शिक्षकको आवधिक बढुवा र अस्थायी सेवा अवधि गणनामा सहमति
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शिक्षकको आवधिक बढुवा र अस्थायी सेवा अवधि गणनामा सहमति जुटेको छ । विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन शनिबार बसेको समितिको बैठकमा यस्तो सहमति जुटेको हो ।
शिक्षकको आवधिक बढुवाद्वारा पदपूर्ति गर्दा तृतीय श्रेणीको पदमा १० बर्ष र द्वितीय श्रेणीको पदमा १२ बर्ष सेवा अवधि पूरा गरेको शिक्षक आवधिक बढुवाको लागि योग्य हुने विषयमा सहमति जुटेको जनाइएको छ ।
समितिका एक सदस्यका अनुसार अस्थायी सेवा अवधि गणनामा पनि सहमति जुटेको छ । त्यसअनुसार २०७५ साल चैत मसान्तसम्म स्थायी नियुक्त भएका शिक्षकको निवृत्तिभरण र उपदान प्रयोजनका लागि नपुग सेवा अवधि अस्थायी सेवा अवधिबाट गणना गरिने जनाइएको छ ।
विधेयकलाई अन्तिम रुप दिन समितिको बैठक जारी छ । आजै भएको छलफलमा जिल्ला शिक्षा समन्वय इकाई राख्ने सहमति भएको छ । विधेयकमाथि संसदीय समितिमा भइरहेको छलफलमा यो सहमति गरिएको हो ।
यसअघि संसदीय उपसमितिले विधेयकमा छलफल गरी समितिसमक्ष प्रतिवेदन बुझाएको थियो । त्यही प्रतिवेदनमाथि समितिमा छलफल जारी छ । सिंहदरबारस्थित कार्यालयमा विधेयकलाई अन्तिम रुप दिन शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक जारी छ ।
समितिका एक सदस्यका अनुसार संविधानअनुसार मिलाएर नबाझिने गरी जिल्ला शिक्षा कार्यालय राख्ने सहमति भएको हो । छलफलका क्रममा पहिले सहमति जुट्न नसकेका विषयहरुले प्राथमिकता पाएका छन् । यसअघि आजै शिक्षामन्त्री रघुजी पन्तको प्रस्तावमा माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई विधेयकमा समेटिएको छ । त्यसअनुसार प्रदेशस्तरमै एसईई गर्ने भनिएको छ ।
समितिमा सकेसम्म आजै छलफल टुंग्याएर विद्यालय शिक्षा विधेयक पारित गरी प्रतिनिधि सभामा पठाउने तयारी गरिएको ती सदस्यले जानकारी दिए । आन्दोलनरत शिक्षकसँग सरकारले वार्तामा गरेको सहमतिअनुसार असार १५ गते (भोलि अइतबार) सम्म विद्यालय शिक्षा विधेयक संसदबाट पारित गर्ने भनिएको थियो ।

ठीक छ भोलि बिधेयक पारित भएपछि दिप प्रज्वलन गर्ने वातावरण मिलोस्।