‘आँप खान नहतारिनुस्, प्राकृतिक रूपले पाक्ने बेला भएको छैन’

काठमाडौं। यतिबेला बजारमा ‘पाकेको आँप’ छ्यापछ्याप्ती पाइन्छ। प्राकृतिक रुपले आँप पाक्ने बेला भएको छैन तर पाइन्छ। सामान्यतया नेपालमा उत्पादन हुने आँप असार पहिलो सातादेखि खानयोग्य हुन्छ।

बजारमा भने अहिले नै पाकेका आँप पाइन्छ। मानव स्वास्थ्यका लागि हानिकारक केमिकल ‘कार्बाइड’ प्रयोग गरेर पकाइएका आँप अधिकांश बजारमा पाइएको छ।

भारतबाट यस्तो आँप भित्रिरहेको छ। बुधबार सुनसरीको इटहरीमा त्यसरी भारतबाट भित्रिएको आँप भेटिएको थियो। इटहरी उपमहानगरपालिकाको टोलीले अनुगमन गर्दा बजारको आँप विषादी हालेर पकाइएको पाइएको थियो।

अनुगमन टोलीले एक ट्रक त्यस्तो आँप जफत गरेर खाल्डोमा पुर्दै नष्ट गरेको छ। कार्बाइड नामको केमिकल प्रयोग गरेर समयअघि नै आँपलाई पाकेको जस्तो बनाइन्छ।

यसैगरी केही दिनअघि धनगढी उपमहानगरपालिकामा पनि त्यस्तै आँप भेटिएको थियो। उपमहानगरको टोलीले विषादी प्रयोग गरिएको २ हजार २७६ किलो आँप नष्ट गरेको थियो।

त्यस्तो केमिकल प्रयोग गरेपछि आँप स्वास्थ्यका लागि हानिकारक हुने विज्ञहरु बताउँछन्। बजारमा आएका आँप हतारिएर किन्ने र प्रयोग गर्ने काम गर्नु नहुने उनीहरुको सुझाव छ।

त्यस्तो आँपको न राम्रो स्वाद हुन्छ न त पोषिलो नै। सिजनमा स्वतः आँप जस्ता फलफूल प्राकृतिक रूपमा पाक्छन्। यसमा ध्यान दिन सुझाइएको छ।

भारतबाट आयातीत मात्र होइन नेपालमै उत्पादित आँप पनि समय अघि नै बजारमा पुर्याउने उद्देश्यले विषादी हालेको हुन सक्ने भन्दै विज्ञहरुले यसमा ध्यान दिन आग्रह गरेका छन्। तराईका कतिपय जिल्लामा उत्पादन हुने आँपमा पनि विषादी हालेर चाँडै पकाउने अनि बिक्री गर्ने केही घटना भएको उल्लेख गर्दै उनीहरुले सिजनमा प्राकृतिक रुपले पाकेका फलफूल मात्र सेवन गर्न भनेका हुन्।

अर्ग्यानिक खेती रं हरित अभियानका अगुवा एवं वैज्ञानिक दूर्जेय चेतना विषादीयुक्त फलफूल होस् कि तरकारी, मानव स्वास्थ्यमा गम्भीर असर पार्ने बताउँछन्।

कौसी र करेसामा तरकारी, फलफूल उब्जाएर प्रयोग गर्ने अभियानलाई व्यापक बनाइरहेका उनी सम्भव भएसम्म घरमा प्रयोग गरिने यस्ता चिजबिज आफैंले उत्पादन गर्नुपर्नेमा जोड दिन्छन्।

‘धेरै जग्गा चाहिने भन्ने हुँदैन’ उनी भन्छन्, ‘घरको कौसीमा, गमलाहरुमा, थोरै भए पनि करेसाबारीमा सिजनअनुसारको सागसब्जी, मसलाजन्य वस्तु एवं फलफूल उब्जाउन सकिन्छ।’

‘हाम्रो कौसी र करेसाबारी क्रान्ति’ नामको फेसबुक पेजमा जोडिएका सदस्यहरु अधिकांशले आफैं सागसब्जी र फलफूल उत्पादन गरेर प्रयोग गर्ने गरेका छन्। उक्त पेजमा सदस्य रहेका करिब १ लाख ४४ हजार जनाले आफ्नो अनुभव आदानप्रदान गर्ने गरेका छन्।

राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार नेपालमा अगौटे जातको आँप पाक्ने स्वाभाविक समय अझै भइसकेको छैन। असार लागेपछि मात्र यो आँप बजारमा आइपुग्छ।

कार्बाइड प्रयोग गरी पकाइएको आँप लगायत फलफूल खाँदा पेट दुख्ने, बान्ता हुने, पखाला लाग्नेजस्ता सामान्य समस्यादेखि फोक्सो, मुटु, मिर्गौलाको स्वास्थ्यमा समेत घातक असर पर्न सक्छ।

हरियो धनियाँमा भेटियो ९९ प्रतिशतभन्दा बढी विषादी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *