‘संघर्षको पीडाले प्रेमलाई आत्मदाह गर्न बाध्य पार्यो’

काठमाडौं । उद्यम गरिरहेको अवस्थामा अनेक हण्डर-ठक्कर खाएपछि निरास भएका युवा प्रेम आचार्यले आत्मदाह गर्ने प्रयास गरे । आफैँलाई आगो लगाउने जस्तो कष्टकर एवं पीडादायी अवस्था उनले अँगाले । उपचारका क्रममा अन्तत उनले संसार छाडेर गए ।

उद्यम गरी उन्नति गर्ने एउटा ऊर्जाशील युवाको यसरी दुःखद अन्त्य भएको छ । यो घटनापछि धेरैले आक्रोसयुक्त प्रतिक्रियाहरु व्यक्त गरिरहेका छन् । फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालमा व्यक्त गरिएका प्रतिक्रिया समेटेर यो सामग्री तयार पारिएको छ ।

प्रेमले आत्मदाह गर्नुपर्ने अवस्थालाई उद्यमीहरुले नेपालमा सामना गरिरहेको संघर्षको पीडाका रुपमा लिएका छन् ‘आध्यन्त फण्ड म्यानेजमेन्ट’ का संस्थापक मनोज पौडेलले ।

उनले लेखेका छन्, ‘नेपालमा उद्यमीहरूले सामना गरिरहेको संघर्षको पीडाले एउटा युवालाई आत्मदाह गर्नसम्म पुर्याउने दुखद घटना हृदयविदारक छ । युवा उद्यमी बनेर नेपालमा केही सुरु गर्दा काम गराउने तर पैसा नदिने, श्रमको सम्मान नगर्ने, झुलाउने, अनेक बहाना बनाउने जस्ता घटना व्यक्तिगत रुपमा आफूले पनि भोग्नु परेको छ। एकदमै भावविह्वल बनायो । प्रणालीगत असक्षमताहरू मात्र होइन व्यावसायिक संस्कृति नै नयाँ गर्न खोज्ने लाई पेल्ने छ । हामी जिम्मेवार ठाउँमा बसेका जो जो छौं सबैले केही न केही सानै भए पनि परिवर्तन को प्रयास गर्न छोड्नु हुँदैन, सबैका लागि निष्पक्ष र न्यायपूर्ण प्रणालीको लागि निरन्तर काम गरौं।’

क्यानाडामा रहेका आमसञ्चार विज्ञ भानुभक्त आचार्यले प्रेम आचार्यको आत्मदाह प्रकरणमा ‘पत्रकार’ पनि जोडिने भन्दै दिमागबाट राजनीतिको भूत नउत्रिएसम्म पत्रकारिताले भूइँमान्छेको कल्याण गर्न नसक्ने टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्, ‘प्रेम आचार्यको आत्मदाह प्रकरणमा ुपत्रकारु पनि जोडिन्छन्, जसले आचार्यले उठाएका भूइँमान्छेका अनेक कष्टकर अनुभवभन्दा राष्ट्रपति कांग्रेसको बन्छ कि एमालेको भन्ने कुरालाई बढी चासो दिन्छन् । दिमागबाट राजनीतिको भूत नउत्रिएसम्म पत्रकारिताले भूइँमान्छेको कल्याण गर्न सक्दैन । पत्रकारिता गतिलो भएको भए यो स्तरको राजनीतिक, आर्थिक र व्यापारिक अराजकता हुने थिएन । नेताका पछिपछि कुद्ने पत्रकारिताले भुइँमान्छेको आत्मदाहलाई एउटा ‘फिलर न्युज’ (पूरक समाचार) मात्रै ठान्नु कुनै अनौठो कुरा होइन ।’

पत्रकार लक्ष्मण कार्कीले प्रश्न गरेका छन्, ‘आफैँलाई आगो झोस्नुपर्ने अवस्था कसरी आयो ?’

