‘देशभित्र घुम्न मैले पार्टी वा नेताको अनुमति लिनु पर्दैन’

विराटनगर। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने चर्चाका बीच अनेक टिप्पणी भइरहेका छन्। उनी यो साता पूर्वका विभिन्न ठाउँ घुमेर नेता–कार्यकर्तासँग अनौपचारिक भेटघाट गरेकी छन्।

विराटनगरमा भएको स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन र झापामा आयोजित विद्यार्थीको विज्ञान प्रदर्शनीमा उनी प्रमुख अतिथिका रुपमा सहभागी भइन्।

भण्डारीको यो सक्रियताले नेकपा (एमाले) मा एकखाले तरंग नै ल्याएको छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कतिपय नेता गुटबन्दी गर्दै हिंडिरहेको भनेर टिप्पणी गरे। ओलीको उक्त भनाइ भण्डारीप्रति लक्षित मानिएको छ।

मंगलबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भण्डारीले आफू गुटबन्दीमा नलागेको प्रष्ट पारेकी छन्।

राष्ट्रिय राजनीतिमा आउने चर्चाका बीच उनले नेपाली विशेषताको समाजवादी अवधारणलाई कार्यान्वयन गर्नु र मुलुकको समृद्धिका लागि काम गर्नुपर्ने उल्लेख गर्दै यसैका लागि आफूले प्रयास गर्ने बताइन्।

काठमाडौंमा ओलीले दिएको अभिव्यक्ति आफूलाई नै तोकेर भनेजस्तो नलागेको उनले बताइन्। आफू पहिलेदेखि नै मूलधारको राजनीतिमा लागेको मान्छे भएकाले गुटबन्दी गर्यो भन्न नमिल्ने भण्डारीको भनाइ छ।

‘सक्रिय राजनीतिमा आउँदा अध्यक्ष म हुने कुराले अरु आकांक्षीहरुलाई मनमा केही प्रश्न उठाएको हुन सक्छ’ उनले भनिन्, ‘त्यसैलाई भनेको पो हो कि?’ आफूले त्यस्तो कुनै व्यक्तिगत आकांक्षा नराखेको तर राष्ट्रिय आकांक्षा पूरा गर्न जहाँ जसरी भए पनि काम गर्ने उनले बताइन्।

‘नेकपा एमालेका अध्यक्षज्यूले विद्या भण्डारीलाई प्रतिस्पर्धी देखेर यस्ता धारणा राखिरहनु भएको छ भन्ने मलाई पटक्कै लाग्दैन’ सञ्चारकर्मीको जिज्ञासामा उनले भनिन्, ‘मैले विश्लेषण गर्दा, महाधिवेशन आउँछ। त्यसमा नेतृत्व निर्माण हुन्छ। त्यसो हुँदा तिमीहरु चिन्ता नगर, हामी मिलाएर गर्छौं भनेर कार्यकर्तालाई उहाँले आश्वस्त पार्न खोजेको हुन सक्छ।’

आफू राष्ट्रपति भइसकेको साथै समाजका अरु क्षेत्रहरुसँग पनि परिचित भएको हुनाले कार्यक्रमहरुमा बोलाउनु स्वाभाविक भएको र त्यसैले आफू सहभागी हुने गरेको भण्डारीले बताइन्।

‘मैले पनि समाजसँग साक्षात्कार त गर्दै गर्नु पर्यो। भेटघाट गर्दै गर्नु पर्यो। के छ समाजको अवस्था, युवा पुस्ता के भन्छन् भन्ने बुझ्नुपर्छ’ उनले भनिन्, ‘त्यो हिसाबले देशभित्र घुमफिर गर्न मैले पार्टीको, नेताहरुको अनुमति लिइरहनु पर्दैन।’

नेपालमा वाम एकताको निकै पहिलेदेखि चर्चा परिचर्चा भइरहेको भन्दै भण्डारीले समयक्रम र आवश्यकता अनुसारको कुरा भए पनि यसअघि गरिएको एकता अहिलेसम्म नटिकेको बताइन्।

‘म वाम एकता भइहाल्ला भन्ने कुरामा त्यति आश्वस्त छैन’ उनले भनिन्, ‘विश्वासको ठूलो संकट छ पार्टी पार्टीहरु बीचमा। नेतृत्वको कुरा बाहिर ककसले केके भनिरहेका हुन्छन् त्यो खासै ठूलो कुरा भएन। अहिले त्यस्तो छैन। बरु वामबन्थी मात्र होइन राष्ट्रिय एजेन्डामा छलफल गरेर अरु, अहिलेका नयाँ पार्टीसँग पनि सहकार्य गर्दा मुलुकको समृद्धिका लागि राम्रो हुन सक्ला भन्ने लाग्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *