व्यक्ति-कल्पनाको विश्वविद्यालय
अचेल बेलुका गर्मीले गर्दा हत्तपत्त निदाउन सकिँदैन । हिजो बेलुका पनि त्यस्तै भयो । ओछ्यानमा पल्टेर मात्र के गर्नु, निदाउन सकिने होइन । बरु मनमा अनेक थरी कुरा खेल्न थाले । … नेपालमा निकैओटा विश्वविद्यालय स्थापित भइसके, तर कुनै पनि विश्वविद्यालयमा अपेक्षित सङ्ख्यामा विद्यार्थी भएको सुनिँदैन । अझै विश्वविद्यालय थप्ने चर्चा पनि यदाकदा सुनिँदै छ । कक्षा १२ पछि विदेश लाग्ने विद्यार्थीहरूको लर्को पनि थामिसक्नु छैन । भएका विश्वविद्यालय थाम्न त नसकिने स्थिति भइरहेका बेला अरू विश्वविद्यालय थप्नु कति सान्दर्भिक र व्यावहारिक होला … !
***
आहा ! कस्तो भव्य विश्वविद्यालय ! जब विश्वविद्यालयको परिचयपाटी ( sign board ) मा मेरा आँखा परे, म त आश्चर्यचकित नै भएँ । विश्वविद्यालयको नाम थियो – आचार विश्वविद्यालय ( Conduct University ) । यस्तो नाम भएको विश्वविद्यालय पनि कतै होला भन्ने मनअंशमा नै थिएन । यसबारे बुझ्नु पो पर्यो भनेर प्रवेशद्वारतिर लागेँ । त्यहाँ सुरक्षाकर्मी भएर पनि उनले कुनै रोकटोक गरेनन् र म भित्र पसेँ । ज्यादै फराकिलो विश्वविद्यालय परिसर । भव्य अग्लो पर्खालले घेरिएको । भित्री सडक अत्यन्त सफा । ठाउँ ठाउँमा पानीका फोहरा । बगैँचामा अनेकौँ थरी फूल फुलेका । मध्यम उचाइका रुखहरूले गर्दा सबैतिर शीतलताको अनुभूति भइरहने । सारमा त्यो ठाउँ छोडेर कहिल्यै बाहिर निस्कनु नपरोस् जस्तो लाग्ने ।
मलाई सोधपुछ कक्षमा गएर केही कुराको जानकारी लिने इच्छा भयो । अन्यत्र जस्तै सोधपुछ कक्ष पायक पर्ने ठाउँमै रहेछ । त्यहाँ एक जना महिला कर्मचारी रहिछन् । उनलाई मैले भनेँ, “म्याडम, यो विश्वविद्यालय मलाई अलि नयाँजस्तो लाग्यो । यसको आवश्यकता किन भयो होला ? अनि यहाँ कस्ता कस्ता विषय राखिएका होलान् ?” उनले मुस्कुराउँदै भनिन्, “धन्यवाद, हाम्रो विश्वविद्यालयमा आएर यसबारे जिज्ञासा राख्नुभएकामा ।”
“पल्लो दुई नम्बर कोठामा गएर फोटो खिचाउनुहोस्, अनि तपाईँले जे जे सोध्ने विचार गर्नुभएको छ, ती सबै कुरा स्मार्ट बोर्डमा लेख्नुहोस् । तपाईँले लेखिसकेको एक मिनेटपछि chat gpt ले तपाईँले सोधेका प्रश्नको उत्तर दिन थाल्छ । कि तपाईँ मौखिक नै सोध्न चाहनुहुन्छ ?” “म मौखिकै सोधेर उत्तर प्राप्त गर्न चाहन्छु, म्याडम”, खुसी हुँदै मैले भनेँ । उनले भनिन्, “त्यसो भए तपाईँले लेखिरहनु परेन । आफ्नो मोबाइल अन गरेपछि तपाईँका सबै जिज्ञासा पूरा हुनेछन् । QR बाट पासवर्ड लिनुहोला । तपाईँको सबै काम त्यही दुई नम्बर कोठाबाट पूरा हुन्छ ।”
म उनले भनेका कोठामा गएँ । मैले के सोध्ने भनेर तयारी पनि गर्नु थियो । तर फोटो खिचाएर मात्र सोध्ने कुराको तयारी गर्दा उपयुक्त होला जस्तो लाग्यो । त्यहाँ click for taking photo भन्ने एउटा यन्त्र देखेँ । त्यस कोठामा कुनै मानिस थिएन । त्यसमा click गरेपछि फोटो प्रस्टसँग आएको देखियो । भयो त होला नि भनेर अब प्रश्न type गर्नतिर लागेँ ।
१. आचार विश्वविद्यालयको आवश्यकता किन पर्यो ?
२. यसमा कुन कुन विभाग छन् ?
३. यहाँ पठनपाठन कसरी हुन्छ ?
तत्काल यति प्रश्न भए पुग्छ जस्तो लाग्यो । अरू जिज्ञासा भए पछि पछि पनि त आउन सकिएला नि भन्ने लाग्यो र gpt सँग chat गर्न मोबाइलमा search गरेँ र सोझै माथिका तीन प्रश्न गरेँ ।
अब उसले एक/एक प्रश्नको जवाफ दिन थाल्यो, यसरी ।
मेरो पहिलो प्रश्नको जवाफ उसले यसरी दियो :
“अहिले समाजमा अनुशासनहीनता बढ्दै गयो । देखाउनका लागि नीतिनियम बनाइए पनि तिनको पालना हुन छाेड्याे । धोका र विश्वासघात चरमचुलीमा पुग्यो । पतिपत्नीमा जुन सौहार्द हुनुपर्थ्यो, त्यो हुन छाेड्याे । सम्बन्ध-विच्छेद कति बढेर गयो भने त्यसलाई कायम राखेर परिवारलाई मजबुत बनाउन कसैको केही नलाग्ने अवस्था देखिन थाल्यो । वार्धक्य जीवन अति नै सङ्कष्टमय बन्न थाल्यो । हत्या, हिंसा, बलात्कार, लुटपाट, ठगी, भ्रष्टाचार, षड्यन्त्र आदिबाट समाज र राष्ट्र नै नराम्रोसँग आक्रान्त हुने स्थिति पैदा भयो । यसले गर्दा सुन्दर समाज निर्माण गर्नुपर्छ भन्ने चेतना भएका चिन्तकहरूले के विचार गरे भने मानिसलाई भित्रैदेखि विशुद्ध बनाउन एउटा भिन्नै प्रकृतिको विश्वविद्यालयको स्थापना गरी उपयुक्त किसिमको पाठ्यक्रम निर्माण गर्ने र तदनुरूप व्यावहारिक ढङ्गले पठनपाठन गर्ने । मानवलाई मानवीय गुणले युक्त बनाएर समाज र राष्ट्रलाई भरपर्दो ढङ्गले समृद्ध बनाउने यस विश्वविद्यालयको गन्तव्य मानिएको छ ।”
मेरो दोस्रो प्रश्नको जवाफ उसले यसरी दियो :
“१. सदाचार विभाग ( Department of Virtue)
२. शिष्टाचार विभाग ( Department of Etiquette)
३.संयम विभाग ( Department of Restraint)
४. मानवतावाद विभाग ( Department of Humanitarianism)
५. यौन व्यवस्थापन विभाग ( Department of Sex Management)
६. नैतिकता र अनुशासन विभाग ( Department of Morality and Discipline )
७. योग- प्राणायाम विभाग ( Department of Mental Concentration and Breath Exercise )
८. ध्यान विभाग ( Department of Meditation)
९. आत्मशुद्धि विभाग ( Department of Self-purification)
१०. मानवधर्म विभाग ( Department of Humane Righteousness )
११. विवेक विभाग ( Department of Conscience )
१२. भाषा विभाग (Department of Languages )”
उसले यति भनिसकेपछि मैले यसमा “पूरक प्रश्न गर्न सकिन्छ ?” भनेर सोधेँ । उसले “सकिन्छ, सोध्नू” भन्यो । मैले सोधेँ, “तपाईँले विश्वविद्यालयका जुन जुन विभागको जानकारी गराउनुभयो, ती त एक/दुई वाक्यमै पूरा हुने जस्ता देखिन्छन् । अनि तिनको विस्तार कुन हिसाबले गरियो ?”
उसले भन्यो, “हामीलाई अल्पज्ञानका कारणले त्यस्तो लागेको हो । यस संसारमा अध्ययन-अनुसन्धान गरेमा जुनसुकै विषय पनि विशाल हुन्छन्, विस्तृत हुन्छन् । नत्र अमिबा जीवमा कसैले विद्यावारिधि गर्न सक्थ्यो होला ? गरेका छन् त ।”
“अब तेस्रो प्रश्नको उत्तर भनूँ ?” उसले अनुमति माग्यो । मैले “हुन्छ” भनेपछि उसले तेस्रो प्रश्नको उत्तर यसरी दियो :
“यहाँ आधुनिक सूचना प्रविधिको प्रयोग गरी अध्यापन गरिन्छ । विश्वविद्यालय आउन भ्याउनेहरू सशरीर उपस्थित भएर सिक्छन्, नभ्याउनेहरूले पनि अनिवार्य रूपले निर्धारित समयमा अनलाइन कक्षामा उपस्थित हुनै पर्छ । ऊ जुन भाषामा पढ्न चाहन्छ, त्यही भाषामा पढ्न पाउँछ । यसमा परियोजना कार्य र कार्यमूलक अनुसन्धान भारी मात्रामा गर्नुपर्ने हुन्छ । प्रयोगात्मक कार्यलाई केन्द्रीय प्राथमिकता दिइन्छ … ।”
***
चट्याङ परेर कान थर्किएपछि बिउँझँदा त चार बज्न लागेको रहेछ । केही बेर त किंकर्तव्यविमूढ नै पो भइयो । त्यसपछि बिस्तारै सामान्य अवस्थामा आइयो ।
