पाथीभरा क्षेत्रमा आन्दोलनकारी र प्रहरीबीच झडप

ताप्लेजुङ। पाथीभरा क्षेत्रमा केबलबार निर्माणको विरोध गरिरहेका समूह र प्रहरीबीच शनिबार झडप भएको छ। ‘नो केबलकार’ समूह र प्रहरीबीच पाथीभरा क्षेत्रमा झडप हुँदा ४ जना घाइते भएका छन्।

काफ्लेपाटीभन्दा एक किलोमिटर माथि रहेको बलुडाँडामा दुई पक्षबीच झडप भएको हो। झडपमा सशस्त्र प्रहरीका तीन जना घाइते भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । आफ्ना पक्षका एक जनालाई प्रहरीको गोली लागेको आन्दोलनकारीले दाबी गरेका छन्।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आन्दोलनकारीले हतियार लुकाएर राखेको सूचनापछि प्रहरी टोली खोजतलासमा गएको र त्यही बेला आन्दोलनकारीले माथिबाट ढुंगा बर्साएर प्रहरीमाथि आक्रमण गरेको बताए।

उनले आन्दोलनकारीबाट तीनवटा खुकुरी, गुलेली लगायत सामान बरामद गरेको पनि जानकारी दिए। सशस्त्र प्रहरी नायव उपरीक्षक नरेश महर्जनका अनुसार आन्दोलनकारीले प्रहरीमाथि आक्रमण गरेपछि अश्रु ग्यास हानिएको थियो। आन्दोलनरत पक्षका श्री लिङ्खिमले भने प्रहरीले गोली चलाएको दाबी गरेका छन् ।

मुक्कुमलुङ संघर्ष समिति, केवलकार खारेजी संघर्ष समिति लगायतले पाथीभरामा बन्ने केवलकारको विरोध गरिरहेका छन्। पाथीभरा माता केवलकार कम्पनीले निर्माणका लागि जमिन सम्याउने लगायतको काम गरिरहेको छ।

केवलकार निर्माणको जिम्मा पाएको हिमालयन कन्ट्रक्सनका इन्द्र केदेमले १५ महिनाभित्र सक्ने गरी काम सुरु गरेको जनाएपछि निर्माण रोकेर नफर्किए हडताल लगायतका आन्दोलनमा उत्रने चेतावनी आन्दोलनरत समूहले विज्ञप्तिमार्फत दिएको थियो।

पाथीभरामा केबलकार निर्माण सुरु, यायोक्खाद्वारा विरोध


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *