शिक्षकका माग सम्बोधन नभएपछि पुनः आन्दोलन सुरु

काठमाडौ। शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आएको नेपाल शिक्षक महासंघ आज सोमबारदेखि पुनः आन्दोलनमा होमिएको छ।

संसदीय समितिले पारित गरी संसदमा पेस भएको विद्यालय शिक्षा विधेयकमा आफ्ना कतिपय मागहरू समावेश नभएको भन्दै महासंघले आन्दोलन सुरु गरेको हो।

आन्दोलनको पहिलो दिन आज महासंघले प्रधानमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री र विभिन्न राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार गत वैशाखमा सरकारसँग भएको ९ बुँदे सहमति विधेयकमा लागू नभएको र यसले शिक्षकहरूको सेवा, सुविधा र अधिकारलाई कमजोर बनाएको छ। सोही कारण पुनः आन्दोलन गर्नुपरेको उनको भनाइ छ।

महासंघले सरकारसँग भएका विगतका सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने, अस्थायी शिक्षकको पदपूर्ति, आवधिक बढुवा, अध्यापन अनुमतिपत्रको नवीकरण, विद्यालय कर्मचारी र बाल कक्षा शिक्षकको सेवा तथा सुविधा, संस्थागत विद्यालयका शिक्षकको सुरक्षा र द्वन्द्वपीडित शिक्षकको उपदान सुनिश्चित गर्न माग गरेको छ। यसका साथै शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्ने प्रस्तावको पनि महासंघले विरोध गरेको छ।

महासंघले घोषणा गरेअनुसार भदौ ११ देखि २० गतेसम्म राजनीतिक दलका केन्द्रीय कार्यालय, पालिका र जिल्लाहरूमा २ घण्टा धर्ना दिइने छ।

भदौ २१ गतेदेखि दोस्रो चरणको कडा आन्दोलन गर्ने महासंघले जनाएको छ। त्यस क्रममा धर्ना, अवरोध र विरोध प्रदर्शन गरिने छ।

यो आन्दोलन विद्यार्थीको गुणस्तरीय शिक्षा र शिक्षकको सम्मानका लागि भएको दाबी गर्दै मागहरू पूरा नभएसम्म आन्दोलन जारी रहने अध्यक्ष सुवेदीले बताएका छन्।

* * *

विद्यालय शिक्षा विधेयकसँग सम्बन्धित थप समाचारहरू

शिक्षक महासंघद्वारा आन्दोलन कार्यक्रम घोषणा

विद्यालय शिक्षा विधेयक पारित, तीन दलको फरक मत

शिक्षा विधेयकः संसदीय समितिको निर्णयप्रति असन्तुष्टि

शिक्षा विधेयकको परिमार्जित प्रतिवेदनमा के छ ? (हेरौं विस्तृत)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *