प्रतिपक्षी गुहार्दै शिक्षक महासंघ : सरकार सहमति कार्यान्वयनमा उदासीन
काठमाडौं । नेपाल शिक्षक महासङ्घका पदाधिकारीहरूले सरकारले सहमति कार्यान्वयनमा उदासीनता देखाएको गुनासो गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटमा उनीहरुले यस्तो गुनासो गरेका हुन् ।
खुमलटारस्थित प्रचण्डको निवासमा सोमबार भेटवार्ता भएको हो । महासङ्घका प्रतिनिधिले सरकारले सहमति कार्यान्वयनमा उदासीनता देखाएको गुनासो गर्दै ती सहमति तुरुन्त कार्यान्वयन गराउन विपक्षी दलको बलियो साथको अपेक्षा राखेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
महासङ्घका पदाधिकारीहरूले शिक्षा क्षेत्रलाई राजनीतिक अस्थिरता र अनिश्चितताको चपेटाबाट मुक्त गराउन तथा शिक्षकहरूसँग भएका सहमति तुरुन्त कार्यान्वयन गर्न आग्रह गरे ।
शिक्षकहरूको गुनासो सुनेपछि प्रचण्डले शिक्षक पेसा एक सम्मानित र राष्ट्रको भविष्यसँग जोडिएको पेसा भएको उल्लेख गर्दै सरकार शिक्षकहरूप्रति जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
‘शिक्षकहरूलाई सम्मान गर्नुपर्छ, किनकि यो एक सम्मानित पेसा हो, जुन देशको भविष्यसँग समेत गाँसिएको छ’ उनले भने । सरकार र शिक्षक महासङ्घबीच भएका सहमति कार्यान्वयन नहुने अवस्था सिर्जना भएको छ । हामीले सदनको अवरोध हटाउने निर्णय पनि सरकारलाई ‘शिक्षकका मागहरू पूरा भएनन्’ भन्ने बहाना नबनाउन सकोस् भनेर गरेका हौँ ।’
शिक्षकका जायज मागहरू कुनै सर्तबिना तुरुन्त पूरा गर्नुपर्ने पनि उनले बताए । उनले प्रारम्भिक बाल विकास कक्षालाई विद्यालय संरचनाभित्र समेट्नुपर्ने उनको भनाइ थियो।
