सुनका गहना पसलमै छाडेर २५ किलो चाँदीका गहना चोरी

विराटनगर। मोरङको उर्लाबारीमा रहेको एउटा सुनचाँदी पसल फुटाएर आइतबार राति चोरी भएको छ। प्रहरीका अनुसार २५ किलो तौलका चाँदीका गहना, दुई तोला सुनको गहना र १५ हजार रुपैयाँ चोरी भएको हो।

सुनका अरु गहना भने पसलमै भेटिएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार चाँदीका धेरै गहना चोरिएको तर सुनको एउटा गहनाबाहेक अरु सबै पसलमै छाडिएको पाइएको छ। खोजीखोजी चाँदीका गहना चोरी भएको र सुनका अरु गहना पसलमै भेटिएकाले अनौठो मानिएको छ।

उर्लाबारी नगरपालिका–४ आइतबारेमा कुमार लिम्बूको घर भाडामा लिएर रमेश विकले न्यू पाथीभरा ज्वेलर्स सञ्चालन गर्दै आएका थिए। प्रहरीले घटनाबारे सोमबार बिहान जानकारी पाएको थियो।

पसलको गाह्रो फुटाएर चोरी भएको हो। ज्वेलर्स सञ्चालकले २५ किलो चाँदीका गरगहना, २ तोलाको सुनको तिलहरी र १५ हजार रूपैयाँ नगद चोरी भएको प्रहरीमा जानकारी गराएका छन्।

चोरी गर्न आएको व्यक्ति वा समूहले पसलभित्र रहेको सीसी क्यामेराको दृश्य रेकर्ड गर्ने उपकरण पनि सँगै लिएर गएको पाइएको प्रहरीको भनाइ छ। डीएसपी जोशीले चोरीमा संलग्नको खोजीका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर राकेश यादवको नेतृत्वमा टोली परिचालन गरिएको बताए।

माघ २१ गते बिहानको राति पनि उर्लाबारीमा चोरी भएको थियो। उर्लाबारी नगरपालिका–५ मा योगराज कार्कीले सञ्चालन गरेको मोबाइल वर्र्ड नामक पसलबाट ३ करोड रूपैयाँभन्दा बढीको मोबाइल चोरी भएको प्रहरीले जनाएको छ।

मोबाइल पसल नै रित्तिने गरी चोरीको उक्त घटनामा संलग्न हालसम्म पक्राउ परेका छैनन्। मोबाइल चोरीमा भारतीय नागरिक संलग्न रहेको हुनसक्ने प्रहरीको अनुमान छ। पसलबाट ४ सय ५० वटाभन्दा बढी मोबाइल चोरी भएको प्रहरीको भनाइ छ।

केही समययता विराटनगरसहित मोरङका विभिन्न स्थानमा चोरीका घटना बढिरहेका छन्। विराटनगरमा केही साताअघि विराटनगरको एयरपोर्ट मोड नजिक एउटा शोरुम फोडेर कार नै चोरी भएको थियो। यसबाहेक सर्वसाधारणको घरबाट धनमाल चोरी हुने घटना बढिरहेको छ।

उर्लाबारीमा पसलै रित्याएर ३ करोडका मोबाइल चोरी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *