पूर्वराष्ट्रपति भण्डारीले सबै सरकारी सुविधा फिर्ता गर्ने
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै सरकारी सेवासुविधा फिर्ता गर्ने तयारी गरेकी छन् । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी उनले सरकारी सुविधा फिर्ता गर्ने भएकी हुन् ।
आगामी १ साउनदेखि लागू हुनेगरी सेवासुविधा फिर्ता गर्ने तयारी भएको र त्यसअनुसारको पत्र पूर्वराष्ट्रपति भण्डारीले सरकारर्लाइ पठाउने तयारी गरेको जनाइएको छ ।
भण्डारीलाई सरकारले दुई जना स्वकीय सचिवको तलब र सुरक्षाकर्मी बस्ने घरको भाडावापत रकम दिने गरेको छ । गाडीको इन्धन खर्च पनि सरकारले दिंदै आएको छ ।
यसबाहेकको सुविधा उनले कार्यकाल सकिएर शीतल निवासबाट बाहिरिएपछि फिर्ता गरेकी थिइन् । त्यसयता भण्डारीले सरकारले दिने तलब, निवास खर्च लगायत लिएकी छैनन् ।
असार १४ गते मदन भण्डारी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले पार्टीको सदस्यता नवीकरण गरेको जानकारी दिंदै एमालेको सक्रिय राजनीतिमा लाग्ने घोषणा गरेकी थिइन् ।
