फाइनल पुगेका दुवै टोलीका कप्तान आत्मविश्वासी
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेल शनिबार हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।
फाइनलमा पुगेका यी दुवै टिमका कप्तानले आफूहरु उपाधि जित्ने तयारीका साथ मैदान उत्रने बताएका छन् । दुवैले खेल आफूले जित्ने दाबी पनि गरेका छन् । जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले फाइनल खेलमा सय प्रतिशतका साथ बराबरीको टक्कर दिने बताए ।
‘हाम्रो सबै खेल राम्रो भएको छ । अब एउटा अन्तिम खेल बाँकी छ । त्यसमा पनि राम्रो प्रस्तुति दिनेछौं’ उनले भने, ‘खेलमा हामी सय प्रतिशत योगदान दिने छौ, बराबरीको टक्कर दिने छौ ।’
सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पनि आफ्नो तर्फबाट पूरा प्रयास गर्ने बताए । उनले भने, ‘फाइनल पनि पहिला जसरी खेलेका थियौं त्यसरी नै खेल्ने छौं । आफ्नो तर्फबाट पूरा प्रयास गर्ने हो ।’
एनपीएलको उपाधि विजेता टोलीले एक करोड १० लाख रुपैयाँ र उपविजेताले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीले क्रमशः २५ लाख र १५ लाख रुपैयाँ जित्नेछन् । उत्कृष्ट खेलाडीलाई करिब ६२ लाख रुपैयाँको ‘आमोडा एन्ड जेईको’ कार प्रदान गरिनेछ ।
