आहार, निद्रा, भय र मैथुनका सापेक्षतामा मानिस र पशुपक्षी
आहार, निद्रा, भय र मैथुन यी चार कुरा मानिस र पशुपक्षीमा साझा हुन्छन् । त्यसैले यी चार कुरा मात्रै गर्ने मानिसहरूलाई पशुसमान हुन् भन्ने गरिएको छ । तर गढेर विचार गरेर हेर्ने हो भने मानिसलाई ‘पशुसमान’ भन्नु उसका लागि इज्जतकै बात पो हुने रहेछ किनभने प्राणीहरूमा विवेकी र उत्कृष्ट भनिने गरेको मानिस त हेर्दै लैजाँदा पशुभन्दा पनि निम्नस्तरको पो हुँदो रहेछ । यस कुरालाई स्वामीजीले यसरी सम्पुष्टि गर्नुभएको छ ।
सबै पशुपक्षीहरूको आहारा निश्चित हुन्छ । उनीहरू आफूलाई भोक लागेपछि ठिक्क आफू अघाउने खाना मात्र खाने गर्छन् । कुनै मिठो खानेकुरा खान पाउँदा पनि उनीहरू आफ्नो पेटलाई असजिलो हुने गरी खाँदै खाँदैनन् । ठिक्क मात्र खाने हुनाले उनीहरू मानिसका तुलनामा कम बिमारी हुन्छन् र मानिसले अकालमै मारिदिएन भन्ने उनीहरू आफूले पाएको पूरा आयु पनि बाँच्छन् ।
तर मानिसको आहार कहिल्यै निश्चित हुँदैन । कहिले अटेसमटेस हुने गरी खाएको छ, कहिले त्यत्तिकै सुकेको छ, कहिले कुन समयमा खाएको छ, कहिले कुन समयमा खाएको छ, खाने समय निश्चित गर्न कहिल्यै सकेन मान्छेले । असन्तुलित खानेकुरा जहिले पायो तहिले खाने हुनाले मान्छे प्राय: बिरामी भइरहन्छ । उसलाई अनेक रोगले आक्रमण गरिरहन्छन् । मान्छेलाई निको पार्न भनेर लाखौँ लाख अस्पताल बनेका छन् ।
कति मान्छे निको भएजस्ता पनि हुन्छन् तर अस्पतालबाट घर फर्केपछि पनि आफ्नो पुरानो गलत बानी छोड्न चाहँदैनन् । उनीहरू फेरि पनि त्यही वा अर्को रोगबाट आक्रान्त हुन सक्छन् । धेरै मानिसहरू आफ्नो आयु पूरा नहुँदै यस लोकबाट बिदा हुन्छन् । यदि आहारमा मानिस अनुशासित हुन सक्थे भने उनीहरू कति स्वस्थ हुन्थे होला ! कति सन्तुष्ट भई सुखी हुन्थे होला !
पशुपक्षीहरू निदाउनुपर्ने समयमा निश्चिन्त भएर निदाउँछन् । उनीहरूले जति समय निदाउनुपर्ने हो, मानिसले बाधा पुर्याएन भने उनीहरू त्यति समय मजाले निदाउँछन् । उनीहरूलाई स्वस्थ रहनामा उनीहरूको निश्चित समयको सुताइ र निदाइले प्रमुख भूमिका खेलेको हुन्छ ।
तर मानिसको सुत्ने र उठ्ने समयको कुनै समयसारिणी हुँदैन । कहिले आठै बजे सुतेको छ, कहिले गफ चुटेर एघार/बाह्र वा एक/दुई बजेसम्म पनि जागा बसेको छ । निद्रामा असन्तुलन हुनु भनेको विभिन्न रोगहरूलाई खुला निमन्त्रणा हो । अर्को कुरा, अनियमित किसिमको सुताइ भयो र भइरह्यो भने मानिस अल्छी हुँदै जान्छ । अल्छी हुनु भनेको गर्नुपर्ने काम समयमा गर्न नसक्नु वा नगर्नु हो । अब मानिस भएर जन्मनुको अर्थ के भयो ?
पशुपक्षीहरूलाई सुदूर भविष्यसम्मको भय अर्थात् डर कहिल्यै पनि हुँदैन । खान पाएनन् भने ती मर्लान् तर खान नपाइएला कि भन्ने भय तिनमा हुँदैन । उनीहरूलाई डर हुने भनेको त्यही क्षणमा आफूलाई आक्रमण गर्ने अन्य प्राणी निकट आएका बेला हो । त्यस्तो भयो भने उनीहरू भाग्छन् वा भाग्ने प्रयास गर्दछन् । धेरैजसो प्राणीहरू बरु मान्छेसँग नै बढी भयभीत हुने गर्दछन् ।
तर मान्छे पलपलमा भयभीत भइरहेको हुन्छ । अन्य हिंस्रक प्राणीहरूसँग डराउनुलाई कुनै अन्यथा लिनु आवश्यक छैन । तर मानिस मानिसदेखि नै भयभीत भइरहेको हुन्छ । असीमित कामना र चाहनाले ग्रस्त मान्छे सुख पाइएला भनेर भौतिक वस्तु सञ्चय गर्नतिर लाग्दछ, उसले ती चिज बटुल्छ पनि । अब ती चिज कसैले लगिदेला कि भन्ने उसलाई डर लाग्न थाल्छ ।
आफूले अरूको रिस गर्दै छु भन्ने थाहा नपाउने मान्छे आफूलाई अरूले रिस गर्दै छन् भनेर डराउँछ । चोर, डाका, बलात्कारी, हत्यारा, षड्यन्त्रकारी आदि आदि इत्यादि अपराधीहरू मान्छे नै हुने हुनाले मान्छेले मान्छेदेखि यसरी त्रस्त हुनुपरेको हो । जब भय स्थायी विशेषता भएर मान्छेमा बस्छ, तब मान्छेले आफूलाई एक निरीह प्राणीका रूपमा पाउँछ । अनि ऊ कसरी निर्भयतापूर्वक मानवोचित कार्य गरेर आफूलाई उत्कृष्ट प्राणीका रूपमा प्रमाणित गर्न सक्छ ?
अब रह्यो मैथुनको कुरो । पशुपक्षीहरू ऋतुकालमा मात्र मागका आधारमा मैथुनिक कार्य गर्दछन् । प्रकृतिले उनीहरूलाई सृष्टिको निरन्तरताका लागि मात्र यो कार्य गर्न प्रेरित गरेको हुन्छ । त्यसैले उनीहरू जहिले पायो तहिले, जहाँ पायो त्यहाँ यो क्रिया गर्दैनन् । उनीहरूका नियम-कानुन भनेका उनीहरू आफैँ हुन् । त्यसैले उनीहरूले गर्ने यौन क्रियाप्रति कसैले नियम- कानुनको छेकबार हाल्न सक्तैन । यस महान् अनुशासनको सहजात पालनाले गर्दा उनीहरू कहिल्यै तनावमा हुँदैनन् । फलस्वरूप उनीहरू मानिसले साथ दिएमा स्वस्थ भएर रहन सक्छन् ।
अब मानिस ? मानिसले त मैथुनलाई नै जीवनको पूर्ण सार्थकता र अन्तिम लक्ष्य ठानेको छ । उसलाई ऋतुकालको माग के हो त्यसको खासै चासो रहेको देखिँदैन । नियम- कानुनको आवरण नहुने हो भने उसले यो कार्य कतिसम्म गर्दो हो, कल्पनासम्म पनि गर्न सकिँदैन । सभ्य प्राणीका रूपमा रटान लगाइँदै आएको मानिस सबैभन्दा बढी बदनाम यसैका कारणले हुँदै आएको छ । आफूलाई बुज्रुग भनाउन चाहनेहरू यौनक्रियातिर सङ्केत गर्दै खुलै रूपमा भन्दै हिँड्छन्, “पृथ्वीमा मानिस नै खोज्नुपर्छ, देवता खोज्नु हुँदैन ।” यो कुरो यस्तै हो ।
उपर्युक्त भनाइबाट हामी के निष्कर्षमा पुग्दछौँ भने धेरै कुरामा मानिसको स्तर पशुपक्षीको स्तरभन्दा पनि तल रहेछ भन्ने देखिन्छ । यदि मानिसले आफूलाई सम्पूर्ण पशुपक्षीहरूभन्दा श्रेष्ठ साबित गर्न चाहन्छ भने उसले मानिसबाट होइन, पशुपक्षीहरूबाट धेरै उन्नत कुरा सिक्न सक्ने देखिन्छ ।
चेतनशील र बुद्धिमान् भनिने मानिसको कुरा यस्तो र मूर्ख र चेतनाहीनका रूपमा परिभाषित पशुपक्षीको कुरा यस्तो छ । कस्तो विडम्बना !!
(स्वामी हरिदासज्यूको प्रवचनमा आधारित )
