फारुशास्त्रका बारेमा केही शब्द
उनले एक्कासि मलाई सोधे, “फारुशास्त्रको अङ्ग्रेजी के हुन्छ, सर ?”
उनका प्रश्नले मलाई नझस्काई छोडेन । उनले फारुशास्त्रबारे सोधेका भए पनि म तत्काल केही भन्न सक्ने अवस्थामा हुने थिइनँ होला । झन् त्यसको अङ्ग्रेजी नै के हुन्छ भनेर सोधेपछि मलाई अप्ठ्यारो पर्यो । मैले भनेँ, “बाबु, यसको जवाफ म भोलि दिन्छु है, अहिले अलि हतारमा छु ।” उनले माने । ‘फारुशास्त्र’ का बारेमा चाहिँ उनी जानकार थिए कि थिएनन्, म भन्न सक्तिनँ, तर उनले त्यसको अङ्ग्रेजी मात्र सोधेकाले उनी त्यसका जानकार थिए कि जस्तो चाहिँ लाग्छ ।
अब मैले सबभन्दा पहिले ‘फारु’ र त्यसपछि ‘फारुशास्त्र’ मा पस्ने विचार गरेँ । ‘फारु’ को अर्थ त मलाई सानैदेखि थाहा भएकै हो । शब्दकोशमा ‘थोरै पैसा वा सीमित वस्तुले आवश्यक तथा बढी काम चलाउने किफायती काइदा, कम खर्च, मितव्ययिता’ भनेर ‘फारु’ को अर्थ दिइएको छ । ‘फारु’ का लागि ‘फारो’ शब्दको प्रयोग पनि हुने गरेकै छ ।
प्रश्न सोध्ने भाइलाई ता ‘फारुशास्त्र’ को अङ्ग्रेजी बताइदिए पुग्ने थियो, तर मैले त अब ‘फारुशास्त्र’ नै के हो भनेर बुझ्नुपर्ने भयो । यो शब्द मैले कता कता सुनेझैँ वा पढेझैँ पनि लाग्दै थियो । सम्झँदै जाँदा सम्झेँ, यो शब्द वरिष्ठ समालोचक रामकृष्ण शर्माले आफ्नो ‘दश गोर्खा’ भन्ने कृतिमा कतै प्रयोग गरेका थिए । उनले के प्रसङ्गमा त्यस शब्दको प्रयोग गरेका थिए भन्ने त मलाई सम्झना रहेन, तर त्यसबारे सोच्न भने निकै सघाउ नै पुग्यो भन्नुपर्छ ।
आज हाम्रो मुलुक जे कुरामा पनि आयातमुखी भएको छ । हरेक महिना यति र उति व्यापारघाटा भयो भनेर सुन्नु परिरहेको छ । सहरियाहरू विलासी जीवनतिर दिन दुई गुणा, रात चार गुणाका दरले लागिरहेका देखिन्छन् । ग्रामीण क्षेत्रमा बस्नेहरू पनि सकी नसकी सहरियाहरूकै सिको गर्न थालेका छन् । आजका नेपालीहरूमा ‘खाई न पाई, छालाको टोपी लाई’ भन्ने उखान लागु भएको देखिन्छ । सम्पन्नहरूले जे जे गर्छन्, त्यही त्यही गर्न खोज्दा कैयौँ विपन्नहरू झन् विपन्न हुँदै छन् । यो ज्यादै दु:खको कुरो हो ।
म देख्छु, एउटा कार्यक्रममा लगाएको पहिरन, अर्का कार्यक्रममा जाँदा पहिरनु नहुने अरे, नयाँ चाहिन्छ अरे । जुत्ताको कुरा पनि त्यस्तै छ । यसो गर्दा हिजो बजारबाट किनेर ल्याएको कपडा वा जुत्ता आज जडाउरीमा दर्ता हुन थाले । एकातिर देश विदेशी ऋणमा चुर्लुम्म डुब्दो छ भने अर्कातिर यस्तो आडम्बरी हरकत चलिरहेको छ । यस महाविकृतिलाई नियन्त्रण गर्ने कोही देखिएको छैन । अर्थशास्त्रमा सीमान्त उपयोगिता (marginal utility ) भन्ने पाठ पढाइन्छ । त्यसमा के भनिएको हुन्छ भने उपभोग्य वस्तुको उपयोग त्यसको अन्तिम सीमासम्म नै गर्नुपर्छ । सीमान्त उपयोगिताको यो अर्थ लागु हुन्थ्यो भने वस्तुको यति धेरै आयात गरिरहनु नै पर्दैनथ्यो । त्यसरी दिनैपिच्छे कपडा वा जुत्ता फेर्नुलाई सम्पत्तिको सदुपयोग भएको मान्न सकिएला ? व्यक्तिका लागि त त्यस्तो क्रियाकलाप सदुपयोग नै ठहरिएला, तर मुलुकका लागि भने त्यो चरम दुरुपयोग नै हो भन्ने मेरो ठहर छ । झन् अहिले त गाडी फेर्ने, घर फेर्नेजस्ता कुराको समेत होडबाजी चल्न थालेको छ ।
मेरा विचारमा फारुशास्त्रको अध्ययनले हामीलाई यसरी जीवन सञ्चालन गर्न निर्देश गर्दछ :
– आफूलाई न्यूनतम रूपमा आवश्यक हुने वस्तुको मात्र खरिद गरी त्यसको प्रयोग गर्न ।
– त्यो वस्तु टिकुन्जेल त्यसको प्रयोग गर्न ।
– आडम्बरी खानपान र वेशभूषालाई पूर्णत: नियन्त्रण गर्न ।
– खाद्यवस्तुको पूर्ण सदुपयोग गर्न ।
– मुलुक सम्पन्न हुँदै गएपछि मात्र आफ्नो आर्थिक जीवनशैलीमा नियन्त्रित रूपले परिवर्तन गर्दै लैजान ।
– बोल्ने कुरा कम र सुन्ने कुरा बढी गर्ने बानी बसाल्न ।
– संयमित बोली र व्यवहार गर्न ।
– पुराना वस्तुलाई पुन:संरचना ( recycle) गरी प्रयोगमा ल्याउन ।
– महत्त्वाकाङ्क्षाको सामान्यीकरण गर्न ।
– राष्ट्रलाई आर्थिक रूपले सबल बनाउन … ।
अब कुरो बाँकी रह्यो ‘फारुशास्त्र’ को अङ्ग्रेजी के हुन्छ भन्ने । मैले यसको सिङ्गाे शब्द त फेला पार्न सकिनँ । आफ्नै हिसाबले यसको अङ्ग्रेजी ‘Scripture of Economization’ होला कि भन्ने ठानेर प्रश्न सोध्ने भाइलाई यही भनिदिएँ । विद्वान् मित्रहरूबाट सिङ्गाे शब्द पाएँ भने भाइलाई फेरि बताइदिनेछु । पढिदिनुहुने सबै मित्रहरूलाई धन्यवाद ।
