शिक्षा विषयबाहेक पढ्नेलाई पनि शिक्षक बन्न अवसर
काठमाडौं । विद्यालय शिक्षा विधेयकमा शिक्षक अध्ययन अनुमतिपत्र (लाइसेन्स) लिनुपर्ने प्रावधान राख्ने सहमति भएको छ । विधेयकलाई अन्तिम रुप दिन संसदीय समितिमा भइरहेको छलफलमा यस्तो सहमति गरिएको हो ।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय तहको शिक्षक हुन शिक्षा संकायबाहेक अरु विषय पढेकाले पनि अवसर पाउने सहमति जुटाएको छ ।
शिक्षक सेवा आयोगले लिने लाइसेन्सको परीक्षा भने अनिवार्य गरिएको छ ।
यसैगरी, हरेक शिक्षकले पाठ्यक्रम परिवर्तन गर्दा वा प्रत्येक पाँच वर्षमा सरकारले तोकेको पुनर्ताजगी तालिम लिनुपर्ने व्यवस्था पनि गरिने भएको छ ।
पाठ्यक्रम परिवर्तन हुँदा वा लामो अवधिसम्म तालिमविहीन हुँदा अद्यावधिक नहुने भन्दै यस्तो व्यवस्था गर्न समितिका सदस्यबीच सहमति भएको जनाइएको छ ।
शिक्षकलाई पुनर्ताजगी तालिम दिने जिम्मेवारी तीन तहकै सरकारलाई दिने व्यवस्था गरिएको छ । विद्यालय शिक्षा विधेयकलाई आजै टुंग्याएर प्रतिवेदनसहित संसद्मा पेश गर्ने तयारी भइरहेको समितिका सदस्यले जानकारी दिएका छन् ।