उनले प्रेम आत्मदाह घटनापछि यसरी प्रतिक्रिया व्यक्त गरेका छन्–

मानिसको सबैभन्दा प्यारो बस्तु आफू स्वयम् हो । हो त्यही स्वयम् आफूमा आफैँ आगो झोस्नपर्ने अवस्था र हिम्मत किन र कसरी आइपर्यो होला ? दोष कसको ? दायित्व कसको ? खोज्ने कसले ?

प्रेमलाई नजिकबाट चिन्ने इलामको फिक्कलकी निर्मला कट्टेल अग्रवालले उनले आफ्नो सपना साकार पार्न अथक प्रयासमा लड्दालड्दै सधैँका लागि दुखद विदा लिएर गएकामा दुःख व्यक्त गरेकी छन् ।

उनले लेखेकी छन्–

एउटा त्यस्तो क्रान्तिकारी जो आफ्नो परिवार र समाजको मात्र हैन उदाहरणीय उद्यमी बनेर देशको समेत अर्थभारमा समेत ईँटा थप्ने साहस राख्ने जो सपना मात्र देख्दैन थियो… सपना साकार पार्न अथक प्रयासमा लड्दालड्दै सधैंको लागि दुखद विदा लिएर गयो ।

मसँग भेट हुँदा समसामयिक राजनीतिक विषयमा धेरै कुरा गर्नुहुन्थ्यो प्रेम भाई। गत संविधानसभामा र प्रदेश सभाको निर्वाचनको नोमिनेशनको दिन बिहानै मलाई फोन गर्नु भएको थियो । विवेकशील साझाको सायद जिल्ला संयोजक हुनुहुन्थ्यो वहाँ । संघमा उठ्नुस् प्रेमजी भनेर पार्टीबाट दबाब आइ रा’छ भाउजु मलाई के गरौं सुझाव दिनुस् न भन्ने कुरा गर्नुभयो ।

मलाई वहाँको संघर्ष बारे त जानकारी थियो तर आर्थिक रुपमा यति धेरै समस्यामा हुनुहुन्छ भन्ने थाहा थिएन । मैले आफूलाई लागेको कुरा इमान्दार साथ वहाँलाई भनें… भाई चुनाव जित्ने सम्भावना कुनै पनि हालतमा छैन तर सम्मानजनक हार हुन्छ भने तपाईं आफैं विश्लेषण गर्न सक्ने योग्य व्यक्ति हुनुहुन्छ त्यही अनुसार निर्णय गर्नुस् ।

मेरो कुरा सायद वहाँलाई सही नै लाग्यो होला कि के सोच्नुभयो प्रेम भाईले उम्मेदवारी दर्ता गराउनु भएन । भाइसँग अन्तिम कुराकानी मेरो त्यही थियो। वहाँ सँगको कुराकानी भेटघाट जहिले पनि फाइदाजनक हुन्थ्यो वहाँ सँगको छलफलमा केही न केही सिक्ने अवसर प्राप्त भयो मलाई। प्रेम भाईको बारेमा सुनेपछि मन खल्लो भयो । स्वास्थ्यलाभको कामना गरें तर आज दुखद खबर सुनें मन र मस्तिष्क दुवै शून्य जस्तै भा छ ।

भारी मनले हार्दिक नमनका साथ भावपूर्ण श्रद्धाञ्जली भन्न चाहन्छु ।

अमेरिकामा रहेका राजेश मिश्रको टिप्पणी छ–

‘यता विदेशमा प्रेम आचार्यको परिवारलाई सहयोग स्वरुप पैसा उठाउन थाले । उता, नेपालमा सरकारले जर्किनमा पेट्रोल बेच्न प्रतिबन्ध लगायो । नेपाल सरकारले गर्न सक्ने नै यही हो ।’

विराटनगरका पत्रकार नवराज कट्टेलले नागरिकले सडकमै आत्मदाह प्रयास गर्दा कहाँ थियो, गृहमन्त्रालय र मातहतको सुरक्षा संयन्त्र भन्ने प्रश्न गर्दै लेखेका छन्-

