दुखाइ

पिरोल्छ यसले किन यति बेस्सरी
पिरो धुवाँले भन्दा पनि साह्रो गरी
राखेकै छु त सम्हालेर आजसम्म
आफैँलाई भन्दा पनि प्यारो गरी।

फैलाइ जरा कहाँदेखि कहाँसम्म
घर बनाएर बसेको छ नजाने गरी
सहेकै छु त मन थामेर आजसम्म
बरू आँखाहरू हुन्छन् आँसुसरी।

थाहा नपाइकन सुस्तरी सुस्तरी
यो जिन्दगी खोसेर लाने हो कि
देख्छु सपना नराम्रो आजभोलि
डर लाग्छ कहिले त सोच्दाखेरी।

मेरो भाग्यको तारा भुइँमा झर्यो
कष्टजति सबै मेरै थालमा पर्यो
बिर्सिएछु खुशी माग्न त्यतिखेर
यसैले यी पीडाहरू सहनु पर्यो।

शान्तिको रात न भाग्यको साथ
निराशाको बादलले छोपेको छ
कुन खुशी दिउँ यी ओठहरुलाई
हृदयभरि पीडाहरू नै रोपेको छ।

अरूको आकाशमा जून उदाउँछ
मेरो आकाश मात्र अँध्यारो किन?
माफ गरिदिनु मलाई ए जिन्दगी!
सकिनँ खुशीको फूल टिपेर दिन।

-गान्तोक, सिक्किम


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *