समय-क्यानभासमा सम्झना बनेका अनुहार

जीवनका खुशीहरू
समेट्नु थियो
आफन्तहरूलाई भेट्नु थियो
उमङ्गले सुवास छरेको थियो
मनले खुशीको उडान भरेको थियो
सपनाको आकाशमा
जिन्दगीले भर्दै थियो
वास्तविकताको उच्च उडान
केही खुशीहरू साथमा थिए
आफन्तहरूसँग बाँड्नलाई
अझै खुशीहरू बटुल्नलाई।
यात्रामा सँगसँगै थिए
कर्तव्यपरायण आभास
पुनर्मिलनको खुशी
नैतिक जिम्मेवारी
उज्जवल भविष्यको सपना
सुखद यात्राको खुशी
नयाँ घर संसारको कल्पना।
तर विधिको विधान भनौं
या त भाग्यको खेल
न सपना साकार भयो
न त जिन्दगी नै रह्यो।
अचानक भाग्य फुट्यो
हातबाट जिन्दगी छुट्यो।
जवान, वृद्ध, अबोध बालक
छुट्याएन कसैलाई नियतिले
जलेर खरानी भयो जिन्दगी
साससमेत सपनाहरू
हावासँग मिसिए।
समय अघि बढिरह्यो
तर जिन्दगीको यात्रा
बीच बाटोमै रोकियो।
समयको क्यानभासमा
कोरिएका अनेक अनुहारहरू
अब उप्रान्त सम्झनालाई भयो।
अनिश्चित जीवनको
असीमित सपनाहरू
भुइँभरि छरपस्टिए।
खुल्ला आँखाहरूमा थिए
अनेक सपनाहरू
अनायासै थुनियो
जिन्दगीको बाटो
रोकियो धड्कन
निदाए आँखाहरू
मौन भए सपनाहरू
थामियो यात्रा
रोकियो उडान
सकियो जिन्दगी!

-गान्तोक सिक्किम

दुखाइ


प्रतिक्रिया

One thought on “समय-क्यानभासमा सम्झना बनेका अनुहार

  1. “न सपना साकार भयो
    न त जिन्दगी नै रह्यो।
    अचानक भाग्य फुट्यो
    हातबाट जिन्दगी छुट्यो।” – आहा सुन्दर र मार्मिक कविता ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *