संसदमा पुग्दै शिक्षा विधेयक
काठमाडौं । विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन संसदीय समितिको बैठक बसिरहेको छ । सकेसम्म आज शुक्रबारै छलफल टुंग्याएर विधेयकलाई प्रतिनिधिसभामा पेश गर्ने तयार भइरहेको जनाइएको छ ।
संसदमा पेश भएपछि संसदमा पनि छलफल हुनेछ । त्यहाँबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरणपछि शिक्षा ऐ्न कार्यान्वयनमा आउने छ ।
निजी विद्यालयहरू सार्वजनिक गुठीमा जान चाहे विभिन्न छुट तथा सुविधा दिने प्रस्ताव संसदीय समितिमा पेश गरिएको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शुक्रबारको बैठकमा यो प्रस्तावमाथि छलफल अघि बढेको हो ।
बैठकमा समिति सभापति अम्मरबहादुर थापाले निजी विद्यालयहरू सार्वजनिक गुठीमा जान चाहे दिन सकिने छुटसम्बन्धी प्रस्ताव पेश गरेका हुन् । सभापति थापाले राखेको प्रस्तावमा निजी लगानीका विद्यालय सार्वजनिक शैक्षिक गुठीमा रुपान्तरण भई सञ्चालन हुन चाहेमा त्यस्तालाई प्रोत्साहन गर्न प्रचिलत कानुनबमोजिम विभिन्न छुट तथा सुविधा दिने उल्लेख छ ।
‘निजी लगानीका विद्यालय सार्वजनिक शैक्षिक गुठीमा रुपान्तरण भई सञ्चालन हुन चाहेमा त्यस्तालाई प्रोत्साहन गर्न प्रचिलत कानुनबमोजिम देहायको छुट तथा सुविधा दिन सकिनेछ’ उक्त प्रस्तावमा भनिएको छ, ‘जग्गा रजिस्ट्रेशन दस्तुर, विद्यालय प्रयोजनका लागि सवारीसाधन आयात गर्दा लाग्ने भन्सार महसुल, शैक्षिक सामग्री तथा प्रयोगशालामा प्रयोग हुने अन्य सामग्री आयात गर्दा लाग्ने भन्सार महसुल छुट दिइनेछ ।’
कसैले निजी लगानीमा विद्यालय खोल्न चोहमा तोकिएको विवरणलाई सम्बन्धित स्थानीय तहमा निवेदन दिनुपर्ने, कम्पनी वा शैक्षिक गुठी कुन हो निवेदनमा उल्लेख गर्नुपर्ने, निजी लगानीका विद्यालय सञ्चालन गर्दा लोकल्याणकारी र सेवामूलक बनाई सञ्चालन गर्नुपर्ने पनि उल्लेख गरिएको छ ।
असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धतासहित सरकारले आन्दोलनरत शिक्षकहरूसँग सहमति गरेको थियो । त्यसअघि संसदस्य उपसमिति अनि समितिमा छलफल गरी विधेयकलाई अन्तिम स्वरुप दिने तयारी भइरहेको हो ।
