तिमी कहाँ छौ ?

सहरमा सल्किएको
आगो दन्किँदै फैलिएर
तिम्रो सपनाको मन्दिरलाई
जलाउन खोज्दैछ ।
सपनाहरू डरले आत्तिएर
लगलग काँप्दैछन्।
विषालु धुवाँ फैलिएर
सहरदेखि गाउँ पाखा
तथा बस्ती बस्ती हुँदै
अब आकाशसम्मलाई
आफ्नो चपेटमा लिँदैछ ।
यसको प्रकोपबाट पीडित
छातीहरुले गुहार माग्दै
आकाशमा उदाएका
ताराहरूको बीचमा
तिमीलाई नियाल्दै छन्
तिमीलाई खोज्दैछन्
तिमी कहाँ छौ ?
यी कोटी कोटी ताराहरूमा
कुन तारा तिमी हौ ?
भनन ! तिमी कहाँ छौ ?

मसानघाटबाट निस्किएको
भयभीत आवाजहरू जस्तै
कैयौँ करूण चित्कारहरु
एकाएक कानमा ठोकिँदै
गुन्जिरहन्छन्
बैँसालु रातहरूका
रिक्त उदास धुनहरू
मुर्दाहरूको बस्तीमा
केही जीवित प्राणहरू
आफैँलाई जिन्दगी र
मृत्युको दोभानमा उभाएर
सत्य र तथ्यको अनुसन्धान हेतु
लागी परेका छन्।
असत्य, अधर्म र अन्यायको
रङ्ग, रूप र ओजन
जान्न खोजिरहेका छन्।
जथाभावी अस्तव्यस्तता
पसारिएको छ।
आँखामा कालो पट्टी बाँधेर
आएको अन्धो समय
भरोसाको दैलोमा ठिङ्ग
उभिएको छ।
बदलिँदो परिस्थितिको
हुरीले आशाको दीपक
निभाउन खोज्दैछ ।
काश ! तिमी भएको भए !
तिमी भएको भए
निभ्न लागेको दीपक
तिम्रो हत्केलाभित्र
सुरक्षित हुन्थ्यो कि?
तिम्रो अनुपस्थितिमा
यो मन किन हो किन
धेरै डराएको छ ।
मन आत्तिएर
सदबुद्धि हराएको बेला
झिनो निश्वास छोड़ेर
तिमीलाई मनभरि सम्झेको छु,
भनन ! तिमी कहाँ छौ ?

आँखाले लछेप्रै छेपेको
शङ्का उपशङ्काका रङ्गहरू
बिचारका भित्ताहरुमा
जताततै लत्पतिएको छ ।
ईष्र्याहरू पचाउन नसकेर
क्रोधले ओकलेका घृणाहरू
शहरको अनुहारभरि पोखिएर
सहरलाई नै कुरूप पारेको छ ।
यसरी गुङ्गाहरूको सहर अब
अमिलो गनाउने भएको छ ।
फिका रङ्गको खुशी अनि
ओठमा झुटो मुस्कान पोतेर
चिरपरिचित अनुहारहरु
प्रतिद्वन्द्वीको भीडमा
उभिएका छन्।
आफ्नै रहरलाई तृप्त पार्न
कर्तव्य र दायित्वको भारी बोकेर
थाकेका डढालोहरू
बिसाउने ठाउँ खोज्दैछन्
मनस्थितिको कैदबाट निस्केको
पसिनाको तप्कनोलाई
विचारको एक छेउले चट्ट पुछेर
भरोसाको आँखाहरूसित
लुकामारी खेल्दै ।
आफ्नो नृत्य र कलाको
उत्कृष्ट प्रदर्शन गर्न
दूरदर्शिताको चाहानामा
थुप्रै थुप्रै मनहरुले
तिमीलाई धेरै धेरै सम्झेका छन्
भनन ! तिमी कहाँ छौ ?

खै कता गयौ, कहाँ बिलायौ !
तिमी त मिर्मिरेको शीत होइन
टिस्टा रङ्गीत नदी जस्तै
युग युगसम्म लगातार
बगिरहनु पर्थ्यो।
दुर्बलहरूको छाती बनेर
निर्धोहरूको साथी बनेर ।
एक्लो बाघ एकाग्र भएर
घनघोर जङ्गलमा आफ्नो
इलाकाको निरीक्षणको
निम्ति निस्किएको बेला
शिकारीहरूको घेराभित्र
फँसेर छटपटाएको जस्तो
आज तीब्र विवेक पनि
विचार बिमर्शको
पिँजडाभित्र थुनिएर
छट्पटाइरहेको बेला
साहस र स्फूर्तिको एउटा
दह्रो अँगालोको खाँचो थियो !
टाढैबाट हेर्दै होलान्
तिम्रा तेज चक्षुहरूले
रूँदै होला तिम्रो पनि मन
तिमीले रोपेको फूलहरु
मुर्झाएर झर्दै गरेको देख्दा ।
बिचलित होलान् तिम्रा इच्छाहरु
तिम्रो त्यो सुन्दर फूलबारीमा
बनमरा र सिस्नुले एकाएक
जरा गाड़्दै गरेको देख्दा ।
जालिम सिस्नुको घारिभित्र
कसरी फुल्दा होलान्
ती कलिला पालुवाहरु ।
अलिकति तिम्रो प्रताप छरिदेऊ
हौसलाको न्यानो घाम झारिदेऊ
यी मुनाहरुमा जीवन भरिदेऊ ।
रातहरुसँग यो मन आत्तिन्छ
भानु ! तिमी किन अस्तायौ ?
दिन अझै जवान थियो
रात आउन बाँकी नै थियो
तर तिमी त मध्य दिनमा नै
अस्तायौ ।
सिन्दूर पुछिएको सिउँदोले
घुम्टोभित्रबाट चिहाउँदै छ
क्षितिजसम्म टुल–टुल
आँखा पुर्याएर,
श्रद्धालु मनले तिमीलाई
खोजिरहेको छ ।
दुई थोपा आँसु
अञ्जुलीमा लिएर
तिमीलाई पर्खिरहेको छ ।
भनन ! तिमी कहाँ छौ ?
कहाँ बिलायौ,
कता हरायौ ?
भानु तिमी
कुन क्षितिजपारि
अस्तायौ ??

***


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *