११ परिवारको १६ घर जलेर नष्ट

विराटनगर। मोरङको धनपालथान गाउँपालिका–६ कदमाहाको मुस्लिम टोलमा आज मंगलबार भएको आगलागीमा परी ११ परिवारको १६ वटा घर जलेका छन्।

प्रहरीका अनुसार घरभित्रै आगोमा जलेर एकजना नाबालिकाको मृत्यु भएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार मोहमद हनिफ मियाँकी ३ वर्षीया छोरी रेश्मा खातुनको मृत्यु भएको हो।

आगोले १३ परिवारको १६ वटा फुसको घर, भान्सा घर ३ वटा र गाई गोठ २ वटा जलेको प्रहरीले जनाएको छ। दिउँसो १२ः३० बजेतिर सुरु भएको आगलागी दमकल प्रयोग गरी स्थानीयको सहयोगमा करिब डेढ घण्टामा नियन्त्रणमा लिइएको थियो।

आगोले स्थानीय मोहमद हासिम मियाँ, इस्ताक मियाँ, इसाद मियाँ, मोहमद मुस्ताक मियाँ, कुर्सिद मियाँ, अन्सारुल मियाँ, मोहमद हनिफ मियाँ, सलमान मियाँ, मोहमद रजाक मियाँ, मुर्सिद मियाँ, चन्दन पुरी, शिवनारायण पुरी र देवनारायण पुरीको घर तथा गोठहरु जलेर ध्वस्त भएको छ। २ वटा बाख्रा पनि जलेर मरेका छन्। आगलागीमा कति रकम बराबरको क्षति भयो भनेर प्रहरीले यकिन गर्न बाँकी रहेको प्रहरीको भनाइ छ।

प्रारम्भिक जानकारीमा आगलागीमा परी २ बालबालिकाको मृत्यु भएको भनिएको थियो। सम्पर्कविहीन भएका बालक भने पछि भेटिएको प्रहरीले जनाएको छ। विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ।

मोरङको धनपालथानमा आगलागी : मृतक बालिकाको परिचय खुल्यो, ९ घर जले*


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *