प्रधानमन्त्री र सभामुखसँग भेटेपछि पनि शिक्षक-कर्मचारी आश्वस्त हुन सकेनन्
काठमाडौं। माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौंमा भेला भएका देशभरका शिक्षक–कर्मचारीले आज शनिबार पनि प्रदर्शनलाई निरन्तरता दिने भएका छन्।
आन्दोलनको अगुवाइ गरिरहेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आज मध्याह्न माइतघरमा भेला भइ प्रदर्शनलाई निरन्तरता दिने बताएका हुन्।
सुवेदीसहितको टोलीले हिजो शुक्रबार राति प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग भेट गरेको थियो।
भेटमा आफूहरुले दृढता र शिष्टतापूर्वक आफ्ना कुरा प्रस्तुत गरेको अध्यक्ष सुवेदीले बताए। समग्र परिस्थितिको मूल्यांकन गर्दा आन्दोलनको मोर्चामा डटिरहनु पर्ने अवस्था आएकाले प्रदर्शनलाई निरन्तरता दिने निधो भएको उनको भनाइ छ।
‘हामी एक दुई सानातिना मागहरुको लेनदेन गरी फर्किन आन्दोलनमा आएका होइनौं’ सुवेदीले भने, ‘विगतका सहमति सम्बोधन हुने अग्रगामी ऐन नै हाम्रो लक्ष्य हो।’
शिक्षा ऐन जारी गर्नुपर्ने, विगतमा सरकारले गरेका सम्झौता कार्यान्वयन गर्नुपर्ने लगायत माग राखेर शिक्षक–कर्मचारी लामो समयदेखि आन्दोलनरत् छन्। चैत २० गतेदेखि उनीहरुले आन्दोलनलाई काठमाडौं केन्द्रित गरेका छन्।
त्यस दिनयता निरन्तर प्रदर्शन भइरहेको छ। प्रदर्शनमा देशभरबाट आएका हजारौं शिक्षक–कर्मचारी सहभागी भइरहेका छन्।