कस्तो देशमा बसेका छौं नेपाली ? न त गृहमन्त्रीलाई चिन्ता न त उनको नेतृत्वमा रहेको गृहमन्त्रालय मातहतको सुरक्षा संयन्त्रलाई चासो ! भन्दै-भन्दै-भन्दै, भनेको भन्यै, भनेको भन्यै, भनेको भन्यै १ अन्तिममा यिनलाई टुँडिखेलमा ल्याएर नाकको डाँढी भाच्चिने गरि हाल्नुपर्नेसम्म पनि भन्न भ्याउने व्यक्ति नै गृहमन्त्री हुनुहुन्छ । कसो गरौं हामी पनि त्यसै भनौं । कि व्यक्तिको मनोदशा राज्यले बुझ्ने संयन्त्र अझै छैन, त्यसको विकासका लागि योजना बनाउनुपर्छ भन्ने सुझाव दिम् । कतिखेर को कता टाट पल्टिन्छ, त्यसको लेखाजोखामा राष्ट्र बैंक समेतको संलन्गतामा स्थानीय तहसम्म पुगेर परामर्श गर्ने संयन्त्र चाहियो । अनि पो नागरिकले म बिफल भए, मेरो केही लागेन भनेपछि ‘भास’मा पसेछ, भन्ने थाहा हुन्छ । हुन त ठूला उद्योगीले औद्योगिक प्रयोजनका लागि लिएको ऋण शेयर र जग्गामा हालेर अहिले नारा लगाएर हैरान पारिराख्या देशमा छौं हामी, राज्यले तत्कालै छानबिन गर्ने कुरा पनि गरिराख्या छैन । अनि अन्त्यमा इलामेली भएर पनि यसो गर्नुचाँहि हुन्नथ्यो । हार्दिक श्रद्धाञ्जली प्रेमप्रसाद आचार्य । परिवारजनमा हार्दिक समवेदना ।’

उनको आत्मपीडा आम पेशाकर्मीको भएको उल्लेख गर्दै सुवास कोइरालाले यस्तो अवस्था अन्त्य गर्न तत्काल केही गर्नुपर्ने सुझाएका छन् ।

कोइरालाले लेखेका छन्, ‘प्रेमजीको मात्र आत्मपीडा होइन यो, आम साना तथा मझौला वर्गका सम्पूर्ण पेशाकर्मीको मनको भाव हो । अझ प्रेम आचार्यहरुलाई कुरेर बस्ने कि तत्काल केही गर्ने ? जवाफ कसले दिने ?’

ट्विटरमा निर्मल प्रसाईं लेख्छन्-

‘संसदमा प्रेम आचार्य प्रति श्रद्धाञ्जली नदिए, प्रेम आचार्यको मुद्दा सम्बोधन नभए, प्रेम आचार्यहरुलाई समाधान नदिए, तुरुन्तै भंग गरिदिए हुन्छ। जनता मारेर भोज खाने थलो नबनोस् संसद भवन ।’

यस्तै, यादव आचार्यले प्रेमको जस्तो नियति अरु कसैले भोग्नु नपरोस् भन्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘तिम्रो जस्तै नियति अरु कोही कसैले भोग्नु नपरोस् । हजारौं, लाखौँ युवाहरुको बाहिर नआएको नियति हो यो । राज्य भएको अनुभूति होस् । आत्माले चिर शान्ति पाओस् ।’


प्रतिक्रिया

One thought on “‘संघर्षको पीडाले प्रेमलाई आत्मदाह गर्न बाध्य पार्यो’

  1. दु:खद घटना ,,,,,कुटिल र कुशासनयुक्त राज्य सत्ता र नाफाखोर बैंकरहरुले अझ कति प्रेम आचार्य जन्माउने हुन थाहा छैनन् ,यी के सुध्रेलान खै??

Leave a Reply to रुद्रमणि सुवेदी Cancel reply

Your email address will not be published. Required fields are marked *