इतिहासको दुर्लभ कथा बोकेर आउँदै ‘उर्फ दारासिङ’
विराटनगर। इतिहासको एउटा अदम्य पात्रको कथा रंगमञ्चमा प्रस्तुत हुने भएको छ। नेपाली रंगमञ्चमा सक्रिय इलामको चुलाचुली रंगमञ्च आफ्नो नयाँ प्रस्तुति ‘उर्फ दारासिङ’ शीर्षकको नाटकमार्फत् त्यो कथा दर्शकमाझ लिएर आउने भएको हो।
सुमन लिङ्देनको लेखन रहेको नाटकलाई चेतन आङथुपोले निर्देशन गरेका छन्। सुमन राई निर्माता रहेको नाटकको सहनिर्देशकमा रुपेश लामा छन्।
‘उर्फ दारासिंह’ काठमाडौंको मण्डला थिएटरमा वैशाख १६ देखि जेठ ११ सम्म प्रदर्शन गरिने भएको छ। सोमबारबाहेक प्रदर्शन हुने उक्त नाटक अन्य दिन अपरा्हन ५ः३० बजे मञ्चन हुने निर्देशक आङथुपोले जानकारी दिए।
यसैगरी, दर्शकको फुर्सदको समयलाई ध्यान दिंदै शनिबार दिउँसो १ः१५ बजे नाटक अतिरिक्त प्रदर्शन हुनेछ। एक थिएटर नेपालको सहकार्यमा चुलाचुलीले नाटक प्रस्तुत गर्न लागेको हो।
‘झोडा कालखण्ड’ मा महत्वपूर्ण योगदान गरेका कर्णबहादुर केरुङको जीवनमा आधारित नाटकको तयारी अन्तिम चरणमा पुगेको चुलाचुली रंगमञ्चले जनाएको छ।
२००४ सालमा जन्मिएका केरुङको २०३७ पुस मसान्तमा निधन भएको थियो। झोडा कालखण्डमा उनले गरेको योगदानको विषयलाई नाटकमा समेटेर त्यसैको कथा रंगमञ्चमार्फत् भन्न थालिएको हो।
यस्तो छ, नाटकको कथावस्तुसँग सम्बन्धित पृष्टभूमि
सुगौली सन्धिपछि बेलायती साम्राज्यवादको प्रभावमा देश थियो। सन् १९१७ पछिको बोल्सेभिक क्रान्ति र अक्टोबर क्रान्तिको प्रभाव सोभियत संघ, चीन हुँदै नेपालसम्म पर्यो।
विश्वयुद्ध लडेर आएका युद्धमा निपूर्ण पूर्वसैनिकहरु थिए। छिमेकी मुलुकमा स्वतन्त्र संग्राम चलिरहेकै थियो। विश्वमा भएका यस्ता अनेक क्रान्तिको प्रभाव यहाँसम्म पर्ने नै भयो।
तिनै क्रान्तिको प्रभावले नेपालमा सात सालको क्रान्ति सम्भव भयो। त्यसको वैचारिकीकरण र द्वन्द्वात्मकतामा ‘मुक्ति सेना’ को रुपमा क्रान्तिमा होमिएका भूतपूर्व सैनिकहरुले महत्वपूर्ण योगदान दिए।
सात सालमा बिजारोपण भएको प्रजातन्त्रलाई सत्र सालमा तत्कालीन राजा महेन्द्रले ‘कू’ गरे। त्यस घटनाले योद्धाहरु विद्रोह हुर्कायो। जुन स्वाभाविक थियो।
यता, जमिनमाथिको सामुदायिक भोगचलनको अधिकार ‘किपट’ लाई २०२१ सालको भूमिसुधार ऐनले खारेज गरेपछि तिनमा आउने विद्रोहलाई थुम्थुम्याउन तत्कालीन पञ्चायती शासनले ल्याएको भूमि व्यवस्थापनको योजना थियो ‘झोडा’। झोडा, जमिन सट्टाभर्ना आदिको राजनैतिक कोपभाजनमा जन्मिएका एक पात्र हुन् ‘दारासिङ’।
पञ्चायतकालीन समयमा समाजमा स्थापित एक युवा, जो ‘फौदारी’मा निपूर्ण छ, उनका अघिपछि जमात छ। ऊर्जाशील युवा छन्। उनको आफ्नै सिद्धान्त छ, विचार छ। सांस्कृतिक सौन्दर्यशास्त्र र सामाजिक अन्तरघुलनको आफ्नै विचारधारा छ। न्याय निसाफको आफ्नै मौलिक पारा छ। विशिष्ट स्वभाव छ।
पाँचथरको फालेलुङ पिलिङदेन-४ जन्मिएका केरूङ २०२२ सालतिर इलामको चुलाचुली, पेल्टिमारीमा परिवारसहित झरेका थिए। पछि उनको बसोबास झापाको मुजुरभिटामा थियो।
आफ्नै किसिमको साँस्कृतिक र सामाजिक वैचारिकता बोकेका उनलाई तत्कालीन पञ्चायत सरकारद्वारा क्रमशः राजनीतिक कोपभाजनमा पार्दै लगिन्छ। ‘फौदारीपन’, राजनीतिक स्वार्थ, स्वविवेकको वैचारिकताको यही मेसोमा अनेक घटनाहरु हुन्छन्। तिनै घटनाक्रमले उनलाई शक्तिमा स्थापित गर्छ। त्यही दुरूह बाटोले उनलाई मृत्युको बाटोसम्म पुर्याउँछ।
को हुन् दारासिङ?

नेपालको सुदूरपूर्व पान्थर (पाँचथर) जिल्ला, मच्छेबुङ (तत्कालीन मेमेङ पञ्चायत पिलिङदेनमा जन्मिएका ‘पल्टने साइँला’ (चित्रप्रसाद राई) को तीन भाई छोरामध्ये कान्छा छोरा हुन् कर्णबहादुर केरुङ उर्फ दारासिङ्। सानो हुँदा गाउँमा उनलाई ‘चिम्से’ भनेर बोलाइन्थ्यो। उनका बुवा पल्टने साईला आफू गोर्खा राइफल्सबाट निवृत्त भएपछि गाउँघरमै बसे। समाजसेवा र सामान्य राजनीतिमा सक्रिय रहे।
तत्कालीन समयमा सिक्किम, भारत र नेपालको चलेको उत्तरी नाका थियो चिवा, मानेभञ्ज्याङ र फालोट। पान्थर उत्तरी भूगोलका मानिसहरु चिवा नाका प्रयोग गर्थे भने यता सिदेन, मेमेङ, पिलिङदेन, फालेलुङका मानिसहरु बाटो सहजताको लागि फालोटको नाका प्रयोग गर्थे।
सीमापारिका बजारहरु पुलबजार, बिजनबारी। दार्जिलिङ, मिरिक आदि सीमावर्ती बासिन्दाका लागि ठूलो बजार थियो। मेची राजमार्ग नबनुन्जेल आवश्यकताका हरेक कुराहरु उतैको बजारमा भर पर्नु पर्थ्यो।
समय क्रममा चिवा, मानेभञ्ज्याङ र फालोटको बाटो व्यापार र बजारको लागि मात्र सीमित रहेन। व्यापारको बाटो हुँदै उक्त नाकाहरु सम्बन्ध जोड्ने माध्यम बन्यो। उत्तरवर्ती क्षेत्रका मानिसहरु त्यही बाटो पहिल्याएर सिक्किमतिर पुगे।
साइँलाको परिवार भूपूहरुको लागि झोडा आवाद खुलेको छ भन्ने थाहा पाएपछि अन्य साथीहरुसँगै मधेस झरेको हो। झापा, मोरङ र सुनसरीका विभिन्न ठाउँमा झोडाको व्यवस्था गरिएको थियो। नयाँ आवाद भनिए पनि पल्टने साइँलाले ‘लाख भूमि’ नै रोजे।
तत्कालीन चुलाचुली पञ्चायतको किपट क्षेत्रको किपटिया आदिपुरे साँवाहरु थिए।
कर्णबहादुर मधेसमा ‘छेउघरे कान्छा’ को रुपमा परिचित भए। आवादको नयाँ संसारमा नयाँ साथीहरू बनेका थिए। भूगोल नयाँ थियो। समाज र परिवेश नयाँ थियो।
उसो त गाउँका केही चिनजानका पनि थिए। करिब ५.६ फिट अग्ला छेउघरे कान्छाको शरीर बलिष्ठ ‘डबल आङ’ को थियो। चौडा छाती भएका कर्णबहादुर प्रायः ढाका टोपी छाड्दैन थिए। दौरा र कोट पहिरिन्थे। दण्ड, न्याय र सुरक्षाको लागि करिब एक हात लामो घंघरु साथैमा राख्थे।
पिठ्यूँ नै हतियार राख्ने ठाउँ थियो। मिल्ने साथीहरुलाई ज्यान दिनसम्म पछि नपर्ने छेउघरे कान्छा कोहीसँग विवाद परिहाले भ्याकुरा खेदाएझैँ तिनीहरूको पछि पर्थे। जोसुकैले गरेको होस् अन्यायविरुद्ध उनको आवाज प्रखर हुन्थ्यो। युवा जोस जाँगर थियो। ‘फौदारीपन’ को केही अंश थियो।
समय बित्दै जाँदा फेरिँदै गए छेउघरे पनि। उनका अघिपछि लाग्ने अन्य युवाहरुको संख्या दिनप्रतिदिन बढ्दै गयो। त्यही समयमा तत्कालीन राज्य संरचनाको स्थानीय प्रतिनिधिहरु उनीप्रति नजिकिए। उनलाई सामान्य जिम्मेवारीहरु स्वयंसेवकको प्रमुख, टोल प्रमुख जस्ता दिइन्थ्यो। त्यस बेला लाग्ने ठूलो मेला ‘माइमेला’ जस्तो आयोजनामा संयोजक बनाइन्थे उनी।

More information please 🙏