तिपुर, चन्द्रागिरि, गोकर्णेश्वर, गोदावरी, सूर्यविनायक र भक्तपुरका केही क्षेत्रमा बर्डफ्लु भेटिने क्रम जारी छ।
अहिले पछिल्लो समय काठमाडौँ उपत्यकाका व्यावसायिक भन्दा पनि स्थानीय र अर्ध–व्यावसायिक कुखुरा पालिएका ठाउँमा संक्रमण बढ्दो रूपमा देखिएकाले टोली खटाएर नियन्त्रणको प्रयास भइरहेको विभागले जनाएको छ।
