उर्लाबारीमा पसलै रित्याएर ३ करोडका मोबाइल चोरी

विराटनगर। मोरङको उर्लाबारीस्थित एक पसलबाट ३ करोड रुपैयाँभन्दा बढी मूल्यको मोबाइल फोन चोरी भएको छ। सटरमा लगाइएको ताला फुटाएर भित्र प्रवेश गरी पसलमा रहेका सबै मोबाइल चोरिएको पाइएको छ।

सोमबार बिहान पसल खोल्न जाँदा मोबाइल चोरिएको थाहा भएको थियो। उर्लाबारी नगरपालिका–५ मा योगराज कार्कीले सञ्चालन गरेको ‘मोबाइल वर्ल्ड’ नामक पसलमा चोरी भएको प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले मोबाइल पसलमा सोमबार बिहानका राति चोरी भएको जानकारी दिए। चोरीमा संलग्नको पहिचान गर्ने प्रयास भइरहेको उनले बताए।

चोरीको प्रकृति हेर्दा ठूलै समूह संलग्न रहेको अनुमान गरिएको जोशीले बताए। पसलमा महँगो मूल्यका मोबाइल सेटहरु राखिएकाले ठूलो क्षति भएको हो।

पसल सञ्चालकले ३ करोडभन्दा मूल्यको मोबाइलहरु चोरी भएको जानकारी प्रहरीलाई दिएका छन्। आईफोन, रेडमी, ओप्पोलगायत विभिन्न ब्राण्डका ४ सय ५० भन्दा बढी मोबाइलहरु पसलमा राखिएको उनको भनाइ छ।

डीएसपी जोशीका अनुसार एउटै मोबाइल २ लाख मूल्यसम्मका रहेको पाइएको छ। ३ करोड मूल्य माथिका ४ सय ५० वटाभन्दा बढी मोबाइल पसलमा रहेको र सबै चोरिएको जानकारी पसल सञ्चालकले दिएको उनले बताए।

पसलमा सीसी क्यामेरा जडान गरिएको छ। तर, क्यामेराको फुटेजबाट चोरीमा संलग्नको पहिचान गर्न प्रहरीलाई गाह्रो परिरहेको जनाइको छ।

चोरीमा संलग्नको खोजी एवं पहिचानका लागि इलाका प्रहरी कार्यालय पथरीबाट डीएसपी मोहनविक्रम दाहाल र इलाका प्रहरी कार्यालय उर्लाबारीबाट सइ चूडामणि पौडेलको नेतृत्वमा संयुक्त टोली परिचालन गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *