महेन्द्र मोरङका विद्यार्थीका लागि यातायात व्यवस्था गर्ने प्रतिबद्धता

विराटनगर। विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्यामपसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले उमेदवार सार्वजनिक गरेसँगै एजेण्डा अघि सारेको छ।

अध्यक्षमा उम्मेदवारी दिएका बीए पहिलो वर्ष अध्यनरत् अनिश बोगटीले आफू निर्वाचित भएपछि विद्यार्थीहरूका लागि यातायातको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन्।

‘केन्द्रमा र प्रदेशमा गरी दुवैमा नेकपा (एमाले) नेतृत्वको सरकार भएकाले हामीलाई सहज हुन्छ’ उनले भने, ‘त्यसैले हाम्रा एजेण्डा र प्रतिबद्धता पूरा गर्न सक्छौं।’ उनले आफूलाई विश्वास गरी मत दिन आग्रह पनि गरेका छन्।

यसअघिका कतिपय उम्मेदवारहरुले गुण्डागर्दी शैली अपनाएको आरोप लगाउँदै बोगटीले जिम्मेवारीमा आएपछि संयमित भएर विद्यार्थीहरूको हकहितका लागि लड्नुपर्नेमा जोड दिए।

कतिपय विद्यार्थी संगठनका उम्मेदवार र विद्यार्थीहरुले कुटपिट गर्ने, हतियार बोकेर धम्क्याउने गर्ने गरेकोप्रति उनले आपत्ति जनाए। ‘यस्तो गर्नु गलत हो’ बोगटीले भने, ‘क्यामपस लडाइँ झगडा गर्ने ठाउँ होइन।’

क्याम्पसमा पुस्तकालय गतिलो नभएको अवस्थामा यसको व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको पनि उनले बताए। पुस्तकालयमा विद्यार्थीका लागि आवश्यक सबै खाले पुस्तक र सन्दर्भ सामग्रीहरु उपलब्ध हुनुपर्ने बोगटीको भनाइ छ।

विद्यार्थीको हक हितका लागि स्ववियु राम्रो आधार भएको उल्लेख गर्दै उनले तर क्याम्पसमा बढी राजनीति हुनु नहुने उल्लेख गरे। ‘पहिले शिक्षालाई महत्व दिनुपर्छ, विद्यार्थी हक हितको कुरालाई महत्व दिनुपर्छ’ बोगटीले भने।

महेन्द्र मोरङ्ग क्याम्पस धेरै नेता उत्पादन गर्ने क्याम्पस भनेर पनि चिनिन्छ। यहाँ अध्ययन गरेका धेरै व्यक्तिहरु राष्ट्रिय राजनीतिमा र प्रशासनको उच्च ओहोदामा पुगेका छन्।

स्ववियुका लागि अनेरास्ववियुले सचिवमा रिङ्कुकुमारी चौधरी र कोषाध्यक्षमा मन्दिप पोखरेललाई उम्मेदवार बनाएको छ। यसैगरी सदस्यहरुमा प्रवीण घिमिरे, कृपा बुढाथोकी, शैलेन्द्र साह, रोमान्सकुमार खवास, जुनेश नेपाल, उदयप्रसाद गुप्ता (रौनियार), कृताञ्जली श्रेष्ठ र सुमन खड्कालाई उम्मेदवार बनाइएको छ।

स्ववियु निर्वाचनका लागि मंगलबार देशभरका अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता गरिएको छ। त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले अधिकांश आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा विभिन्न विद्यार्थी संगठनले निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको मनोनयन दर्ता गराएको जानकारी दिए।

अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष नारायण घर्तीले आफ्नो संगठनले अधिकांश क्याम्पसमा मनोनयन दर्ता गराएको जानकारी दिए। यस्तै, नेपाल विद्यार्थी संघका प्रवक्ता सुरज सेजुवालले पनि ठूला क्याम्पससहित देशभरि उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गरेको बताए। अखिल (क्रान्तिकारी) का महासचिव रोशन मगरले संगठनले अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता गराएको बताए।

त्रिविले स्ववियु निर्वाचनको प्रचारप्रसारका लागि फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम्मका लागि समय तोकेको छ। निर्वाचन आगामी चैत ५ गते हुँदैछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *