पाथीभरामा केबलबारबारे आज फेरि वार्ता हुँदै
फाइल तस्बिर
काठमाडौं। ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) मा निर्माणाधीन केबलकारको विषयमा आज विस्तृत रुपमा वार्ता हुने भएको छ। केबलकार निर्माणको विरोधमा रहेको आन्दोलनरत ‘नो केबलकार समूह’ र नेपाल सरकारी टोलीबीच अर्को चरणको वार्ता हुने भएको हो।
वार्ता बिहान ११ बजे सुरु हुने जनाइएको छ। पाथीभरा केबलकारको माथिल्लो स्टेसनको निर्माण कार्य तत्काल रोक्नेबारे आन्दोलनरत पक्ष र सरकारबीच २२ माघमा सहमति जुटेको थियो।
सहमतिपछि ‘नो केबलकार समूह’ ले आन्दोलनका कार्यक्रम स्थगित गरेको थियो। दुई पक्षबीच भएको ६ बुँदे सहमतिमा आज पुनः विस्तृत छलफल गर्ने भनिएको थियो।
दुवै पक्षबीच आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क तथा प्रभावकारी स्वास्थ्य उपचार सरकारले गर्ने, माघ १२ गतेको घटनामा छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्ने, आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई विना शर्त रिहा गर्ने प्रक्रिया अघि बढाउने, मुक्कुमलुङ संरक्षक पक्षले घोषणा गरेको यातायात बन्द फिर्ता लिने सहमति भएको थियो।
