मन्त्रिपरिषद बैठक सुरू, शिक्षकका माग सम्बोधन होला?
काठमाडौं। मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरअघि बैठक सुरु भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बेलुका ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका थिए।
२० दिनदेखि काठमाडौं केन्द्रित सडक प्रदर्शन गरिरहेका शिक्षक–कर्मचारीको माग सम्बोधन हुन नसकेपछि शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। त्यसको केही बेरपछि मन्त्रिपरिषद् बैठक सुरु भएको हो।
उक्त बैठकबाट शिक्षकहरुको मागका सम्बन्धमा मन्त्रिपषिद्ले निर्णय गर्ने अपेक्षा गरिएको छ। सरकारले शिक्षकहरुको माग पूरा गर्न प्रतिबद्ध रहेको आश्वासन दिँदै जारी आन्दोलन स्थगित गर्न आग्रह गरे पनि शिक्षकहरुले मानेका छैनन्। आज बीसौँ दिन पनि उनीहरुले आन्दोलनलाई निरन्तरता दिएका छन्।
आन्दोलनको अगुवाइ गरिरहेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले माग पूरा नहुन्जेलसम्म आन्दोलन नरोकिने बताउँदै आएका छन्। सरकारले भने संसद बैठक वैशाख १२ गतेका लागि आह्वान भइसकेको सोही अधिवेशनबाट शिक्षा विधेयक पारित गर्ने आश्वासन दिँदै आएको छ।
विगतको सम्झौता कार्यान्वयन नगरेको सरकारको यस्तो आवश्वासनमा महासंघले विश्वास गरेको छैन। महासंघको प्रतिनिधिमण्डलले दुई दिनअघि प्रधानमन्त्री ओली र सभामुख देवराज घिमिरेलाई भेटेको थियो। उक्त भेटपछि आन्दोलन स्थगित हुने वा स्वरुप परिवर्तन हुन सक्ने अपेक्षा गरिए पछि भोलिपल्टदेखि शिक्षकहरुले आन्दोलनलाई फेरि निरन्तरता दिंदै आएका छन्।
