मोरङको धनपालथानमा आगलागी : मृतक बालिकाको परिचय खुल्यो, ९ घर जले*

विराटनगर। मोरङको धनपालथान गाउँपालिका ६ र ७ को वीचमा पर्ने वोरिङ टोलको मुस्लिम वस्तीमा मंगलवार दिउँसो आगलागी हुँदा मृत्यु हुने बालिकाको पहिचान खुलेको छ।

घटनास्थलमा रहेका पालिका अध्यक्ष जिवछ गच्छदारका अनुसार जलेर सनिक खातुनकी तीन वर्षीया छोरी रेश्माको मृत्यु भएको हो। घरमा कोही नभएको अवस्थामा आगलागी हुँदा ती बालिकाको जलेर मृत्यु भएको गच्छदारले जानकारी दिए। सँगै रहेका सनिकका छोरा भने भागेर बच्न सफल भएका थिए।

आगलागीवाट ९ वटा घर र ३ वटा गोठ जलेर नष्ट भएको गच्छदारले वताए। आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले नियन्त्रणमा लिएका छन्। आगलागीवाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

मोरङका प्रहरी प्रवत्ता (डीएसपी) वेदप्रकाश जोशीका अनुसार नियन्त्रणका लागि दमकल प्रयोग गरी प्रहरी र स्थानीय बासिन्दा खटिएका थिए।

सुख्खा र हावावहुरीको मौसम सुरु भएसँगै विभिन्न स्थानमा आगलागीका घटना बढेका छन्। विराटनगर, झापा, तेह्रथुम, भोजपुरलगायत स्थानमा केही दिनयता आगलागीका घटना भइरहेका छन्।

सोमवार विराटनगर र भोजपुरका विभिन्न स्थानमा आगलागी हुँदा डेढ दर्जन घर जलेर नष्ट भएका थिए। विराटनगर १ शंकरपुरमा आगलागी हुँदा चार घर तथा भोजपुर नगरपालिका १२ पारमानेमा १० र अरुण गाउँपालिका ४ को सुन्तलावारीमा दुई घर जलेर नष्ट भएका थिए।


*यसअघि दुई बालबालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको थियो। एक जना बालक सम्पर्कविहीन भएको पछि खुलेको हो। उनी परिवारको सम्पर्कमा आइसकेका छन्।

विराटनगरमा ४ घर जले, लाखौंको धनमाल क्षति


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *