बलात्कारपछि ७ वर्षीया भतिजीको हत्या

विराटनगर । मोरङको धनपालथानकी नाबालिकाको हत्यामा उनकै काकाको संलग्नता रहेको खुलेको छ । बलात्कारपछि भतिजीको हत्या गरेर घटना लुकाउन शव फालिदिएको प्रहरीको भनाइ छ । आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनपालथान गाउँपालिका–५ की अक्षय सरदारकी ७ वर्षीया छोरी आत्तिका सरदार शनिबार बिहान ४ः४५ बजेतिर गाउँकै रंगपुर वैरियास्थित दुर्गा आधारभूत विद्यालयको बाटोछेउ मृत अवस्थामा फेला परेकी थिइन् । उनको अनुहारसहित शरीरभरि चोट देखिएको थियो ।

घटनाको अनुसन्धान गर्दै जाँदा नाबालिकाका कान्छा काका २२ वर्षीय अनिष सरदारमाथि शंका लागेर प्रहरीले पक्राउ गरेको थियो । प्रहरीसमक्ष अनिषले अघिल्लो साँझ मदिरा सेवन गरेको बताएका छन् ।

प्रहरी अनुसार शवको प्रकृति हेर्दा मुख थुनेर वा घाँटी बटारेर हत्या गरेजस्तो देखिन्छ । भतिजीको शव फालेर आएपछि अनिष घरमै बसेका थिए । आत्तिकाका बाबुआमा उक्त दिन कामका लागि बाहिर गएका थिए ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार हत्यासँग सम्बन्धित थप प्रमाण जुटाउने काम भइरहेको छ । अनुसन्धानमा संलग्न प्रहरीले घटनासँग सम्बन्धित धेरै पक्षले बालिकाको हत्यामा उनकै काकाको संलग्नता देखिने बताएका छन् ।

आरोपीलाई मोरङ जिल्ला अदालत उपस्थित गराएर ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) र हाडनाता करणीसम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान जारी राखिएको डीएसपी चुँडालले जानकारी दिइन् ।

बलात्कारपछि आफन्तबाटै हत्या, ५ जना पक्राउ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *