एनपीएल उपाधि हात पार्न जनकपुर र सुदूरपश्चिम आमनेसामने हुँदै
काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेल आज शनिबार हुँदैछ । त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ बजे उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन् ।
सुदूरपश्चिम ७ खेलमा ६ जीतका साथ अङ्कतालिकामा शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो । जनकपुर ७ खेलमा ५ जीतका साथ दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो ।
लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले र पहिलो क्वालिफायरमा ८ विकेटले हराएको थियो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले आफूहरुले लिग चरणदेखि अहिलेसम्म राम्रो प्रदर्शन गरेको र फाइनल खेलमा पनि यो लयलाई निरन्तरता दिने प्रयास गर्ने बताएका छन् । जनकपुरका कप्तान आसिफ शेखले उपाधि जित्ने दाबी गरेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको एनपीएल गत मङ्सिर १५ गते शुरू भएको थियो । यसमा ८ टोली सहभागी थिए । सुदूरपश्चिम र जनकपुरसहित विराटनगर किङ्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स र कर्णाली याक्सले सहभागिता जनाएका हुन् ।
