बलात्कारपछि आफन्तबाटै हत्या, ५ जना पक्राउ
काठमाडौं । बलात्कारपछि भएको किशोरीको हत्यामा उनकै आफन्त संलग्न रहेको खुलेको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-५ कोलगाउँमा १६ वर्षीया निशा तामाङको बलात्कारपछि हत्या भएको थियो ।
उक्त घटनामा संलगन रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोटेकोशी गाउँपालिका–५ मार्मिङका २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङ छन् ।
असार १० गते राति ९ बजेतिर घरबाट बोलाएर आरोपीहरूले मकैबारीमा बलात्कारपछि हत्या गरेको अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ । हत्या गरेपछि भिरालो ठाउँबाट शव फ्याँकेर उनीहहरू घर फर्केको खुलेको सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्कीले जानकारी दिए ।
घटनाको अनुसन्धानका क्रममा तालिमप्राप्त कुकुर प्रयोग गरिएको थियो । ‘टाइगर’ र ‘रोज’ नामका कुकुर अनुसन्धानका क्रममा प्रयोग गरिएको थियो । टाइगर निमाको घर वरिपरि घुमेको थियो । निमाले अघिल्लो रात लगाएको कपडा घरको कुनामा राखेका थिए ।
यही क्रममा अनुसन्धान अधिकृतहरूले निमालाई पक्राउ गरे । पक्राउ परेपछि निमाले घटनामा संलग्नता स्वीकार्दै ५ जना मिलेर हत्या गरेको प्रहरीलाई बयान दिएका थिए ।
निमाकै बयानको आधारमा अरू ४ जनालाई पक्राउ गरिएको हो । बलात्कारपछि घाँटी थिचेर हत्या गरेको उनीहरुले स्वीकारेका छन् । मृतक किशोरी स्थानीय पदम बहादुरकी छोरी हुन् । उनी ७ कक्षामा पढ्थिन् । हत्यामा संलग्न आरोपीहरू उनका आफन्त पर्ने प्रहरीले जनाएको छ ।
