प्रेम सम्बन्धले लियो चाँदनीको ज्यान : आमाबाबुसहित ६ जनाविरुद्ध मुद्दा
विराटनगर। हत्यापछि खाल्डोभित्र गाडिएको अवस्थामा फेला परेकी १४ वर्षीया चाँदनी यादवको प्रेम सम्बन्धका कारण ज्यान गएको खुलेको छ। यो घटनामा ६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भको छ।
प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय मोरङले अभियोग पत्र तयार पारेर ज्यानसम्बन्धी कसुरमा मंगलबार मुद्दा दर्ता गरेको हो। चाँदनीको हत्या आफ्नै अभिभावक र मावली परिवारका सदस्यले गरेको पत्ता लागेको छ।
विराटनगर महानगरपालिका–५ विशाल चोकको कलेर्वा टोलस्थित मावली घरभित्रै माघ ११ गते दिउँसो चाँदनीको हत्या भएको थियो। घाँटी थिचेर हत्या गरेपछि राति मामाघर नजिकै खाल्डो खनेर शव गाडेको पाइएको लागेको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए।
सडेर दुर्गन्धित भइसकेको शव माघ १८ गते खाल्डोबाट उत्खनन गरिएको थियो। कोशी अस्पतालमा पोस्टमार्टम गराएर प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
जिल्ला सरकारी वकिल कार्यालय मोरङका प्रमुख एवं जिल्ला न्यायाधिवक्ता नवराज पराजुलीले प्रेम सम्बन्धका कारण चाँदनीका हत्या आफ्नै आमा ३५ वर्षीया राजकुमारी राय यादव र मामा रामबाबु मण्डलले गरेको अनुसन्धानबाट देखिएको बताए।
चाँदनीका आमा र मामाविरुद्ध जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान र अरु ४ जनालाई मतियार बनाएर मुद्दा दर्ता गरिएको उनले बताए। चाँदनीका मावली हजुरबुवा ५५ वर्षीय सुरयुग मण्डल, हजुरआमा (सरयुगकी पत्नी) ५४ वर्षीया बतासी मण्डल, माइजू जानकी, र चाँदनीका बुवा ४० वर्षीय लालमन राय यादव घटनाका मतियार रहेको जनाइएको छ।
प्रहरीको अनुसन्धानबाट चाँदनीको हत्या सबैको सहमतिमा भएको पत्ता लागेको छ। हत्यामा प्रत्यक्ष आमा र मामा संलग्न रहेको जनाइएको छ। अरुले ‘शव व्यवस्थापन’ मा सहयोग गरेर घटना लुकाउन भूमिका खेलेको पाइएको छ।
कसुर ठहर भएमा मुख्य अभियुक्तलाई २५ वर्षसम्म र मतियारलाई त्यसको आधा सजाय हुने व्यवस्था छ।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार भारतको छपरा घर भएकी चाँदनीको करिब समान उमेरका भारतीय बालकसँग प्रेम सम्बन्ध थियो। केही समयअघि भागेर बिहेसमेत गरेका थिए। छुटाएर घर फर्काएपछि बाबुआमा पुसको पहिलो साता विराटनगरस्थित मावली घरमा चाँदनीलाई लिएर आए।

विराटनगर आएकै भोलिपल्ट बुवा लालमन भारतस्थित घर फर्किएका थिए। आमा राजकुमारी छोरी चाँदनीलाई लिएर माइतीमै बसिन्। छोरीको हत्यापछि शव व्यवस्थापन गरेकै भोलिपल्ट उनी पनि अन्यत्र गएकी थिइन्।
जिल्ला न्यायाधिवक्ता पराजुलीका अनुसार प्रेम सम्बन्धमा रहेका किशोरबाट चाँदनीलाई अलग गराउने सम्भावना नदेखिएपछि हत्या गरेर शव गाडिदिएको खुलेको छ।
मावली घरमा बस्दा चाँदनीले प्रेमीसँग अरुकै मोबाइल प्रयोग गरेर कुराकानी गर्ने गरेको पनि खुलेको छ। छुटाएर नेपाल ल्याए पनि दुवै जनाबीच सामाजिक सञ्जाल र फोनमार्फत नियमित कुराकानी भइरहेको परिवारले थाहा पाएको थियो।
सम्झाउन खोज्दा चाँदनीले ती किशोरलाई छाड्न नसक्ने अडान लिएकी थिइन्। मावलीबाट समेत भागेपछि बाटोबाट फर्काएर ल्याएको पाइएको छ। त्यसपछि हत्या गरिएको अनुसन्धानबाट पत्ता लागेको पराजुलीले जानकारी दिए। हत्यामा चाँदनीका बाबु लालमनको समेत सहमति देखिएको छ ।
हत्यापछि चाँदनी बेपत्ता भएको हल्ला चल्यो। त्यहीबीच प्रहरीले पनि सूचना पायो। त्यसपछि परिचालन भएको प्रहरी टोलीले खोज्दै जाँदा मामाघरदेखि १ सय २५ फिट दक्षिणमा ४ फिट गहिरो खाल्डोभित्र शव भेटेको हो।
