‘नो केबलकार समूह’ लाई सरकारले फेरि वार्तामा बोलायो

विराटनगर। सरकारले ‘नो केबलकार समूह’ लाई फेरि वार्तामा बोलाएको छ। पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा आन्दोलन गरिरहेको समूहलाई सरकारले वार्तामा बोलाएको हो।

सरकारले यसअघि गठन गरेको सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वको वार्ता समिति र आन्दोलनकारीबीच वार्ता भएको थियो। सहमति नभएपछि मन्त्रीस्तरको समितिसँग मात्रै वार्ता गर्ने अडान राखेर उक्त समूह आन्दोलनरत् छ। सोही समितिले सोमबार फेरि वार्तामा आउन आग्रह गरेको हो।

बिहीबार पाथीभरा क्षेत्र र शनिबार फुङलिङ बजारमा प्रहरी र आन्दोलनरत पक्षबीच झडप भएको थियो। आइतबार प्रतिनिधिसभा र कोशी प्रदेशसभा बैठकमा सांसदहरुले पाथीभरा केलबकार विवाद समाधान गर्न माग गरेका थिए।

वार्ता समितिले विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताको माध्यमबाटै हल गरिने उल्लेख छ। केबलकार निर्माण कार्य हाललाई स्थगित गर्ने पनि उल्लेख गरिएको छ।

पाथीभरा क्षेत्रमा केबलकारको विरोधमा आन्दोलन चर्किएपछि सरकारले गत माघ २० गते वार्ता टोली गठन गरेको थियो। माघ २२ गते भएको वार्तामा ६ बुँदे सहमति भएको थियो। सहमतिपछि माघ १५ गतेदेखि ‘नो केबलकार समूह’ ले घोषणा गरेको यातायात बन्द फिर्ता भएको थियो।

माघ २७ गते सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीचको वार्ता भाँडिएको थियो। त्यसपछि आन्दोलनरत पक्षले मन्त्रीस्तरको वार्ता समितिसँग मात्रै छलफल गर्ने बताउँदै आएका छन्।

आन्देलनरत् पक्षले माघ २८ गते गृहमन्त्री रमेश लेखकसँग भेटेको थियो। लेखकले सहसचिव भट्टराई नेतृत्वको वार्ता टोलीसँग छलफल गर्न भनेका थिए। त्यसपछि असन्तुष्ट भनेको आन्दोलनरत पक्ष पाथीभरा क्षेत्रमा पदयात्रा गर्ने भन्दै निस्किएको थियो।

गत बिहीबार पदयात्राका क्रममा पाथीभराको बलुडाँडा क्षेत्रमा प्रहरी र नो केबलकार पक्षबीच झडप भएको थियो। शनिबार पनि फुङलिङ बजारमा झडप भएको थियो।

तनाव बढेपछि ताप्लेजुङमा अनिश्चितकालीन निषेधाज्ञा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *