शिक्षामन्त्री विद्या भट्टराईद्वारा राजीनामा
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा बुझाएकी हुन्। मन्त्री भट्टराईले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको उनको निजी सचिवालयले जानकारी दिएको छ ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले चैत २० देखि काठमाडौंकेन्द्रित प्रदर्शन जारी राखेका छन्। शिक्षामन्त्री, सभामुख, प्रधानमन्त्रीसँग समेत छलफल गरे पनि निष्कर्ष ननिस्किएको अवस्थामा शिक्षामन्त्रीको राजीनामा आएको हो।
विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने शिक्षकहरुको अडान छ। आन्दोलनमा सहभागी एक शिक्षकले कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि शुरु हुने र यसमा पनि शिक्षकहरु समावेश नहुने जानकारी दिएका छन्।
यसैबीच, आजै साँझ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। मन्त्रिपरिषद बैठकबाट उनको राजीनामा स्वीकृत हुन सक्ने जनाइएको छ।
नेपाल शिक्षक महासंघसँग बारम्बार संवाद भइरहे पनि कुनै निष्कर्ष निस्कन सकेको छैन। औपचारिक वार्ता भने हुन सकेको छैन। पहिलेको सम्झौता नै पूरा नगरेका अवस्थामा आफ्ना माग पूरा नहुन्जेल वार्तामा नबस्ने अडान शिक्षकहरुले राख्दै आएका छन्।
