शिक्षा विधेयक : शिक्षा समन्वय इकाई राखिने
काठमाडौं । विद्यालय शिक्षा विधेयकमा जिल्ला शिक्षा समन्वय इकाई राख्ने सहमति भएको छ । विधेयकमाथि संसदीय समितिमा भइरहेको छलफलमा यो सहमति गरिएको हो ।
यसअघि संसदीय उपसमितिले विधेयकमा छलफल गरी समितिसमक्ष प्रतिवेदन बुझाएको थियो । त्यही प्रतिवेदनमाथि समितिमा छलफल जारी छ । सिंहदरबारस्थित कार्यालयमा विधेयकलाई अन्तिम रुप दिन शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक जारी छ ।
समितिका एक सदस्यका अनुसार संविधानअनुसार मिलाएर नबाझिने गरी जिल्ला शिक्षा कार्यालय राख्ने सहमति भएको हो ।
छलफलका क्रममा पहिले सहमति जुट्न नसकेका विषयहरुले प्राथमिकता पाएका छन् । यसअघि आजै शिक्षामन्त्री रघुजी पन्तको प्रस्तावमा माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई विधेयकमा समेटिएको छ । त्यसअनुसार प्रदेशस्तरमै एसईई गर्ने भनिएको छ ।
समितिमा सकेसम्म आजै छलफल टुंग्याएर विद्यालय शिक्षा विधेयक पारित गरी प्रतिनिधि सभामा पठाउने तयारी गरिएको ती सदस्यले जानकारी दिए ।
आन्दोलनरत शिक्षकसँग सरकारले वार्तामा गरेको सहमतिअनुसार असार १५ गते (भोलि अइतबार) सम्म विद्यालय शिक्षा विधेयक संसदबाट पारित गर्ने भनिएको थियो ।
