‘क्याम्पसमा पढाइभन्दा बढी राजनीति हुनु हुँदैन’

विराटनगर। आगामी चैत ५ गते क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदैछ। यसका लागि मंगलबार देशभरका अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता गरिएको छ।

त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले अधिकांश आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा उम्मेदवारको मनोनयन दर्ता भएको जनाएका छन्।

स्ववियु निर्वाचनको चहलपहल देशभरि नै बढेको छ। विराटनगरमा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा पनि चुनावी चहलपहल सुरू भइसकेको छ। विभिन्न विद्यार्थी संगठनहरू अनि तिनका नेता र उम्मेदवारहरू मत आफ्नो पक्षमा पार्न लागिपरेका छन्।

यस क्रममा उनीहरुले आफ्ना विभिन्न एजेन्डाहरू पनि सार्वजनिक गरिरहेका छन्। क्याम्पसमा सुधार, व्यवस्थित पुस्तकालयदेखि विद्यार्थीलाई यातायात सुविधा उपलब्ध गराउने जस्ता आश्वासन र प्रतिबद्धता उनीहरुले दिइरहेका छन्।

निर्वाचनमा सहभागी संगठनका नेता र उम्मेदवार मात्र होइन मतदाताका रूपमा रहेका विद्यार्थीहरूमा पनि स्ववियु निर्वाचनको उत्साह देखिएको छ। कतिपयले भने खासै उत्साह नरहेको पनि बताएका छन्।

यसै सन्दर्भमा स्ववियु निर्वाचनको चहलपहल र यससँग सम्बन्धित विषयमा केही विद्यार्थीहरूसँग कुराकानी गरिएको छ। प्रस्तुत छ, उनीहरूको भनाइ जस्ताको तस्तै–

स्ववियु चुनावको चहलपहल सुरु भएको छ, कस्तो लागिरहेको छ?

प्रकृति दाहाल, बीबीएस प्रथम बर्ष

स्ववियु निर्वाचनले गर्दा विद्यार्थीहरुको कक्षामा अवरोध भइरहेको छ। विद्यार्थीहरूले पढ्न पाइरहेका छैनन्। उचित समय मिलाएर तथा खाली समयमा गर्दा बेस हुने थियो।

अस्मिता चौधरी, बीबीएस प्रथम वर्ष

कतातिर जाउँ जाउँ भइरहेको छ। हामी भर्ना भएको पनि जम्मा तीन महिना भयो। उम्मेदवार चिन्नै गाह्रो छ। को उम्मेदवार कस्तो छ, कसलाई मतदान गर्नु, अन्योल भएको छ।

चन्द्रावती राजवंशी, बीबीएस तृतीय वर्ष

स्ववियु चुनाव पछिल्लो वर्षको तुलनामा यो वर्ष खासै चहलपहल देखिएको छैन। विद्यार्थीहरु खासै उत्साहित भएको पाइएको छैन। उम्मेदवारहरु पनि यो बर्ष अलि कम उत्साहित जस्तो देखिन्छन्।

***

कस्ता उम्मेदवार निर्वाचित हुनुपर्छ जस्तो लाग्छ?

प्रकृति दाहाल

झूटो वाचा गरेर हामीजस्ता नयाँ मतदाताहरुलाई भ्रमित पारेर चुनावमा होमिनु भएन। एकजना सम्भावित उमेदवारले क्याम्पसमा लिफ्ट लगाइदिने कुरा गर्दा पत्यार लागेन किनभने हाम्रो कलेजमा लिफ्टको आवश्यकता नै छैन्।

अस्मिता चौधरी

यस्तो नेतृत्वको जरुरत छ, जसको छवि राम्रो होस्, विद्यार्थीलाई बुझ्न सकुन्।

चन्द्रावती राजवंशी

बाहिरको नभएर क्याम्पसलाई नजिकवाट नियालेको, क्याम्पसको समस्या बुझेको विद्यार्थी निर्वाचित हुनुपर्छ। किनभने उनीहरुले अध्ययन गर्ने क्रममा क्याम्पसमा विद्यार्थीलाई हुने समस्या बुझेका हुन्छन् जसले गर्दा उनीहरूलाई काम गर्न सजिलो हुन्छ।

***

स्ववियुले विद्यार्थी हक हितका लागि केके काम गर्नुपर्छ?

प्रकृति दाहाल

कक्षा कोठामा पैसा चोरी हुने, तीन महिने आन्तरिक परीक्षा नहुने, कलेजको पुस्तकालयमा किताब पर्याप्त मात्रामा नभएको, सेनिटरी प्याडको व्यवस्था नभएको, छात्रावास भए पनि सञ्चालनमा नरहेको, यातायातको व्यवस्था नभएको, चिकित्सालय भए पनि उचित सञ्चालनमा आएको छैन। यी र यस्ता धेरै समस्या समाधानका लागि काम गर्नुपर्छ।

अस्मिता चौधरी

शौचालयको राम्रो व्यवस्था होस्। पुस्तकालयको समस्या हल होस्। कक्षा कोठाको अवस्था राम्रो होस्। यातायातको सुविधा होस्। यी कुराहरुमा ध्यान दिनुपर्छ।

चन्द्रावती राजवंशी

नियमित रुपमा कक्षा सञ्चालन हुनुपर्छ। शिक्षकको उचित ब्यवस्थापन, राम्रो वातावरण,सरसफाई, शौचालय र खाने पानीको उचित व्यवस्था, विद्यार्थीलाई क्यान्टिनमा सहुलियत मूल्य हुनुपर्छ। पुस्तकालयबाट पुस्तक लिएपछि १५ दिनमा नबुझाउँदा जरिबाना लाग्ने व्यवस्था छ। यो अवधि थप्नुपर्छ।

क्याम्पसमा राजनीति धेरै हुन्छ भनेर आलोचना हुने गरेको छ, कस्तो लाग्छ?

प्रकृति दाहाल

हरेक कुरा एउटा सीमाभित्र हुँदा राम्रो हुने हो। सीमाभन्दा बढी भयो भने यसका नकारात्मक असर बढी हुन्छन्। महेन्द्र मोरङ क्याम्पसमा पढाई भन्दा बढी राजनीति हुन्छ। यो ठिक होइन।

अस्मिता चौधरी

क्याम्पसमा धरै नै राजनीति हुन्छ हुन त, तर पनि यो विद्यार्थी अन्यायमा नपरुन् भनेर भएको हो। तर पढाइमा बाधा पर्ने गरी त्यस्तो हुनु हुँदैन।

चन्द्रावती राजवंशी

त्यो त हुन्छ। पठनपाठनमा बाधा नपर्ने गरी विद्यार्थीको हक, हित र अधिकारका लागि हुनु राम्रै कुरा हो। तर यही कारण विद्यार्थीको भविष्यमा नराम्रो असर गर्ने गतिविधि चाहिँ हुनु हुँदैन।

महेन्द्र मोरङका विद्यार्थीका लागि यातायात व्यवस्था गर्ने प्रतिबद्धता

क्याम्पसमा आगजनी र तोडफोड, नेविसंघका केन्द्रीय सदस्यसहित ४ जना पक्राउ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *