भूकम्पले दिएको संकेत : कहिले बुझ्ने हामीले ?

दुई दिनअघि मध्यरातमा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पले पारेको मानवीय क्षति देखेर साह्रै दुःख लागेको छ । भत्केका ढुङ्गा माटाका घरहरू मिडिया मार्फत् देखिरहँदा मन खत लागेर आएको छ ।

आखिर ती घर भूकम्पसँग लड्न सक्थे । पक्की हुन्थे भने धेरै कम मानवीय क्षति हुन्थ्यो । २०१५ को भूकम्पले दिएको संकेतबाट हामीले बुझ्न नसकेका रहेछौं ।

हुन त पश्चिम नेपालमा लामो समयदेखि भूकम्प नगएकाले त्यहाँ कुनै पनि बेला भूकम्प आउन सक्ने विज्ञहरूले बताउँदै आएका थिए । एकपटक भूकम्म आएर उथलपुथल नगराएसम्म हाम्रो होस नखुल्ने भएकाले त्यसलाई वास्ता गरेनौं । दोष सरकारलाई दिने कि हामी जनताले दोष लिने कि अथवा विभिन्न विज्ञ, संघ संस्थामाथि दोष थोपर्ने ?

दोष थोपरेर समस्याको समाधान त हुँदैन । नेपालभरी, संसारभरै छरिएका मनकारी नेपाली छौं । घटना भइसकेपछिको राहत, चन्दा संकलनमा प्रायः सबै नेपाली एक हुने, सबै सहभागी बनेर आफ्नो स्तरबाट सकेको गर्ने संस्कार त संसारमै नमुना गर्न लायक छ ।

सबाल यही नेर छ । के समस्या नआइन्जेल रमाएर हिजोका कुरा बिर्सने अनि जब फेरि नयाँ समस्या आउँछ अनि तँछाड मछाड गरेर जुट्नाले अहिले राहत भए पनि दीर्घकालीन समाधानको बाटोमा कत्ति पनि हिँडेको पाइँदैन । हुन त होला सङ्क्रमणको राजनीति छ भन्दै सरकार ढाल्ने, बनाउने राजनीतिले लय नलिँदा विभिन्न संघ–सस्थाहरूपनि नेतृत्वबिहीन बनेकै छन् ।

यो स्थितिमा सही अर्थमा आफ्नो पहिचान देखाउने अवसर एनआरएनलाई छ । तत्कालको राहत, सम्बन्धित ठाउँमा परिपक्व बस्ती त बन्लान् तर अझ थप अन्य नेपालैभरी परिपक्व बस्ती पुनःनिर्माण, कमसेकम नागरिकले परिपक्व बस्ने घरको ब्यवस्था गराउनका लागि एनआरएन लाग्ने हो भने सम्भव छ ।

पदका लागि, व्यक्ति स्थापित हुनका लागि, सोखमात्र लिएर एनआरएन मार्फत् आफ्नो समय नष्ट नगरी एक विश्वसनीय संस्था बनाउन सके प्रभावकारी हुन्थ्यो होला । हो, विभिन्न मुलुकहरूबाट सहयोग जुटाउने सामर्थ्य एनआरएनले राख्दछ । म एनआरएनमा कुनै पदमा बसेर काम नगरेको भए पनि विभिन्न भैपरी आउने परिस्थितिहरुमा आफूले गर्न सकेको सहयोग गर्दै आएको छु । यसपालि पनि पक्कै गर्ने छु । मैले उठाउन खोजेको कुरा यति मात्रले पुगेन । दीर्घकालीन सोचौं ।

भूकम्प प्रकोप, जलवायु परिवर्तन यी दुबैको मिलन बिन्दुमा नेपाल पुग्दा नेपालका न पहाडी बस्ती सुरक्षित हुन्छन्, न त तराई । सामान्य परिस्थितिमा नेपाल धेरै सुरक्षित मानिए पनि जलवायु परिवर्तनसँगै भूकम्पले निम्त्याउने बिनासको अनुमान गर्न नसकिने प्रकृतिको छ ।

हामी मानिस प्रकृतिलाई कतिपय कुरामा जितेर बस्न सक्ने सीपको बिकास गरेका छौं । बिनास शून्य बनाउन नसकेपनि धेरै हदसम्म घटाउन सक्छौं । भौतिक क्षति भएपनि मानवीय क्षति धेरै घटाउन सक्छौं । ५–६ रेक्टरको भूकम्प आउँदा त यस्तो छ देशको हालत भने अनुमान लगाऔं ७, ८, ९ रेक्टरभन्दा ठूलो भूकम्प आयो भने हामी कता भाग्ने ?

ढुङ्गो र माटोले ठड्याएका घरले कति सेकेन्ड थेग्न सक्ला र बाँच्नका लागि घरबाट बाहिर निस्कने कति सेकेन्ड मिल्ला हामीलाई ? कमसेकम पक्की घरहरू चर्किएलान्, भत्किए भने पनि २, ३ मिनट त थेग्दिए भने हामी भाग्न पाइन्छ ।

अब बस्ती बसाल्दा भूकम्पप्रतिरोधक, बाढीपहिरो जोखिमयुक्त ठाउँ, व्यवस्थित बस्ती बनाउनका लागि एनआरएन लगायत थुप्रै संघ सस्था एकजुट भएर नेपाल सरकारलाई आफ्नो योजना देखाएर, विश्वास दिलाएर सहकार्य गर्न सक्यो भने पक्कै एक सम्मानित संस्था बन्ने छ । नेपाली बाबा आमा, भाइ बैनी छोरा छोरीले आदि सबैले स्याबास दिनेछन् ।

खै कसरी के भनेर दुःख प्रकट गरूँ अलमलमा परेको छु । मध्यरातमा भूकम्पले जाजरकोट, रुकुममा आदि ठाउँहरूमा भएको क्षतिले सवै नेपालीलाई दुःखी बनाएको छ । बिहानै उठ्दा कहालीलाग्दो समाचारले बरर आँशु निकाल्यो ।

बिनासकारी भूकम्पमा परी आफ्नो ज्यान गुमाउने सम्पूर्ण नेपाली दाजुभाइप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु । पीडित परिवार जनमा समवेदना । घाइते पीडित परिवारसम्म राहत पुगोस् । सम्पूर्णमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

नेपालका लागि प्रार्थना । नेपालीका लागि प्रार्थना ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *