असार सकियो, अझै टुंगिएन शिक्षा विधेयक

काठमाडौं। असार १५ भित्रै पारित गर्ने भनिएको विद्यालय शिक्षा विधेयक अझै अनिश्चित बनेको छ। असार मसान्त सकिँदा पनि सरकार र शिक्षक महासंघबीच सहमति नजुटेपछि विधेयक अलपत्र परेको हो।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयक लगभग अन्तिम चरणमा पुगिसकेको थियो। तर शिक्षामन्त्री रघुजी पन्तले असार २२ गते समितिमा पाँच दिनको समय मागेपछि प्रक्रिया रोकिन पुगेको हो। त्यो अवधि पनि सकियो, तर सहमति जुटेन।

समितिका सभापति अम्मरबहादुर थापाका अनुसार असार ३२ गते बोलाइएको बैठकसमेत मन्त्रीको व्यस्तताका कारण स्थगित भएको छ। थापाले सरकार र महासंघ दुबैको अडानका कारण विधेयक रोकिएको बताएका छन्।

शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने विधेयकमा मन्त्रालयले विगतमा गरेका २७ बुँदे सहमति समेटे मात्र समर्थन हुने बताए। ‘नयाँ माग गरेका छैनौं, सहमति पालना भए पुग्छ,’ सुवेदीको भनाइ छ।

महासंघले सरुवा, बढुवा र वृत्ति विकास संघीय कानुनअनुसार हुनुपर्ने, राहत र अस्थायी शिक्षकलाई उमेर हद नराखी ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्ने अडान राख्दै आएको छ। तर समितिमा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाको सहमति बनेको छ।

त्यस्तै, माध्यमिक तहसम्मको शिक्षा अधिकार स्थानीय तहलाई दिने विषयमा पनि मतभेद कायम छ। ईसीडी शिक्षकलाई ‘शिक्षक’ मान्ने नमान्ने विषयमा समेत सहमति जुट्न सकेको छैन।

सरकार, समिति र महासंघबीच सहमति नजुटेपछि शिक्षा विधेयक पुनः अन्योलमा परेको छ।

बोल्यो शिक्षक महासंघ, ‘विधेयकमा सहमति नसमेटिए कडा आन्दोलन’

विधेयक रोकिएपछि आन्दोलनको तयारीमा शिक्षक महासंघ

राहत शिक्षक आन्दोलित, शिक्षा विधेयकलाई ‘कालो विधेयक’ को संज्ञा

विद्यालय शिक्षा विधेयक अन्योल : शिक्षकसँगको सहमति अझै अधुरो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *