युद्धग्रस्त इजरायलमा विराटनगरका मेयर, फिर्ती अनिश्चित
फाइल तस्बिर
विराटनगर। कार्यक्रममा सहभागी हुन पुगेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला इजरायलबाट नेपाल फर्कन पाएका छैनन्। इजरायल र इरानबीच युद्ध चर्किएपछि उनको नेपाल फिर्ती अनिश्चित बनेको हो।
युद्धका कारण त्यहाँका विमानस्थलहरु बन्द गरिएका छन्। त्यही कारण कोइरालासहित अरु देशका प्रतिनिधि फर्कन पाएका छैनन्।
इजरायलको सहकारी अभ्यासबारे अध्ययन गर्न त्यहाँ आयोजित कार्यक्रमका लागि विश्वका अरु देशका जनप्रतिनिधिसँगै उनी साताअघि त्यहाँ पुगेका थिए। नेपालबाट कोइरालाले सहभागिता जनाएका हुन्। कार्यक्रम समापन भइसकेको छ तर उनी फर्कन पाएका छैनन्।
कार्यक्रम समापन भएर फर्कने तयारी गर्दै गर्दा दुई देशबीच युद्ध चर्किएको हो। मेयर कोइरालाले आफू सेफाइम भन्ने स्थानमा सुरक्षित रहेको जानकारी दिएका छन्। यो सहर इजरायलको राजधानीबाट ३० किलोमिटर दूरीमा छ।
मेयर कोइरालाका प्रेस सल्लाहकार मीनकुमार नवोदितले पनि आफूसँग सम्पर्क भइरहेको जानकारी दिएका छन्। ‘उहाँसँग कुरा भइरहेको छ’ उनले भने, ‘सुरक्षित हुनुहुन्छ।’
अलि जोखिमपूर्ण अवस्था हुँदा साइरन बज्ने अनि त्यसको डेढ मिनटभित्र नजिकैको बंगरमा जानुपर्ने नियम रहेको मेयर कोइरालाले बताएका छन्। जोखिम कम भएर साइरन बज्न छाडेको १० मिनटभित्र फेरि आफू बसेको स्थानमा फर्कने गरेको उनको भनाइ छ।
महानगरकी उपमेयर शिल्पा निराला कार्कीका अनुसार मेयर कोइरालासँग नियमितजस्तो सम्पर्क भइरहेको छ। ‘उहाँ सुरक्षित स्थानमा हुनुहुन्छ’ उनले भनिन्, ‘विमानस्थल खुल्ने बित्तिकै फर्कनुहुन्छ।’
विमानस्थल खुल्यो भने निर्धारित मितिभन्दा अघि नै फर्कने तयारी भइरहेको कार्कीले जानकारी दिइन् । मेयर कोइरालाको फर्कने निर्धारित मिति असार ७ गतेको रहेको महानगरकी सूचना अधिकारी अनिता न्यौपानेले बताइन्।
यसैबीच, इजरायलका लागि नेपालका राजदूत पण्डितले मेयर कोइराला कोइराला किबुट होटलमा बसिरहेको र उनी सुरक्षित रहेको जानकारी दिएका छन्।
